कला

सञ्जु अधिकारीको ‘इन्द्रेणी स्पर्श’

उपन्यास अंश

सञ्जु अधिकारी

वसन्तले फुलाएका पुष्पडालीहरू गृष्मको उग्र तापमानले ओइलाउन थालेका थिए। कैयौं दिनको टन्टलापुर घामले तातिएको नगरमा  वर्षात् सुरु हुन सकेको थिएन।

साँझको पूजा र आरतीका लागि झलमल्ल सजाइएको पशुपति प्राणमा नतमस्तक भएर सपना र सुरज छिरे। हरेकको आफ्नो आस्था हुन्छ। विश्वास र भरोसा हुन्छ। मन्दिर यस्तै अदृश्य शक्तिप्रतिको आस्था र भरोसा हो।  

मन्दिर दर्शन सकेर दुवै जना वाग्मतीपारि घन्किरहेको आरतीमा सामेल भए। वागमती किनारमा छापिएका ढुंगामा थचक्क बसे।सपनाले झोलाबाट काँटा निकाल्दै फैलिएका कपाल सम्हालिन्। वरिपरिको माहौललाई क्यामेरामा कैद गरिन्।

‘अनि मेजर साहेब, कहिले गर्ने त घरजम?’, उनले कुरा सुरु गरिन्।

‘तिमी नै भन न, तिमी जहिले भन्छौ, तहिले म तयार छु ?’, सिधा प्रस्ताव आयो।

‘लौ, मैले किन भन्नुपर्‍यो ? के म ज्योतिषी हो र? ’  

‘खै, तिमी किन बुझेर पनि बुझ पचाउँछौ ? तिम्रै आस्थाको धरोहरसामु बसेर फेरि पनि भन्दैछु। मेरो निश्छल मायाको बाटोमा तिम्रा लेखाजोखाको काँडे तार नलगाइदेऊ।होस सम्हालेदेखि तिमीलार्ई चाहेको छु। प्रेमको पूजा गरेको छु। अञ्जान जस्तो नबन।’ , सुरज चिढिँदै बोले।

सञ्जु अधिकारीको ‘इन्द्रेणी स्पर्श’

‘तिम्रोतर्फको कुरा केही जानेकी छु तर मेरो खुट्टामा उभिएर एकपटक सोच त। तिमीलार्ई जस्तो मलार्ई केही पनि हुँदैन। न त बिहानी घामको झुल्कामा कसैको अँगालो पाउँछु, न त कोहीसँग गाँसिएको अनुभव गर्छु। मायामा डुब्न मैले कोसिस पनि गरेकै हो।मप्रति कसैको आकर्षणलार्ई केही अगाडि बढाउन केही दिन डेटमा पनि गएँ। फोन अनि च्याटमा पनि झुम्मिएँ, भाउ पनि दिएँ तर मलार्ई छुँदै छोएन।शारीरिक मोहलार्ई पनि खुला सोचले अपनाएर केही प्रयास गरेँ तर संसर्गको मजाले मनलार्ई गाँस्न सकेन। म यस्तै छु, मलार्ई पिरतीको मोल थाहा छैन।’

‘एउटा वयस्क नारीलार्ई अर्को वयस्क पुरुषतर्फ कुनै आकर्षण छैन, साथको आवश्यकता लाग्दैन भने किन बिहेको कुरा गर्छौ? तिम्रो घरमा तिम्रो विवाहको कुरा चल्दैछ। संगीहरूलार्ई पनि भन्यौ अनि भेटायौ। बालापनदेखिको हाम्रो सम्बन्धमा भने केही पनि उत्तरदायित्व देखिनौ है।तिम्रा साथीहरूको पूर्वसहमति चाहिने तर मलार्ई भन्नसमेत जरुरी ठानेनौ।रेटेर मारिदेऊ मलार्ई बरु तर तिमीलार्ई अरूको भएको हेरेर बाँच्न सक्दिनँ।’, सुरज बहकिँदै आवेशमा आयो।उनको अनुहार हेर्दा सपनालाई ननिको लाग्यो। थुक निल्दै, केही अड्किँदै उनका हात कसिलो गरी समाइन्। एकछिनपछि सम्झाउन खोजिन्, ‘तिमीसँग लुकाउन खोजेकी हैन, नरिसाऊ ल। भेटेर अलि विस्तारमा भन्छु भनेर मात्रै हो नत्र त दिनहुँ राम्ररी नै कुरा भइराखेकै छ नि।’

