डा.दामोदर पुडासैनी किशोर
उद्भवले नै उधिन्छन् उद्भासे उद्वेगहरू।
हुम्ला, तिमीसँग दूरी नजिक हुँदै गर्दा ह्वात्तै बढिरहेछ मेरो खुशीको पारो। वायु वेगमा बत्तिदै तिमीतिर हुत्तिरहेछ हामी चढेको चीलगाडी। उसको भन्दा करोडौं गुना छिटो सल्बलाइरहेछ मेरो मन। राँझाको जमिन छोडेदेखि नै उद्रेकहरूको माझमा महकिएको छु म। जिन्दगीमा त्यसअघि पनि कैयौं हिमाल नाघेको हुँ, कैयौं पहाड नापेको हुँ, कैयौं बस्ती चाहारेको हुँ तर बेग्लै लागिरहेछ कर्णालीतिरको परिवेश।
प्रायः अविस्मरणीय बन्छ पहिलो कुरा। प्रथम प्रवेश, प्रथम भेट, प्रथम घटना, प्रथम संयोग — छोड्छन् अमीट छाप।
पहाडहरू मान्छेका लहर जसरी उभिएका छन्, मान्छेहरू पहाड जसरी जिन्दगीलाई निर्भीक र निष्कान्त पारिरहेछन्। डाँडा डाँडाबाट सुसाइरहेछ पहाड, उकालीहरूबाट आमाको दूधझैं ओर्लिरहेछन् नदीहरू। पहाड खोपेर बनाइएका पहाडजस्तै घरहरू, पहाड जितेर पहाड नाघिरहेका शिखरझैं ठाडो शिर भएका मान्छेहरू। प्लेनले पहाड छोड्छ, फेरि ठोक्किएला जस्तो गर्छ पहाडमै, प्लेनबाट देखिन छोड्छन् एक हूल मान्छेहरू, फेरि सुटुक्क देखिन्छन् अर्को हूल। पहाड एक्लै रहेनछ, अनकन्टार कहीँ रहेनछ, नजिकिंदै – नजिकिदैं आइरहेछन् निर्वाङ्ग हिमालहरू। एउटा स्पृश्य अन्वितिको उमङ्गले काउकुती लगाइरहेछ मलाई। पहिलो पटक संसार देख्दा जीवनलाई उज्यालो, रङ्ग र तरङ्गको रूपमा चिनें मैले। बाआमा, दाज्यूभाइ, दिदीबहिनी, इष्टमित्र र अरू मान्छेलाई पहिलो पटक भेट्दा मान्छे जत्ति ठूलो र रहस्यपूर्ण कुरा अरू केही रहेनछ भन्ने बुझें। पत्नी पाउँदा, छोरा पाउँदा, छोरी पाउँदा, काम पाउँदा र माम पाउँदाको पहिलो खुशी घामभन्दा उज्यालो थियो। पहिलो पटक घामको उद्याम स्पर्श भेट्दा, पहिलो उज्यालो र शीतलता अनुभूति गर्दा, पहिलो पटक अस्मेल खोलामा हेलिंदा र पार लाग्दा, पहिलो पटक समुद्री लहरहरूमा जिन्दगीका उत्तारचढावहरू केलाउँदा उद्दीपक बनेको थिएँ म सम्भाल्नै नसक्ने गरी। कति स्वप्निल बनेर उठेको थियो मेरो पहिलो प्रेमको अनुभूति। पहिलो पटक घोर निराशाको अन्धकारमा जकडिंदा पत्ता पाएको थिएँ संसारमा आशाको अर्थ। आफू चढिरहेको रूख पहिलो पटक भाँचिएर लड्दा बुझेको थिएँ जिन्दगीको चिर नवीन सार। पहिलोपटक तिमी नजिक आउँदा तिम्रोजस्तै बन्दै छ मेरो पनि देदीप्यमान रूप। तिम्रो पहिलो आकर्षणमै भेटिरहेछु मैले असंख्य जीवन उदयका शृङ्खलाहरू।
पहाड भेट्नु सधैं नयाँपन भेट्नु हो, तिमीतिर अघि बढ्दा अलिअलि अलमलिएको म भित्रको निस्सहायपन पनि हराइरहेछ।
पत्र नै पत्रको फूलजस्तो देख्दैछु म तिमीलाई। रङ्गै रङ्गको गुजुमुज्ज माला पहिरेर संसारलाई लोभ्याउँदै रहिछौ तिमी। बादल र हिउँका श्वेत फूलहरू ढकमक्क छन्। पहाड फूलझैं गम्केको छ– नीलिम रङ्गमा।
