कला

रंगिनुपर्छ सिउँदो

कथा

 कमला अधिकारी  

आमा टारी खेतको रोपाईँमा गएको ताल छोपेर टिनको बाकसमा कपुर बसाउने गरी पट्यार राखिएको साडी निकालें। खिरिलो कम्मरमा बाँध्न खोजें। अहँ अडिए पो। ब्लाउज त झनै मैले स्कुल जाँदा लगाउने पोलिस्टरको निलो सटभन्दा पनि खुकुलो। मभन्दा साडी मोटो थियो। धेरै पटक भित्तामा झुन्ड्याएर राखिएको रानीको तस्वीरलाई हेर्दै नक्कल गर्न थालें। आमाको रातो टीका दुई भृकुटी बिचमा टाँसें। सिन्दुर एक चुट्की निकालेर चम्किलो सिउँदोमा सजाएँ। घरको कालो भित्ताको ध्वाँसोलाई नौनीमा मिसाएर आमाले गाजल बनाउनुहुन्थ्यो। आँखाको कोशिकामा सानो ऐना हेर्दै गाजल लगाएँ। सानीमाले आमा औंसीमा आमालाई ल्याइदिएको लाली ओठमा लतपत हुने गरी लगाएँ। लागेको थियो म कुनै सुन्दरीभन्दा कम थिइन। मेरो यो चञ्चलतालाई आमाले ढोकाबाट नियालिरहनुभएको रहेछ।म लाजले भुुतुक्कै भएँ। के गरूँ ? कता जाऊँ ?’ छटपटी हुनथाल्यो। आमाले निधार खुम्च्याउँदै मेरो टीकामाथिको सिन्दुरलाई हेर्नुभयो।  

“के गरेकी तिमीले ? बिहे नहुँदै कन्या केटीले सिन्दुर लाउनहुन्न। कलि लागेपछि यस्तै हो। हेर त पोइको घर जाने जात जनाइहाल्ने। सिन्दुर लगाउने दिन आएपछि लगाउलिस् नि अहिले त खुरुखुरु पढ्ने बेला हो। मैले जस्तै दुःख पाउलिस् । ऊ बेला पढ् छोरी भन्दा पढ्नभन्दा मेलापात गर्न खुसी लाग्थ्यो। त्यसैको सजाय भोग्दै छु अहिले।”

राति कर्मी काम सकेर बुवा घर आउनुभयो। बुवाले मलाई कहिल्यै चर्को बोली नगर्ने भएर होला यसै पनि निकै डर लाग्थ्यो। आमाले मेरा कुरा कतै बुवालाई सुनाइहाल्ने हो कि भन्ने चिन्ता लागिरहेको थियो। म मझेरीको बिस्तारामा निदाएको स्वाँग पारें।आमाले मेरो निधारमा आएको कपाल सुम्सुम्याउँदै माथि सारिदिनुभयो अनि बुवाको खाटमा जानुभयो। मैले एउटा आँखा चिम्म गर्दै अर्को आँखाले हेर्दै थिएँ।आमाले बुवाको सट उतारिदिनुभयो।

“ल हेर्नु त सट पनि यस्तो धुजाधुजा भएछ।”

“के गर्छेस् त काठ बोकेको थिएँ। कपडा फाटेछ। काँध त फाटेको छैन नि !”

“साप्नी कुरा राखेर बोक्ने गर्नु नि ! कतिञ्जेल सक्नुहुन्छ यसरी काम गर्न ?”

म भुसुक्क निदाएछु। बिहान उठेर आँगनमा आएँ। रिपाली आमै डिलनेर बसेर बुवासँग कुरा गरिरहेकी थिइन्।  

“हेर न माइला छोरो अपुताली नै पर्ने भो। बुहारीले नातिनातिना जन्माउने छाँटकाँट नै देखाउँदिन। कति अलच्छिनी परिछ बुहारी पनि। तिमीले केके जडीबुटी बनाउँछौ रे सुनेको थिएँ । त्यही भएर आएकी।”

बुवाले आफूसँग भएको जडीबुटी पोको पारेर दिनुभयो। बुवाको हातमा ५ रुपैयाँ थमाइदिइन् ती आमैले। म खुरुरु बुवाको नजिक गएर उभिएँ। मेरो आँखामा हेर्दै बुवाले पाँच रुपैयाँ मलाई दिँदै भन्नुभयो, “जाऊ,लाहुरेनीको घर गएर एउटा सलाई किनेर ल्याऊ।”

म लाहुरेनी आमाको घरमा पुग्नै आँटेकी थिएँ। स्टिलको थाल मेरो खुट्टानेरै आएर ट्याङ¥याङ्ग बज्यो। लाहुरे रिटायर्ड थिए। बिहानै रक्सी खाएर श्रीमतीलाई तथानाम गाली गर्दै भाँडा फालिरहेका थिए। म डराएँ। सलाई नलिईकन घर आएँ। बुवालाई सबै कुरा सुनाएँ।

“लु उसो भए पल्लो घरबाट आगो लिएर आइज न त। सलाई लिन एकछिन पछि जाउँला।”