‘फकाउन नखोज कालु, मलार्ई सबै कारण थाहा छ।’  

‘छैन त्यस्तो केही कारण हो, तिमीसँग बिहे नगर्नुको कुनै कारण छैन तर तिमीसँग बिहे गर्न घरपरिवारसँग लड्नुको पनि केही कारण छैन।सत्य त यही हो कि विनाकारण पनि मान्छेले जिन्दगीमा केही खुड्किला पार गर्नुपर्छ। उमेर पुगेपछि जिन्दगीको यात्रा सँगसँगै हिँड्न, एउटै छानोमा ओत लाग्न र सन्तानको चाहना पूरा गर्न पनि कुनै विपरीत लिंगीसँग  गाँसिनुपर्दछ।जन्मिँदा हुर्किँदाको परिवारजन पनि एकएक गरी टाढा हुन्छन्।साथीभाइ सबै जना आआफ्ना बाटा लाग्छन्। एकलकाँटे भएर जिन्दगी बिताउन त मुस्किल हुन्छ नि। त्यसैले सुहाउँदो साझेदार पाइयो भने करार व्यर्थको ठहरिन्न। म कुनै विशेष व्यक्तिसँग लिप्त छैन, त्यसैले पुरुषसँग बिहे नगर्नुपर्ने कुनै कारण छैन। मैले कसैको प्यारमा भक्ति गर्न सकेको छैन, भक्ति नगरी प्राप्ति हुन्न।त्यसैले परिवारले जानेबुझेर स्वीकार गरेको प्रस्तावलार्ई नकार्न मिल्ने रत्ति पनि कारण छैन’, उनले अमूर्त तर्क दिइन्।

‘जो कोहीमध्येबाट तिमीले छान्ने हो भने म किन त्यो सूचीमा अटाइनँ, विशेष के छ?’, सुरजले स्पष्टीकरण मागे।

‘बच्चाजस्तो कुरा नगर न। बिहे मेरो प्राथमिकता हुँदै होइन। यो सब मेरो इच्छाले भइराको छैन। परिवारले नेतृत्व गरेको सामाजिक नियमको फ्लो मात्र हो। तिमी यति लायक छौ, जो कोही पनि पाइहाल्छौ नि।’  

‘मलार्ई जो कोही चाहिँदैन, तिमी नै चाहिन्छ।यो तर्कको कुरा होइन, जोडिएको भावनाको कुरो हो।’ , उनले अधिकार जमाउन खोजे।

‘अब यस्तो जिद्दी कुरा नगर। म कुनै बजारमा बेच्न राखेको फूल त पक्कै हैन नि, जसले जिद्दी गरेर किन्न खोज्यो उनैको भइदिने। मेरो जीवनको निर्णय मेरो मर्जीले मात्रै हुन्छ, हैन र।’ , सपना पनि आवेशमा आइन्।

‘जिद्दी गरेको हैन, हक जताएको पनि हैन तर तिमीले स्वीकार्नुपर्ने कुरा के हो भने मैले सधैं तिमीलार्ई अपार माया दिएँ। आफूमाथि पूरा अधिकार जमाउन दिएँ। म सधैँभर तिम्रो मात्र भइदिएँ। तिमीले एकतर्फी निर्णय गर्दा मलार्ई कस्तो हुन्छ भनेर एकचोटि पनि सोचेनौ? यो भावनाको कुरा हो, बुझ न।’  

‘सयचोटि सोचेँ। सायद तिमीले गर्ने जति माया संसारमा कसैले कहिल्यै मलार्ई गर्न नसक्ला।तिम्रो चाहनाको एकछेउ पनि मलार्ई हुनेवाला बूढाले नचाहला तर अहिलेको घडीमा म जोडघटाउ गरेर रुमल्लिने अवस्था छैन।यसरी बुझ कि तिम्रा लागि म कहिल्यै लायक नै थिइनँ।’  

‘बिन्ती त्यसो नभनिदेऊ। केही समय लिएर सोच, हतार नगर।’