चारैतिर अग्ला पहाड, पहाडभन्दा माथितिर हिमशृङ्खलाहरू। पश्चिमतिरको पाटो पूरै जंगल। उत्तरतिर ढुङ्ग्याने पहाड। ढुंगाहरूको तलतिर हरिया घाँसले घेरिएको भिरालो। पूर्वतिर पहाडका तरेलीहरू। दक्षिणतिर अग्ला दाह्रासिङ्गे पहाडको बीचबाट सेतो साप सुलुलु बगेझैं बगिरहेको हुम्ला कर्णाली। डाँडाको कम्मर र पिठ्यौतिर ससाना बस्तीहरू। यस्तैयस्तै रहिछ्यौ तिमी। डाँडाको बीचमा अलि बाक्लो बस्ती। जस्ताको छाना र सिमेन्टको जोडाइले बनेका ढुङ्गे घरहरूले दिइरहेका आधुनिकताको छनक। अलिपर पूर्वतिर पुरानो वस्ती। माटाको जोडाइ, माटैको छाना। उकालो–ओरालो परेर फिँजिएको बजार सिमकोट।
डाँडाहरूको बीचको सानो चौडिलो सिमकोट। त्यसैमा झन्डै सय घर जत्तिको बजार। पैंतिसचालीस वटा कार्यालय। बीचमा धूले एयरपोर्ट। पारितिर कोदो, चिनो र सूर्यमूखीका फसलहरूले रङ्गयाएको रंगीन चित्र। बीचबीचमा लटरम्मै फलेका स्याउ। छिनमै एयरपोर्ट माथितिर छिनमै एयरपोर्ट तलतिर ओहोरदोहोर गरिरहेका मान्छेका ताँतीहरू। पश्चिमतिर धूपी, देवदार र सल्लाको कालाम्मे जंगल। माथि नेपाली सेनाको रणशुर गुल्म। बजारको पृष्ठमा लमतन्न सुतिरहेको अग्लो पहाड। पहाडको सानो आँगन जस्तो सिमकोट।
म तिम्रो बयान कसरी गरूँ भन्नेमा अलमल परेको छु हुम्ला। जिन्दगीमा कमै सार्थक बन्छन् कल्पनाहरू। तिम्रो बारेमा मैले गरेको कल्पना ठ्याक्कै उल्टो देख्दैछु। कल्पनाहरू यथार्थमा परिणत त गर्न सकिन्छ तर, कल्पना र यथार्थ एउटै हुनुपर्ने भन्ने छैन।
पहाडको बीचमा केही खोजेर बसेकी बाला रहिछ्यौ तिमी।
तिम्रो दर्शन पाउन नै मलाई कम हम्मे परेन। तिमीकहाँ आउन मापाको राँझाले चीलगाडीको टिकटै दिँदैन भन्या। पैदल नै जाने हो भने सुर्खेतबाट तिमीकहाँ पुग्न कम्तीमा एक्काइस दिन लाग्छ अरे।अझ हामीजस्ता धेरै हिँड्न नसक्नेहरूका लागि महिनौ पो लाग्ने हो कि।
चार रात तपस्या गरेपछि यति एयरलाइन्सले बल्ल टिकट थम्यायो बरा। उसलाई पनि गाह्रो छ। तिम्रो दर्शनमा आउन महिनौं नेपालगञ्ज कुर्नेहरू छटपटाइरहेछन्। तिम्रोतिर दाल चामल पनि पठाउनै पर्यो। औषधिमूलो र लत्ताकपडा पनि पठाउनै पर्यो।
हुम्ला जिल्लाका सबै कार्यालयको लेखापरीक्षण हाम्रै टोलीले सम्पन्न गर्नुपर्ने थियो। त्यो पनि दशैं अघिनै सम्पन्न गरेर फर्किसक्नुपर्ने थियो। विमानको टिकट नपाउने हो भने देशको एक जिल्लाको लेखापरीक्षण कार्यमै धक्का पर्थ्यो। धन्न यति एयरलाइन्सका स्टेसन मेनेजर भीम राईले लेखापरीक्षणको मर्म बुझे र हामीलाई टिकटको बन्दोबस्त मिलाइदिए।
