कला

‘प्रतिघात’मा अभिव्यञ्जित यथार्थ

पुस्तक

नारद पोखरेलद्वारा लिखित प्रतिघात (२०७८) उपन्यास विषयगत रूपमा सामाजिक उपन्यास हो। उपन्यासकारको आफ्नो अनुभव, समाज–अध्ययन, कल्पना शक्तिको संयोजनबाट पाठकमाझ सार्वजनिक यस उपन्यासमा राजनीति प्रमुख विषय बनेर आएको छ। २०३५ सालदेखि वर्तमानसम्मको नेपालको राजनीतिक इतिहासका  महत्त्वपूर्ण मोडको प्रभाव यस उपन्यासमा देख्न सकिन्छ।

यस उपन्यासमा जुनसुकै राजनीतिक व्यवस्था आए पनि, नेतृत्व फेरिए पनि आर्थिक, प्रशासनिक र सामाजिक आदि क्षेत्रमा विकृति, विसङ्गति, विभेद तथा उत्पीडन कायमै रहेकोप्रति पीडा, गुनासो, निराशा अभिव्यक्त छ। नेताका अवसरवादी, सुविधाभोगी, स्वार्थी र तुच्छ चरित्रका कारण कार्यकर्तामा उत्पन्न भएको असन्तुष्टि, वितृष्णा, अभिव्यञ्जित छ। 

आफ्नो स्वार्थ पूरा गर्ने भित्री आसय राखी नेताले कार्यकर्तालाई आन्दोलनमा उतार्ने तर स्वार्थ पूरा भएपछि, चुनाव जितेर सुविधा सहुलियत पाउन थालेपछि नेताहरूका आचरण, क्रियाकलाप र रवाफ चित्तबुझ्दो नहुने कार्यकर्ताको गुनासो यस उपन्यासमा छ। समाजमा रहेका विविध क्षेत्रका असमानता, अन्याय, अत्याचारबाट पीडित र निराश भएका विभिन्न पात्रले लोभलालच, स्वार्थ तथा भौतिक र वैयक्तिक सुख नखोजी सबै जनताको मौलिक हक–अधिकार, अवसर र सम्भावनाको प्राप्तिको चाहना राखेका छन्। 

स्वाभिमान र समानताको पक्ष लिने र न्यायोचित अवसरलाई  महत्त्व दिने उपन्यासका सत् पात्रहरूले राजनीतिक कार्यकर्ताले आफ्नो वैयक्तिक सुखसुविधा र सानका निम्ति जनताको चाहना र विश्वासको फाइदा उठाउनुलाई गलत ठहर्‍याएका छन्। नेतामा रहेका खराब र नकारात्मक प्रवृत्ति र चारित्रिक दुर्गुणप्रति सचेत, संवेदनशील र चिन्तित बनेका छन्। 

स्वाभिमान बेचेर धन कमाउनभन्दा आर्थिक दरिद्रतामै बाँच्नुमा आनन्द हुने ठानेका छन्। असत्, सत् दुवै थरीका पात्रको चारित्रीकरणद्वारा सोझा नेपाली जनताको साझा समस्यालाई यस उपन्यासमा यथार्थ ढङ्गले चित्रण गरिएको छ। दैनिक जीवन निर्वाहको समस्यादेखि प्रेम, विवाह, विछोड, मिलन, असन्तुलित पर्यावरण, प्रकृति दोहन, आपसी मेलमिलाप, सहयोग, सद्भावको संस्कृतितर्फ पनि उपन्यासकारको दृष्टि पुगेको छ। जीवन भोगाइबाट प्राप्त जीवनदायिनी निष्कर्ष पनि मन र मस्तिष्क छुने गरी यस उपन्यासमा प्रस्तुत भएको छ।  

यस उपन्यासमा अनेक जीवन–नदी बगेका छन्। यसमा म पात्रको एउटा कथा छ। विमल र गंगाको अर्को कथा छ। विमल र कल्पनाको अर्को कथा छ। उमेश र शोभाको अर्को कथा छ। शिशिर र विमलको अर्को कथा छ। हितसिंह र कल्पनाको अर्को कथा छ। सपना, धनवीर र कल्पनाको अर्को कथा छ। दिलबहादुर थापा, रणबहादुर थापा, दामोदरजस्ता पात्रको अर्को कथा छ।

 रामप्रसाद, खत्री काका, गन्जमान, अगमसिंह, असिलाल जस्ता पात्रको अर्को कथा छ। अमृत, कल्पना, उमेश, गौरीशङ्कर, शोभा, शिशिर, चित्रा आदि पात्रको बेग्लै आ–आफ्नो कथा छ। अनेक दुःख, भोगाइ, अनुभूति, विचार सहितका आ–आफ्नै कथा बोकेका अरू पनि थुप्रै पात्र छन्, यस उपन्यासमा। यी विभिन्न पात्रका जीवन–नदीका अनेक मोड र घुम्ती छन्।

