कला

खुसीहरू भत्किएर बनेका ती घाउ

गजल

होमशंकर बास्तोला

             १)

मैले तिम्रो माया मागेँ साथ पनि दियौ,

 सधैंसधैं यौवनको रात पनि दियौ।

खडेरीमा फूल झरी काँडा हाँस्दाखेरि,

उपहार सम्झ्यौ र त पात पनि दियौ।

टुक्रिएको जिन्दगी यो समालेर आज,

हाँसीहाँसी जिन्दगीमा प्रभात पनि दियौ।

एक्लै पारि तर्न खोज्दा जँघारमा रोकी,

सँगै खोला तरौं भनी हात पनि दियौ।

मुटुभित्र तिम्रो छाया सँगालेर माया,

युगैयुग सम्झनाको खात पनि दियौ।

           २)

सडकमा फोहर देखें मैले के बिराएँ,

दुर्गन्धको पीडा लेखें मैले के बिराएँ।

जाडोभरि लुगाबिना लगलगी कामी,  

आगो बाली हात सेकें मैले के बिराएँ।

चिल्लो कार चढी तिमी उता जाँदै थियौ,

सँगै जान बाटो छेकें मैले के बिराएँ ।

भोको पेट भरिएन खान नपाएर,

सधैं दाली खुट्टा टेकें मैले के बिराएँ।

                  ३)

तिमीसँग एकैछिन भेट्न बाँकी छ,  

भित्री पीडा खुल्दुली मेट्न बाँकी छ।

सिध्याउन खोज्दै रै’छौ कर्द उद्याएर,

घाँटीमाथि धार राखी रेट्न बाँकी छ।

तारा झार्छु भनेकै हो माया पोख्न खोज्दा,

के नै गर्छौ हेरौँला है देख्न बाँकी छ।  

झुक्किएर आएँ होला तिम्रै गाउँघर,

मेरै भनी आँगनमा टेक्न बाँकी छ।

साथ मैले दिएकै छु मुटु जुटेपछि,

जिन्दगीभर मायाले सेक्न बाँकी छ।

                       ४)

सिमानामा माटो रुँदा छातीभरि देश दुख्छ,  

भोकभोकै मान्छे हुँदा छातीभरि देश दुख्छ।  

कमाउन विदेसिंदा लास फिर्ता हुँदाखेरि,

परेलीमा आँसु चुँ’दाा छातीभरि देश दुख्छ।

छाक टार्न डोको, नाम्लो, ढाकरले किच्दाखेरि,

पसिनाले हात धुँदा छातीभरि देश दुख्छ।

दिनदिनै लुछेका छन् देशमाथि लात हानी,

नेपालीको मन छुँदा छातीभरि देश दुख्छ।

स्वाभिमान, राष्ट्रभक्ति कुरा मात्र हुन्छ यहाँ,

विदेशीकाँ नेता नु’दा छातीभरि देश दुख्छ।

                ५)

ओहो ! मित्र कति मजा पिएर त हेर,  

कति दुख्दो रै’छ भित्र जिएर त हेर।

जिन्दगीको बाटो सँगसँगै हिंड्ने भए,

तिम्रै दिलमा मेरो माया सिएर त हेर।

खुसीहरू भत्किएर बनेका ती घाउ,

मेट्नलाई हाँसैहाँसो लिएर त हेर।  

अन्यायका खम्बाहरू ढाल्ने भए यहाँ,

माटोलाई आफ्नै रगत दिएर त हेर।  

प्रकाशित: १८ भाद्र २०७८ ०३:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App