सोह्र गते ६ बजे नै राँझा विमानस्थलमा धर्नामा पुग्यौ हामी। मेरो साथमा भाइ महेश पनि भएकाले दुई टिकट पाउनु युद्धमा जितेजस्तो भयो। ‘प्लेन काठमाडांैमा छ, आयो भने हुम्ला पठाइदिन्छौं’ — यतिका कर्मचारीहरूको आश्वासन। काठमाडौं, पोखरा र डोल्पा हुँदै नेपालगञ्ज उत्रियो बबुरो चीलगाडी। यात्रु प्रतीक्षालयमा चार घण्टा कुरिसकेका हाम्रो नजरमा चीलगाडी पर्नु तिमी नै भेटेजस्तो भयो नि मोरी। म त हर्षले उफें। महेश भाइको अनुहारमा एकैपटक उज्यालो थपियो।
पचपन्न मिनेटमा तिमीलाई भेटिने घोषणा गर्दै बिहान सवा दश बजे चीलगाडीले राँझा विमानस्थलको भुईं छोड्यो। प्लेन उड्नु नै पनि प्रेमिका भेटेजस्तै भैसकेको थियो मलाई। प्लेन भन्नु मात्र सामानको डङ्गुर थियो प्लेनभरि। प्लेनमा म, महेश र अरू दुई हुम्ली भाइ मात्र थियौं। कतारमा काम गरेर सात वर्षपछि फर्केका ती भाइहरूले लाग्नेभन्दा दश हजार बढी भाडा तिरेपछि मात्र उड्न पाएको रहस्य खोल्दैथे। कालो बजार र कमिसनखोर तिमीसम्म पुगेकामा कम्ती रिस उठेको होइन मलाई। हामीबाहेक थिए दुई एयर होस्टेज बहिनी र दुई पाइलट।अरू सबैै सामान। सामानको डङ्गुर माझका चार सिटमा कुचुक्क बस्यौं हामी।
एयर होस्टेज बहिनीले आफ्नो एयरलाइन्सको नियम अनुसार चकलेट र कपासले भरिएको ट्रे तेर्स्याइन्। मैले मुठीभरि चकलेट गमर्क्याएँ। भनें – ‘बहिनी चकलेट त धेरै नै लिए है।’
‘केही फरक पर्दैन सर’ – बहिनीको मुहारमा त्यतैबाट देखिएको हिमाली चमक देखियो।
चीलगाडी सुर्खेतमाथि हुँदै सिधै उत्तरपश्चिमतिर हुत्तियो।भदौरे भेलले अलल्ले भएका किरिङमिरिङ राता नदीहरू देखेपछि नेपालगञ्जमा गर्मीले झानिएको जिउ बिस्तारै बग्रिन थाल्यो।
अग्ला पहाडहरूलाई पछि पार्न प्लेनले उचाइ बढाइरहेथ्यो। बादलका भुल्काहरू केके न बितेजस्तो यताउति गरिरहेथे। कपासका गुजुल्टा आकाशमा छरेजस्तै घामलाई धर्तीमा ओर्लन हम्मेहम्मे परिरहेथ्यो। अन्तरकुन्तर कुनाकानी जे भेटे पनि घाम धर्तीमा ओर्लिहाल्थ्यो। फेरि छोपिइहाल्थ्यो घाम बादलको भीडले। घाम र बादलको लुकामारीमा रुँदै, हाँस्दै, हाँस्दै र रुँदै गरेको बालकझैं देखिदैथे पहाडहरू।
पहाडको बिस्कुनमाथि उडिरहेथ्यो चीलगाडी। जता हेरे पनि हरिया पहाडहरू। पहाडका बीचमा कुलकुल बगिरहेका नदीहरू। लमतन्न सुतेका पहाडमा सितारा पोखिएजस्ता घरहरू। पहाडलाई खोपेर उमारिएका अन्नका तरेली। यस्तैयस्तै उभिंदैथे आँखाअगाडि। मैले तिनीहरूलाई क्यामेरामा कैद गर्न खोजे। खुलेन क्यामेरा। जोमसोम जाँदा पनि क्यामेराले धोका दिएको थियो। आज पनि त्यही दोहोर्यायो। मनमनै सोचें — यो यन्त्र भनाउँदाको चर्तिकला देखेर। पछि थाहा भयो क्यामेराले धोका दिएको होइन मैले सेटिङ नमिलाएको रहेछु। अज्ञानताले उब्जाउँछ अनेकौं भ्रम। म अज्ञानताको भुमरीमा फसेंछु।