म फाटेको तावा  लिएर पल्लो घरतिर लागें।  

भुङ्ग्रोमाथि झिजाझिजी हालेर आमाले आगो सल्काउनुभयो। चुल्हामाथिको दूध तात्न थाल्यो। म चुल्हामा नजिकै गिलास लिएर बसेकी थिएँ दूध पाक्नेबित्तिकै गिलासमा राखँुला भनेर। दूध उम्ल्यो । आमाले गिल्टेको ठूलो थालमा दूध सेलाइदिनुभयो। म दूध र सातु खाएर स्कुल गएँ। स्कुलको ग्राउन्डको एक छेउमा गाइँगुइँ हल्ला गरिरहेका मान्छेहरूको हुल देखें। सबैको अनुहार निन्याउरो र मलिनो थियो। कारण मसँगै पढ्ने एक जना साथी बितेका रहेछन्। स्कुलमा प्रार्थना गर्ने समयमा शोक मनाउने कार्यक्रम थियो।  

म छिट्टै घर फर्किएँ। घरमा आउँदा फेरि पनि तिनै रिपाली आमा पिँढीमा बसेर कान्छी आमासँग कुरा गरेको भेटें–

छोरालाई अर्की खोजिदिनुप¥यो कान्छी! यसबाट त खै छोराले सन्तान सुख पाउला जस्तो छैन। सौता नैं बेहोर्न लेखेको त होला नि त्यसलाई।

“खै दिदी मैले कहाँ खोजुँ र केटी ? सौतामाथि कसले छोरी देला र!”

“सम्पत्ति देखेपछि दिइहाल्छन् नि अलि गरिब बाउआमा छन् भने त!”

मैले आँटीको झ्यालबाट सबै कुरा सुनिरहेकी थिएँ।

“सुन त कान्छी यो माइलाले दिन्छ कि छोरी? नछुने भइसकी रे ! छाती पनि पुस्टिएका रै’छन्। यसो कुरो जनाऊ त ! सम्पत्ति जति खाइछ। गैरी खेत दश हलको छ। गोरसको त के कुरा छयाल्लब्याल्ल छ। यिनकै छोरीको उद्दार हुने हो क्यार!”

म भर्खर चौध वर्षकी मात्र थिएँ। यस्ता कुरा मेरो कानको भित्तामा बज्र बनेर ठोक्किएपछि जिउ फुलेर सिरिङ्ग भयो। आँखाबाट बरर्र आँसु झरे। मेरो स्वाभाव बदलिएको थियो। कक्षामा पढाइ निकै सुधार हुँदै गइरहेको थियो।लाहुरेनी काकीलाई श्रीमानले कुटेको देखेपछि मलाई बिहे शब्दसँग डर लाग्यो। आफ्नो लागि आफै सारथी बन्नु थियो।  

म पिँढीमा बसेर गणितको गृहकार्य गर्दै थिएँ। बुवाले अगेनामा लैनो भैंसीलाई कुँडो पकाउँदै हुनुहुन्थ्यो। कान्छीआमा बुवाको नजिकै आइन्।  

“जेठाजु, नानीलाई दिने हो र ? हजुरलाई नि दुःखै छ बिहान के खाउँ बेलुका के खाउँ? छोरीलाई धनी परिवारमा पार्न पाए अलि बिसेक हुन्थ्यो कि ?”

“अहिले त अलि सानै छ। कसैले कुरा ल्या’का छन् र कान्छी?”

“रिपाली आमाको छोरालाई नातिनातिना भएनन् रे! दाइजो दिनुपर्दैन, छोरी मात्रै दिए हुन्छ भन्दै थिइन्।”

काकीको कुरा सुनेर बुवा जुरुक्कै उठ्नुभयो अनि भन्नुभयो।

“तिमीलाई लाज लाग्दैन! यति सानी बच्ची त्यो पनि अझ सौतामाथि। स्त्रीमा क्यान्सरसँग लड्ने शक्ति हुन्छ तर पनि सौता सहन गर्ने सामथ्र्य कदापि हँुदैन। जानीजानी भुङ्ग्रामा होम्नु छैन मलाई मेरी छोरी। म घोप्टी परेर सुँक्कसँुक्क गर्न थालें। लेख्दै गरेको कापी आँसुले भिजेको पत्तै पाइन।

त्यसपछि घरमा मेरो विवाहको कुरा कसैले ल्याएन। स्कुल सकाएँ। क्याम्पस पढ्दै गर्दा खरिदारमा नाम निक्ल्यो। एकदिन अफिसमा एकजना महिला आइन्।

उमेरले मभन्दा निकै कान्छी देखिन्थिन् उनी।  

“तपाईँ के कति कामले आउनुभयो? मैले उनलाई सोधें। निधार छोपिन लागेको टाउकाको सलको सप्को मिलाउँदै लजालु भावमा उनले भनिन्, “बाबुको जन्मदर्ताका लागि!”  

म अचम्म परें। “कति छिटो बिहे गर्नुभएछ। सिन्दुर पनि नलगाउनुभएको ! त्यही भएर मलाई हजुरको बिहे भएजस्तो लागेन।”

म खिस्स हाँसे। उनी अँध्यारो मुख लगाइन्।

“बुवाको बाबा पहिरोमा परेर बित्नुभयो। बाबु एक वर्षको भयो। जन्मदर्ता गर्न मिल्छ कि नाइँ ?”

मनमनै सोचें। सिन्दुरलाई नारीको सौभाग्य ठानिन्छ। यो साह्रै राम्रो कुरा हो तर सिन्दुरको आयु लोग्नेको आयुसँगै सिद्धिने कुरा योचाहिँ अलि न्यायसंगत भएन कि? सिन्दुर महिलाको सौभाग्य हो भने यो पखालिन दिनु हुँदैन। उसकोे जन्म–जन्मान्तरसम्म रंगिनुपर्छ सिउँदो।

प्रकाशित: २० भाद्र २०७८ ०१:३१ आइतबार

अक्षर