प्रकाश खड्का‘अभियान’
देखेको, सुनेको सबै साँचो हुँदैन भन्थे। हो रैछ। कि पढेर कि परेर जानिन्छ भन्थे, सोरै आना साँचो रहेछ। त्यो घटना अचम्म लाग्दै थियो। “भेदभाव अन्त्य गरौ” भन्ने कार्येक्रममा सरिता बोल्दै थिइन्। अल्प ज्ञान, सर्वनाश भन्थे। त्यस्तै भएथ्यो दर्शक स्रोतालाई सरिताको कुरा सुनेर।
कुनै दिन मेरी सासू आमाले भन्नुहुन्थ्यो, “तिम्लाई अलिकति पनि धर्मको चेत छैन, बुहारी ? भाडा मिल्छ भन्दैमा जो कोही ऐरेगैरे राख्ने हो ? कुन धर्मको हो ? कुन जातको हो ? बुझेर राख्नु पर्दैन?”
पुरानो मान्छे पुरानै सोच, बदल्न कहाँ सजिलो हुन्छ र भन्ठान्थे मैले।
एकदिनको कुरा हो। हाम्रो अपार्टमेन्टमा कथित तल्लो जातिको जोडी बस्नुहुन्थ्यो। उहाँको लोग्ने काम विशेषले बाहिर जिल्ला जानुपर्थ्यो। उनको दुलहीलाई सुत्केरी व्यथाले च्यापेथ्यो। रातिको समय सुनसान थियो। उनी पीडाले कराइरहेकी थिइन्। सहयोगको याचना गरीरहेकी थिइन् तर ,चरोमुसो कोही गएनन् । मानवता विलुप्त भए जस्तो लागेथ्यो।
तर, पहिले सुडेनी काम गरेकी मेरी सासू आमा त्यहाँ एक्लै जानुभयो। करिब एक घन्टाको पौठेजोरीपछि बच्चा जन्मियो। आमा र शिशु सकुशल थिए। पूरै रात आमा छोराको स्याहार सुसार गरेर बसेकी थिइन्।
छोइए पनि पाप लाग्ला जस्तो गर्ने मेरी सासू आमालाई त्यहाँ देख्दा, म अवाक् थिएँ।
मेरो भावलाई बुझेर उहाले भन्नुभयो, “खै ! मान्छेभित्रको दया, माया स्वार्थले सबै निलेजस्तो छ। मृत्यसंग लडिरहेकी किशोरी आमाको क्रन्दन कसैले सुनेनन् ? अलिकति ढिलो भएको भए, ज्यान जान सक्थ्यो। हैन बुहारी ! हर धर्म, सम्प्रदायमा आमा एकै होइन र ? कि धर्मअनुसार आमाको जात र आत्मीयता पनि फरक हुन्छ ?”
प्रकाशित: ११ भाद्र २०७८ ०७:१४ शुक्रबार