कला

सोच

लघुकथा

गंगा खड्का

स्वानिकाको बिहेको कुरा चलेपछि वर्ष दिनभित्रमा १० वटा कुरा आए। कति कुरा उसको घरतर्फबाट अस्वीकार गरिए। तीमध्ये  चारवटा चाहिँ  केटातर्फबाट  अस्वीकार गरिए।

उसलाई आफू अस्वीकृत हुनुमा आश्चर्य लाग्यो।

प्रतिष्ठित  हस्पिटलमा रजिस्ट्रार नर्स, कुल खानदान र सुन्दरता आदिले गर्दा त ऊ अरूबाट अस्वीकृत नहुनुपर्ने जस्तो लाग्यो उसलाई। त्यसो त सुन्दर फूलका पछाडि भमरा बनेर पछि लाग्नेका कमी भने थिएन तर  ऊ मागी बिहेकै पक्षमा थिई।

आफ्ना चारवटा कुरा केटाको पक्षबाट अस्वीकार हुनुको राज उसलाई बुझ्न मन लाग्यो। उसले पालैपालो सबै केटासँग यस विषयमा कुरा गरी।

पहिलाले भन्यो ,“तिम्री दिदीले अन्तर्जातीय विवाह गर्नुभएको रहेछ। त्यही भएर हजुरआमाले मान्नुभएन।”

दोस्राले भन्यो,“तिमीहरू छोरीछोरी रहेछौ। भोलिपर्सि ससुरालीको जिम्मेवारी लिनुपर्छ भनेर बुबाले मान्नुभएन।”

तेस्राले भन्यो,“तिमी यति राम्री छौ, बिहेपछि पनि तिम्रा पछि लाग्ने मान्छेको कमी भएन भने हाम्रो सम्बन्ध राम्रो हुँदैन भनेर तिमीसँग बिहे गर्न मन लागेन।” 

सबैभन्दा अचम्म त उसलाई चौथो केटाको कुरा सुनेपछि लाग्यो। उसले भन्यो,“ तिम्रा ममीका छोरीछोरी रहेछन्। कोही त आमा गोता जान्छन् रे। तिमीसँग बिहे गरेपछि तिम्रा पनि छोरीछोरी भए भने वंश धान्ने मान्छे हुँदैनन् भनेर ममीले मान्नुभएन।”

प्रकाशित: १३ भाद्र २०७८ ०२:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App