कला

परिवर्तन

लघुकथा

इन्दिरा चापागाई

 

“क्षेत्रीलाई दिएछन्, कसरी टिका लाइदिनु हौ जानीजानी। खोला तर्नै मन लागेन।”

मेरो बिहेमा आउनुभएका मामामाइजू जुवाइँ ‘क्षेत्री’ भन्ने थाहा पाएर घरतिरै फर्केको कुरा आफन्तले सुनाउँदा मन खिन्न भयो। एउटी आमा, एउटा मामा। आमापछिको मामा भन्छन्। त्यसमा पनि मलाई त सानैदेखि मावलीले हुर्काएको। मामा र हजुरआमाको धेरै माया लाग्थ्यो।

विवाहपछि मावली गाउँकै छेउ एक आफन्तकहाँ गइयो। हजुरआमा भेट्न जान आँट आएन। ठूलै अपराध गरिएछ जस्तो लाग्यो। मावली घरको छानो देखिन्थ्यो, मजाले हेरें। हजुरआमाको मायाले रुन मन लाग्यो।

“मन नदुखाऊ। समयले उहाँहरूलाई परिवर्तन गर्छ।” बुढाले सम्झाउँदै भन्नुभयो। हामी त्यत्तिकै घर फर्कियौं।

दश वर्ष बित्यो। आखिर  भेट्नै नपाई हजुरआमा बित्नुभयो।  

“दिदी, मेरो छोरा जन्मिएको छ। अहिले प्रसूतिगृहमा छु।” भर्खरै मामाको छोराले खुशी हुँदै फोन गर्यो।

सानामा म उसको हेरालु। खुसीका आँसु आए। हतपत खसीको खुट्टाका सुप र रक्ति, खानदान बट्टामा हाले। आमा र बच्चालाई लुगा थाङ्ना कपडा बोकेर सुत्केरी भेट्न बुढाबुढी गयौं।

अस्पताल पुग्दा मामा मक्ख पर्दै नाति खेलाउँदै, माइजू बुहारीको गोडा मालिस गर्दै हुनुहुन्थ्यो। मामामाइजूको अनुहारको खुसी र सुत्केरीलाई यस्तो माया गरेको देखेर मलाई औधी खुशी लाग्यो।

मेरा उपाध्याय मामाकी बुहारीचाहिँ क्षेत्रीकै छोरी थिई।

          –सभापोखरी– १, संखुवासभा।

प्रकाशित: १३ भाद्र २०७८ ०६:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App