बाजुराको सिमानातिर पुग्दा आकाश नै नदेखिने गरी पर्खाल बनेर बसेका रहेछन् पहाडहरू। पहाड पार गर्न प्लेनले खोज्यो तर अझ भेट्यो उच्च आकाश। ढलपल–ढलपल पो गर्न थाल्यो बिचरा। ‘लौ अब के हुने हो’ – हामी आत्तियौं।
‘नआत्तिनुस् सर, यहाँ यस्तै हुन्छ’ – एयरहोस्टेज बहिनीले आश्वस्त पारिन् पछिल्लो सिटबाट। ‘त्यसो भए पानी पिऊँ’ – मैले बहिनीमा हाँसो फ्याकें।
‘डराएर त होइन हगि सर’ – बहिनीले मेरो मन छाम्न खोजिन्।
‘हुने हुनामी दैव नटार’ भन्छन्। ‘खाइसार कि लाइसार मरेपछि लम्पसार’ पनि भन्छन्। डराएर डेग नचल्ने हो भने कहाँ चल्छ र जिन्दगी। पानी पिऊँ, हाँसौ, गाऔं, कि कसो?’ दुई बहिनी र मेरो हाँसो मिसियो। हाम्रो कुरा सकिएकै थिएन। प्लेन त दुईवटा अजंगका पहाड बीचको खोंचबाट पो छिर्यो।
‘लौलौ पखेटाले छुन्छ कि क्या हो ?’ म फेरि कराएँ।
‘छुने भए छोइसक्थ्यो, पार भैसक्यो नि सर’ — पुखली पुन्टीले मलाई आश्वस्त पारिन्।
विमान त सिमकोट अघिल्तिरको ठेहे गाउँ नजिक पुगिसकेछ।पहाडलाई काटेर पाटा बनाएजस्ता देखिंदैछन् ठेहेका छानाहरू। कुकुरहरू, चौंरीहरू र मान्छेहरू हावामा रूखका हाँगा हल्लेझैं सल्बलाइरहेको देखियो विमानबाटै।
झर्ना नै झर्नाको माझमा, हिमालको काखै मुन्तिर तिमीलाई भेट्दा सिरसिर हावाले सुमसुम्यायौ। सूर्यसँग अलिकति पार सापट मागेर ततायौ मलाई।
पहाडका किनार किनारलाई जोड्दै छन् खोलाहरू। ऊर्जाका उरुङ उचाल्दै हिंडिरहेछन् खोलाहरू। खोलाजस्तो नै त हो मान्छे पनि। बगिरहन्छ, ऊर्जा निकालिरहन्छ। खोलामा कैयौं ऊर्जा खेर गएझैं कति धेरै खेर गएको छ मान्छेको ऊर्जा अनाहकमा। खोलाको कणकणको ऊर्जा र मान्छेको क्षणक्षणको ऊर्जा सदुपयोग गर्न सक्ने हो पूरै बदलिन्थ्यो संसारको।
पहाडहरूले नदीको मूल फुटाए। आफैं तनतनी पिएर बसेनन्। पठाए अनन्तसम्म र सिंचन गरे विराट धर्तीलाई। जो फलाउँछ ऊ अरूलाई चखाउँछ। आफू सधैं सिर्जना कर्ममा लाग्छ। फलफूलका बोटहरूले कैयौं दाना फलफूल उत्पादन गर्दछन् जीवनभरमा तर एक दाना मात्र फलफूल पनि खाएका छैनन् उनीहरूले। त्यस्तै भएको छ पहाडहरूमा पनि। अजस्र मूलका स्रोतहरू छन्। बग्दैबग्दै गइरहेछन्। पहाडहरू झन्–झन् रूखा बन्दै गइरहेछन्। विमानको स्यानो शिशा पर्याप्त छ संसार हेर्न। हिस्सी परेका हिमालहरू पर्खालझैं लहरै उभिएका छन्। परेड खेल्न ठिक्क परेका सिपाहीका लहरजस्ता छन्। धूपीका बोटहरू हावामा हाँगा हल्लाउँदै हिस्करिरहेछन्, पाटापाटामा रङ्गको जुलुस निकाल्दैछन् फापरका फूलहरूले। त्यस बीचमा मान्छेहरूको छुनुमुनु भेट्दा कति हौसिएँ हुम्ला म।