 यस उपन्यासमा कथाको जस्तै विभिन्न शीर्षक दिइएको छ। ती शीर्षकपिच्छे एउटा कथानक सुरु हुन्छ, बढ्छ र फेरि कुतूहलकै स्थितिमा पुगेर रोकिन्छ। फेरि अर्को शीर्षकमा अर्को कथानक सुरु हुन्छ र अघि बढ्छ। अनेक कथावस्तुको छुट्टाछुट्टै यात्रा छ, तर बीचबीचमा अन्तर्सम्बन्ध पनि छ, कतै चाहिँ अन्तर्सम्बन्ध छैन। 

अतीतको स्मरण र कथन, वर्तमानको वर्णन र व्याख्या भविष्यको अनुमान र कुतूहलता निर्माणको रचना प्रविधि यसमा अँगालिएको छ। कतै घटना धेरै नै फड्को मारेर दुगुरेका छन् भने कुनै घटनाले चाहिँ पात्र परिवेशको चित्रण र दृश्याङ्कनको बाक्लो प्रस्तुति र वर्णनले अगाडि बढ्न निकै समय लगाइरहेका छन्।

उपन्यासमा विभिन्न पात्रका विभिन्न कथा कतै वर्णनात्मक शैलीमा, कतै विवरणात्मक शैलीमा, कतै संवादात्मक शैलीमा, कतै संस्मरणात्मक शैलीमा त कतै सूत्रात्मक शैलीमा उनिएको छ। अनेकौँ जीवनकथाको माला पहिरिएर बहुल पात्रको जीवनको प्रस्तुति दिन सक्नु यस उपन्यासको विशेषता हो।

यो उपन्यास पढिरहँदा कतिपय ठाउँमा शिल्प र परिष्कारको माग गरिरहेको बोध हुन्छ। यो उपन्यास पढ्दा नागरिकलाई रोग, भोक, शोक, गरिबी, अभाव, अशिक्षा, बेथिति, विसङ्गति, अस्तव्यस्तता र अव्यवस्थाजस्ता नकारात्मक वातावरणमा बाँच्न बाध्य गराई आफू मात्र सम्पन्न जीवन बिताउने अवसरवादी चरित्रका रणबहादुर, दिलबहादुरजस्ता नेताको व्यवहारप्रति पाठक जति आक्रोशित हुन्छन्, त्यत्तिकै मात्रामा विमल, उमेश, शोभा, शिशिर, कल्पना लगायत थुप्रै पढे–लेखेका युवा पात्र शोषक सामन्ती चरित्रका ती मानिससँग त्यति सारो प्रतिवाद गरेको नदेख्दा, पार्टीको मानिस भनेर खराब प्रवृत्तिका मानिसलाई पनि चुनाव जिताउन लागिपरेको देख्दा पाठक अलि निराश हुने सम्भावना देखिन्छ।

अन्याय, अत्याचार र शोषणका विरुद्ध जति बोल्नुपर्ने हो, त्यति बोल्ने आँट किन नगरेको होला भन्ने पाठकमा जिज्ञासा सिर्जना हुन सक्ने देखिन्छ। समाजका अवसरवादी, टाठाबाठा, स्वार्थी व्यक्तिप्रति कुनै प्रकारको कारबाहीको व्यवस्था पनि भएको देखिँदैन, बरू अवसरवादी र स्वार्थी स्वभाव भएका मानिसको विचार र व्यवहारप्रति विरोध तथा असहमति जनाउन खोज्ने मानिसलाई नै गलत प्रमाणित गरी सजायको भागिदार बनाइएको छ। 

आफूमाथि दुःख, पीडा, अत्याचार गर्नेलाई मृत्यु भएको देखाएर उसको कुकर्मप्रति ईश्वरले नै सजाय दिए भनेर सन्तोष गरिएको छ। कतिपय अन्धविश्वासी र ईश्वरवादी पात्रको अभिव्यक्तिबाट शोषकलाई मानिसले दण्ड दिनु जरुरी छैन ईश्वरले नै दण्ड दिन्छन् भन्ने खालको आसय पनि झल्किन्छ।

विभिन्न पात्रका माध्यमबाट व्यक्त गरिएका यस्ता धारणाको अभिव्यक्तिबाट समाजका शोषकलाई समय र परिस्थितिले दण्ड दिएको देखाइएको छ।अपराधीले आफ्नो कुकर्मप्रति जीवनको अन्त्यतिर दुःख पाएको, पीडितभन्दा पीडकको पहिला नै मृत्यु भएको देखाइएको छ।अपराध गर्नु ठीक होइन, ईश्वरले वा समयले अपराधीलाई दण्डित गर्छ र पश्चातापसम्म  पुर्‍याइछाड्छ भन्ने विचारद्वारा पात्रको चरित्रको सुधार निम्ति सन्देश दिन खोजिएको छ।

समग्रमा भन्नुपर्दा सामाजिक, राजनीतिक क्षेत्रमा देखिएका विभिन्न विकृति विङ्गति, विभेद, असमानता, पीडा, समस्या, चुनौतीप्रति पाठकलाई सचेत गराउँदै वैयक्तिक स्वार्थका सट्टा सामूहिक भावनाको विकासतर्फ प्रेरित गर्ने शक्ति भएको सुन्दर उपन्यास हो, प्रतिघात। 

प्रकाशित: १९ भाद्र २०७८ ०२:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App