‘कति समय लिने ? मायाको स्पर्श लिन मैले धेरै प्रयास गरिसकेँ तर तेलको सतहमा दूधका थोपा तैरिएजस्तै गरेर त्यो तैरिन्छ।’, सपना कठोर बनिन्।

एकोहोरो माया गर्ने सुरजको मनमा प्रहार भएको थियो। एकतमास त्यो धमिलो वाग्मतीका ससाना छाल नियाल्दै उनी टोलाइरहे।आगोले पोलेको घाउलार्ई आगोमै सेकेर निको हुने ठानेर सपनाले उनको काँधमै अडेस लगाउँदै सम्झाउने कोसिस जारी राखिन्। एकोहोरो प्रार्थनाको आरतीमा ध्यानमग्न भएको वरपरिको भीड आफैंमा लीन थियो।अन्त्येष्टि गर्न ब्रह्मनालमा लडाइएको लास आगोमा विलीन हुन तम्तयार थियो। शोकमा रुँदै गरेका परिवारजनको पीडाको चर्को आवाज आरतीसामु दबिएको थियो।

आज त्यही आराध्यदेवको प्राणमा कसैको प्रेमको ज्वाला निभ्दै थियो।आशाका किरणहरू छोपिँदै थिए।चोखो माया फुलाउने मन निमोठेर मारिँदै थियो।सास चल्नु मात्रै जिउँदो हुनु रहेनछ। कसैले आफूलाई त्याग्दा त्यो मृत्युभन्दा भयंकर हुन्छ भन्ने उनले सुनेका थिए, आज बुझे, हो रहेछ।

विनाआवाज निस्किएका मनका चिच्याहटहरू थामिएनन्। आँसु पुछ्दै हातमा हात गाँसेर उनीहरू बाहिर निस्किए। आज उनीहरूको हात मिले पनि मन मिलेको छैन।दुवै खुशी छैनन्, पहिलो अस्वीकार सहनुपर्दा र दोस्रो अस्वीकार गर्नुपर्दा। कस्तो विडम्बना।

त्यसपछिका हरेक दिन सुरजका लागि झन पीडादायी भए। मनकी राजकुमारीलार्ई मनाउन प्रयत्न गरिरहे तर सपनाको मन पग्लँदै पग्लेन। सुरजलाई एउटा घनिष्ठ साथीमा मात्रै सीमित राखेर अन्य कुरामा बहकाउन खोजिन्।

                 –                              –                             –

किन दुई मन एकै धारमा अडिन सक्दैनन् ? किन कसैको चोखो मायाको मोल बुझ्न बाल्यकालदेखि तीस छुँदासम्म पनि समय पर्याप्त हुँदैन? एउटा विवश मनको व्यथा बुझेर पनि आफ्नै वैद्यले ओखतीको पोको किन खोल्दैन? किन कोही पोलिएर दन्केको आगोमा दुनियाँ आरामले ढाड सेकाउँदै रमाउँछन्। के भाग्य भनेको यही हो ?

किन कसैले कसैलार्ई यति धेरै चाहन सक्छ तर किन त्यही चाहिएको मान्छेले बुझ्न सक्दैन आफूजस्तै अर्को मनको वेदना। वेदनाका रूप किन अलग हुन्छन् ?

जिन्दगीको खेलमा जोडघटाउ गर्दै सपना टकटकिएर गइन् तर सुरजको प्राणमा ढुकढुकी मात्रै बाँकी रह्यो।  

सुरजको मनमा अनेक सोच र यादहरूको भुमरी चल्यो। उनी थामिन सकेनन्। कसैले किन कसैलार्ई असीमित माया गर्छ, किन कसैलार्ई प्राण धान्ने सूत्र बनाएर राख्छ? यसो गर्नु अपराध हो? हैन भने सजाय किन? बालापनको पुतलीको बिहे खेलमा उनको मन किन यसरी गाँसियो।बूढानीलकण्ठ मन्दिरसम्म सँगै हिँडेर जाँदा हरेक मोडमा मोहनीमन्त्रले उनलाई हानेको थियो। मन्दिर वरिपरि घुमेर प्रार्थना गर्दा सबै जपमा समर्पण उनिएको थियो। वर्षमा एकदुई पटक शिवपुरी उक्लिँदा टेकेका हरेक ढुगामा पिरतीको जलप देखेको थियो।