शारदी बेला भएकाले पहाडहरूमा निरसता थिएन। अग्लाअग्ला पहाडहरूको जुलुस जस्तो लाग्थ्यो। पहाडहरूमा किरिङमिरिङ रेखाहरू थिए। रेखाहरूमा अनाज अभिएका थिए। हरिया पहाडमा नेपाली कागज टाँसेझैं घरहरू देखिन्थे। घरहरू एकपाखे थिए। छानामा जस्ता थिएन, खर थिएन आफ्नै आँगनको माटोले छाना बनाइएको थियो। धन्न प्रकृति। माटोले नछाउने हो भने कहाँ पाउनु अरू कुरा त्यहाँ।
विकट पहाडमा कोरिएका रेखाहरू, त्यसमाथि हल्लिरहेका अनाजका बुटा घरपालुवा जनावर र मान्छेका मिहीन पदचाप देख्दा मान्छेका लागि कहीँ पनि अप्ठेरो र निरस छैन संसार भन्ने बुझ्यो मनले । ‘ऊ हेर्नुहोस् सिमकोट’ — सँगै बसेका हुम्ला दार्माका वसन्त शाही भाइले पहाड नै पहाडको काखमा टुसुक्क बसेको स्यानो बस्ती देखाउनु भएपछि म त विमानमै खुशीले बुरुक्क उफ्रिएँ एकपटक। तिमीलाई देखेपछि भेटको खुसीयालीमा हर्षले आँसु रसाए एकपटक। चीलगाडीले क्रमशः उचाइ घटायो। कर्णालीको पानी पिउँला जसरी झर्यो चीलगाडी। पहाडको कम्मरकम्मरमा छोलाजस्तो गर्दैछ ऊ।
पहाडको डडाल्नुमा ठोक्काउने हो कि – झिनो डर पैदा हुँदैथ्यो मनमा। चीलगाडीले त तिम्रो पिठ्यौंमा पाइला हालिसकेछ हुम्ला। म त एकाएक सपनामा पुगेजस्तो बनें।
एयरपोर्ट जस्तो छैन, एयरपोर्ट । ग्राभेल गरेको सानो चौडिलोमा घाँसै घाँसले ढाकेको, घाँसे मैदान पो रहेछ एयरपोर्ट। हुत्तिएर प्लेन तिम्रो छात्तीमा हामफाल्दा तिमीले मजाले धूलोको आकाश रङ्गाउँदिरैछ्यौ। धूलो के भन्नु धूले कुहिराले ढाक्दो रहेछ प्लेन र वरिपरिका दर्शकहरू। त्यहाँ मत्स्यगन्धा त तिमी नै थियौं। नत्र त्यो कुहिरोमा वेदव्यास जन्मन बेर थिएन। परासर ऋषिहरूलाई अब कुहिरोको आवश्यकता छैन। यतै पहाडहरूमा बग्रेल्ती दौडिरहेका होलान् परासर ऋषिहरू र देउडा गाउँदै होलान् शैलगन्धाहरू। धूले कुहिरो बिलाउनेबित्तिकै पहाडको टुप्पोतिरबाट जले कुहिरो ओर्लियो। हिमकण थियो त्यो कुहिरामा। उसले सिनित्त बढार्यो धूले कुहिरालाई । ओर्लनेबित्तिकै एउटा लामो सुस्केरा छोडें मैले सल्लाको सुसाइसँगै।
म त ताजुव नै परें तिमीलाई देखेर। मलाई भन्नेहरू तिमीलाई कुरूप भनेर चिनाउँथे, असभ्य र ग्वाँजी छन् भनेर बद्ख्वाइँ गर्थे। पात झरेकी रूखजस्ती छिन्, ग्रहण लागेकी जूनजस्ती छिन्, ढुङ्गै ढ’ंगाकी गेगरयान छिन्, न खान दिन्छिन् न लाउन दिन्छिन्, मुस्काउन जान्दिनन् – यस्तै भन्थे तिमीलाई चिन्नेहरू। मलाई यतिखेर ती सबैैलाई मुड्की ठोक्न मन लागेको छ।
