कला

छुटेको रहर

लघुकथा

लक्ष्मीप्रसाद पौडेल

‘ए रमा ! कति हतारो हो, कति बेफुर्सदी तेरा दिनहरू ?’ लामोलामो पाइला सार्दै अघिअघि लम्किरहेकी संगै उमेरकी दौंतरी रमालाई सरिताले हपारी। चिनेजस्तो आवाजले पछ्याउँदै आएको लागेर रमाका पाइला केही सुस्ताए।  

‘धेरै दिनमा दर्शन पाइयो महारानीको!’ सरितालाई कसिलो अँगालोमा बेर्दै रमाले मित्रताको नवीकरण गरी। दुई दांैतरी खेतको आलीको डीलतिर किनारा लागे।

‘साथीले अहिलेचाहिँ सुख देखिछे। गाला पुटुक्क बाहिर आएका छन्। अनुहारमा हिजोको जस्तो व्यग्रता र व्यस्तता छैन। न कालो चायाका डोबहरूले नै गिज्याइरहेका छन्।’ सरिताले रमाका गालामा हात फेर्दै कुराकानी सुरु गरी।  

‘ठिकै छ ! यस्तै हो, सुखदुख !’ रमाले भनी।

‘नानी –बाबु कति भए? कहाँ छन् अहिले ?’  

‘मेरा नानीबाबु – तीन छोरा र दुई छोरी छन्। गाउँ र शहर दुवै ठाउँ फिँजिएका छन्।’  रमा गर्वले फुरुङ्ग भई।

‘आहा, तेरा बुढा हिम्मतिला रहेछन्। ज्यान हरहर भएर निकै तृप्त हुन्थिस् होला है उमेरमा!’ सरिताले चालिसे मादकतामा उन्मुक्त हाँसो हाँस्दै भनी।

‘हैट, तँ कुमारी पठ्ठीलाई कसरी थाहा हुन्छ हँ, यस्ता कुरा।’ रमा केही अनकनाई।

‘ज्यान पो कुमारी ! मन त ––– !’ सरिताले आँखा सन्काउँदै भनी।

‘श्रीमान दैनिकजसो चुस्स बियरको नसामा घर आइपुग्थे। स्वास्नीलाई थाहा छैन भनी ढुक्क हुन अबेरसम्म टिभी हेरेर बिताउँथे। दिनभर घरखेत, घाँसपात र गाईबाख्रा गर्दै बित्थ्यो। बुढी सासू आमाको स्याहार गरेर हत्तु भएको ज्यान रातिको दसएघार बजे बिस्तारामा गएर अडिन्थ्यो। केहीबेरको पर्खाइपछि शरीर बिहानको कुखुराको आवाजमा झस्किन्थ्यो।’ रमा बोल्दाबोल्दै अडिई ।

‘अनि ––– !’सरिताले उत्सुकता पोखी।

‘अनि–––!’ रमा बोल्दै गई। एकडेढ महिनामा पाखा नसरेपछि मात्र थाहा हुन्थ्यो, बुढाले रातिराति गिजोल्दा रहेछन्। के गर्छेस्, आफ्नो चरित्रमा आफैं शंका गर्न नमिल्ने –– ! भयो कुरा नगर्। चरमोत्कर्ष त छुटेको रहर मात्रै भो!

प्रकाशित: १३ भाद्र २०७८ ०५:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App