आर्यघाटको सामुन्ने बसेर सपनाले विवाहको कुरा सुनाएकी थिइन्। त्यो निर्णयमा सुरजको सारा आशा मरयो, सपना जलेर खरानी भयो। खुसी फुसफुसे धुवाँमा गन्हाउँदै उड्यो तर मायाले मुटुको आसन छोड्न सकेन।

सम्झनाका सुनौला पलहरू आज तर्साउन थाले। वसन्तपुरको अग्लो मन्दिरका खुड्किलाहरूमा बस्दा हावाका झोक्काहरूले मन्दिरमा झुन्डिएका घण्टीहरू बजाइदिँदा मन छुन्थ्यो।तर आज त्यही वसन्तपुर जाँदा उनलार्ई ती घण्टीका आवाज पीडादायी र बेसुरा लागे। कहिले त त्यो ध्वनि कुनै भयानक राक्षसको चीत्कारजस्तै भएर सातो लिन्थ्यो। सपना उनको अँगालोमा हुँदा अघिपछि हिँडेका जोडीहरू बतासको चालजस्ता लाग्थे। आज भने प्रेमजोडीका दृश्यले उनलाई विनाशब्द घोचपेच गर्न थालेका छन्।

सपनासँगै शिवपुरी उक्लिएर काठमाडौं हेर्दा उनलाई स्वर्गको अनुभूति हुन्थ्यो। आज भने घरिघरि त्यही उचाइमा पुगेर हामफालौं जस्तो लाग्यो। बाटाछेउको जुन रूखमा अडेस लगाएर उनले धुवाँ उडाउँथिन्, त्यही रूखमा झुन्डिएर इहलीला त्याग्न मन लाग्यो।बाइकको पछाडि राखेर दरबारमार्ग – भद्रकाली – जमलको चक्कर लाउँदा कहिल्यै नसकियोस् जस्तो लाग्ने बाटो आज बिरानो भयो। सपना वसन्त ऋतुमा फुल्ने शिरीषका फूल हेर्न आतुर हुन्थिन् र हरेक नयाँ वर्ष त्यो सेरोफेरोमा घुम्दै हाँसो छर्थिन्। तर आज सबै फूल बेरङ भए, सम्झनाको सुवास बोक्ने वायुमण्डलमा अक्सिजन सबै लुटियो।आइलाग्ने जस्तासुकैलार्ई पनि छप्काउन सक्ने वीर आज आफ्नै अस्तित्वसँग तर्सिन थाले। किन उनले यतिधेरै माया गरे, किन सपनाबाहेक कसैलाई चाहेनन्? सपनाविना खुसीका ढाँचा किन कोर्न सकेनन् ?

जसको लेखान्तमा जति माया र साथ लेखेको छ, सायद त्योभन्दा बढी केही गरे पनि प्राप्त हुन सक्दैन।शिशु अवस्थामै आमाको ममता गुमाए, युवा भएर जोसिने बेलामा बुबाको आश्रय पनि मेटियो। रहर पलाउने बेलादेखि सम्हालेर राखेको खुसीको बिरुवा जवानीको शिखरसम्म पुगेर लहराएको थियो। तर फुल्ने–फल्ने बेलामा आँधीबेहरी आएर मासियो। जीउज्यान दिएर गरेको भक्तिले निष्ठुरीको मन छोएन। मोहनी तीर प्रहार गर्ने नजरले मायाको पागलपन देख्न सकेन।

आत्महत्यालाई अपराध मान्ने सुरजले आज जिउनुको कुनै अर्थ देखेनन्। भोलि कुर्नुको औचित्य भेटेनन्। पलपल यादका धारहरूले रेटिनुभन्दा छ्याक्कै छिनिनु सहज हुने सोच आयो। आत्महत्याको कठोर सोच मनमा खेलिरह्यो।  

                      –                             –                              –  

– तीन हप्ताको लगातार गुप्तवासपछि सुरज खुला वातावरणमा निस्किए।मानौं उनी मसानबाट बौरिन खोजिरहेका थिए। परिवर्तनको प्रक्रियाबाहेक विश्वमा केही स्थायी छैन भन्ने उनले सुनेका थिए। कसैको साथको आशक्तिपन पनि स्थायी हुनु हुँदैन भनी बोध गरे।