तिमी त झरिझुट्ट गहनामा सजिएकी पहाडी बाला रहिछयौ । गहना पनि अरूले दिएको होइन। आयातित होइन। वरिपरि हिमगीरीका पर्खाल, कहिल्यै नहार्ने पहाडहरू, पहाडसँगै अँगालो हालेर पहाड बनेका मान्छेहरू, जतासुकै भरिझुट्ट स्याउ, पाटामा चिनो, कागुनी, लट्टे झुलेर पहेंलो, कलेजी र रातो रंगको रमिता, पाखामा तीते फापर र मीठे फापरको गुलावी दाना, पर कतैबाट आइरहने देउडाको भाका । पाटामा उड्नै लागेका प्वाँख जस्ता पहेला सूर्यमुखी फूलको सरगर्मी। माटाले ढाकेका छानामा ढकमक्क फक्रेका सयपत्रीको सोलोडोलो। पँधेरामा पानीको खाँचो छैन। रसाइरहेछन् पहराहरू कापकापबाट। पाखुरीमा पालुवा पलाए पखेरामा प्रसव नफैलिने कतै छैन। कसरी भन्नु तिमीलाई कुरूप, कसरी बोल्नु तिमीलाई बाँझी, कसरी भन्नु तिमीलाई असभ्य।
एयरपोर्ट भन्दा मल्लो गाउँ (१) र तल्लो गाउँका छाना छानामा पाहार तापेर बसेका देखिए मान्छेहरू। लटरम्म स्याउले राताम्य हाँसिरहेको देखिए गाउँहरू। ढकमक्क फुलेका सूर्यमूखीले पहेंलपुर देखिएका छन् गाउँहरू। ‘कति राम्रोसँग खुल्न जानेकी मेरी हुम्ला’ — मनमनै महकिएँ म तिम्रो लावण्यमा।
एयरपोर्टमा ओर्लनेबित्तिकै दौरासुरुवाल टोपीधारी धेरैले हेरे हामीलाई । कानमा ठूलाठूला सुनपाता, नाकमा बुलाकी, हातमा बडेमाका बाला, गलामा राता, पहेंला, हरिया पोतेका मोटा मोटा झुत्ताहरू, चाँदीको जन्तर, चोलो र फरिया, खुट्टामा स्पोर्ट सुज लगाएका किन्नरीहरूले पनि क्वरक्वारती हेरे हामीलाई । दाइहरू सुल्फा तान्दै कतुवामा ऊन कात्दै हुनुहुन्थ्यो एयरपोर्ट चौरमा। दिदीहरू पिठ्यौंमा मल बोकेर बारीतिर लाग्दै हुनुहुन्थ्यो।
प्रहरीको एउटा टोलीले कुरिरहेको रहेछ हामीलाई। ‘हजुरहरूलाई सिधै सिडिओ सा’वकोमा लैजाने आदेश छ सा’व’— भुइँको धूलो उडाउने गरी स्यालुट ठोके एक सबइन्स्पेक्टरले। प्रहरीले नै हाम्रा झोला बोक्न भरिया खोजिदिए। सिमकोटको माझमा रहेको जिल्ला प्रशासन कार्यालयमा पुग्दा कुहिरोको कापबाट बलजफ्ती हेर्दै थियो घामले।
बाटामा दुईतिर स्याउ लटरम्म झुलेका छन्। स्याउका बीचबीचमा सूर्यमुखीले मुहार बटार्दै हेरिरहेछन्। जनताको माझमा घेरिइरहनुभएको रहेछ प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी सापकोटा। खाद्य संस्थानले बाँड्ने चामल र नून लिन कमिले ताँती बनिरहेथे जनताहरू। कसैलाई पाँच, कसैलाई दश किलो चामल दिन तोक लगाउँदै हुनुहुन्थ्यो प्रमुख जिल्ला अधिकारी रूपैयाँ जत्रा कागजे टुक्राहरूमा। ‘तीन दिनको बाटो हिँडेर आइयो, पाँच किलो चामल पाइयो’— भन्दै थिइन् डिकी लामा। त्यो चामल घर पुर्याउने भए भोकै जानुपर्ने बाध्यता थियो उनमा।
‘सरकारले हाम्रो लागि भनेर हेलिकप्टर चढाएर चामल पठाउँछ तर कर्मचारी, व्यापारी र नेताले नै सबै सिध्याउँछन्’— भन्दै थिए मुचु गाउँका रणसिंह। प्रमुख जिल्ला अधिकारी कसैलाई हप्काउँदै, कसैलाई फकाउँदै खटाईखटाई चामल र नूनको तोक लगाइरहनुभएको थियो। हेलिकप्टरले बोकेर ल्याएको राशन कत्तिलाई पुर्याउनु – उहाँबाट निस्किदै थियो चिडचिडाहट। सोझा जनता कसैले पनि पन्ध्र किलोभन्दा बढी चामल पाइरहेका थिएनन् तर एउटा नेतालाई चालीस किलो चामल दिने तोक लगाइदिनुभयो जिल्ला प्रमुखले। जहाँ र जहिले पनि छट्टू नै बन्नुपर्ने सुविधा छड्काउन भन्ने त्यहाँ पनि देखियो छर्लङ्गसँग। ‘यो झन् अन्याय भएन?’— मैले पक्रिएँ सिडिओलाई। ‘के गर्नु सर यी नेतासँग नमिले भरे नै हिंड्नुपर्छ यो जिल्लाबाट, जागिर त सजिलैसँग खानुपर्यो नि’— सुरुमै नेपाली प्रशासनयन्त्रको विशेषता देखिहालें मैले हुम्लामा पनि।
खाना त हामीले पनि खानै पर्यो यो पेट नभए कसरी आइपुगिन्थ्यो होला र तिमीसम्म हुम्ला। जिल्ला प्रशासन कार्यालयका लेखापाललाई साथ लिएर सिमकोट बजार चहा¥यौ भोको पेटले। ‘चामल छैन, खाना पनि छैन’ – जतासुकैबाट जवाफ आयो । होटल छन् खाना पाइँदैन। रोटी र ढिंडो केही छैन। आखिर लामा दाइले बल्लतल्ल चाउचाउ बनाइदिए मलाई, बन्दा हाले, प्याज हाले र गोलभेडा हाले। सबैै असाध्य मीठा थिए किनकि तिमीले नै उमारेकी थियौ ती त सबै। भात नै खानुपर्ने हाम्रो मानसिकता किन परिवर्तन भएन ? ‘पिठो त पाइन्छ होला नि, ढिँडो रोटी पकाएर ख्वाए हुन्न होटलमा?’ लामा दाइलाई सोधें मैले। ‘पिठो त पाइन्छ नि तर कोही खानै मान्दैन’ –जवाफ आउँछ लामा दाइबाट। पवित्र माटामा फलेको कोदो, फापर, जौ, उवा, चिनो र कागुनो खान छोडेर किन हामी चीलगाडी चढेको चामल नै खोजिरहेछौं – मनमनै बेचैन बनें म।
खाना खाएर फर्कदा सिडियो साव फेरि कमिले ताँतीको गड्यौला बनिरहनुभएको थियो। ‘पाँच दिन भैसक्यो पर्खेको सा’प आज त चामल देन’ – बूढा दाइ सात पत्र मैल जमेको टोपीभित्र कपाल कन्याउँदै थिए।
‘चामल सकियो, आजलाई पाइँदैन’ – सिडियो सावले घोषणा गरे। युद्धमा हारेको सिपाही बन्दै फरक्क फर्के दाइ। पहिरो गएको उनको अनुहार देख्दा ममा पनि एक हूल अरिङ्गालले चिलेझैं भइरहेछ।
दाइलाई भन्न मन लागेको थियो – ‘भैगो दाइ , चामलको लफडामा सिमकोट धाउनुभन्दा आफ्नै बारीमा कोदो रोप, कागुनु फैलाऊ।’
तर केही भनिन । दाइ सरासर हिँडे।
लटरम्म फलेका स्याउका चेपमा हिंडिरहेका दाइ र दिदीका हातमा हल्लिरहेका रित्ता नाम्लाहरूमा ठोक्कियो कर्णालीबाट उठेको तृषित हावा।
‘आफ्नै आँगनबाट उचाल्न सक्नुपर्छ जिन्दगीलाई, अरूको निगाह र आश्वासन बोकेर बाँचिरहन सक्तैनन् अब नाम्लाहरू’— मैले भनिदिएँ जिल्ला प्रशासन कार्यालय अघिल्तिर ओखरको फेदमा उभिएका एक हूल गाउँलेहरूलाई।
म हुनुको अर्थ अब भोक र प्यासका जञ्जालमा फसिरहनु हुँदैन तिमी।
– सिमकोट, हुम्ला २०६५ भाद्र १८ गते बुधवार।
प्रकाशित: १४ भाद्र २०७८ ०७:४२ सोमबार