आफ्नोपनले मात्रै साथ दिने हैन रहेछ, एक्लोपनले पनि मान्छेलार्ई आड दिन सक्दो रहेछ। रमझम, रसरङ र हरियालीले मात्र हैन, शून्यता र मौनताले पनि मन बहलाई दिँदो रहेछ।

नियतिको मूलबाट कञ्चन पानी निस्किएन, खान काम लागेन। तर पानी त पानी नै हो, सहजै खान नसके पनि काकाकुल भएर मर्न दिँदैन। हृदयकै संसारमा आगलागी भए पनि निभाइदिन्छ। जीवन पनि पानीजस्तै हो। कञ्चन होस् या मैलो – बेकार कहिल्यै हुँदैन। बरफ होस् या बाफ – पानीको आन्तरिक शक्ति कहिल्यै नास हुँदैन।हो, उनलाई आज जीवनबोध भयो।

हप्तौंपछि मूलढोका खोलेर बगैंचाको माटो टेक्दा मनमा नयाँ उत्साह सञ्चार भयो। माली नआएको पनि दुई महिना भइसकेछ।

फूलबारीमा घाँस उम्रेर ढाकेको रहेछ। पैतालाले टेकेको माटोप्रति हामी कहिल्यै ध्यान दिँदैनौं, त्यसको गुणलार्ई दिल–दिमागमा राख्दै राख्दैनौं। यो धर्ती भने यति शक्तिशाली भएर पनि घमण्डी छैन, सधैं दयादृष्टि राखेर पनि सामन्ती छैन। बाँचुञ्जेल सम्पूर्ण जीवलार्ई पालनपोषण गर्छ र मरणोपरान्त आफूभित्रै अँगालिदिन्छ। माटोलार्ई कसैको डर छैन, कसैको भर छैन।माटोलार्ई कसैले केही गरिदेला भन्ने आशा छैन, केही गरेनन् भन्ने पीर पनि छैन। त्यसैले त यो धरती सबैको गर्भ हो। स्त्री हो। सबै जन्माउँछे, सवै हुर्काउँछे।

सोच्दासोच्दै उनको मनमा अनेक विचार आए। मानिसको आन्तरिक जीवन पनि माटोजस्तै हुनुपर्छ। सम्बन्धको इन्जिनियरिङलाई माटोको गुणसँग मिलाएर बुझ्न सकियो भने हार खाएर प्राण त्याग्नुपर्दैन। कसैको उपस्थितिले सास आउने त हैन, कसैको विछोडले निस्सासिने पनि हुँदैन। आमाबाबु गुमाएका टुहुरा त हुर्किन सक्छन्। कोही छुटेर जीवन छुट्नु हुँदैन, कोही टाढिंदैमा बाँच्नुको सार फेरिनु हुँदैन।  

सुरजले पनि सपनालार्ई यो जुनीको केन्द्रबिन्दुबाट निकालेर छेउमा राख्न हिम्मत गरे। प्रेमिकाविना प्रेमको अर्थ नहोला, प्रेमविना बाँच्नुको मिठास नहोला तर तीतै भए पनि जिन्दगी अमूल्य छ  अनेक चिन्तनको भुमरीमा रुमल्लिएर उनी थामिंदै गए।

जसरी माटोमा परेको खत प्रकृतिले पुरिदिन्छ, उनको मनमा लागेको घाउ बिस्तारै भरिँदै गयो। वास्तविकता स्वीकार्ने प्रण गरे। अब उनलाई मोहमाया भन्ने कुरो माहौल र मानसिकताको खेलजस्तै लाग्न थाल्यो। उसले आज आएर माया र प्रेमको फरक बुझ्यो। सायद ऊ आफू प्रेममा थियो तर सपना मायामा मात्रै।

त्यो एउटा खेल हारेर के भयो र? भविष्यमा अझै अर्थपूर्ण खेलहरू खेल्नु छँदैछ, चुनौती र डरलार्ई जित्नुको मजा लिनु नै छ।जीवन जेगाउन सके हरेक दुःखलाई मासेर वास्तविक खुसी उमार्न सकिन्छ।विरहमा सती जानुभन्दा जिउनलार्ई अग्निकुण्डमा होमिन उनी तम्सिए।

प्रकाशित: १६ भाद्र २०७८ ०८:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App