कला

जन्म दिनको उपहार

बालकथा

तारा केसी

 

मैचा फनिचर कारखानामा रंग लगाउने काम गर्थिन् भने हप्ताको दुई चोटि अरूको घरमा लुगा धुने गर्थिन् ।  उनको एउटा छोरा र दुई ओटी छोरी थिए। यसरी दुखजिलो गरेर नानीहरूको पढाइ खर्च र बिरामी लोग्नेको  औषधि खर्च समेत उनले जुटाउनुपथ्र्यो। छोराको पढाइ खर्च भने उनका भाइले व्यवस्था गरेका थिए। अजय कक्षा पाँचमा पढ्थ्यो।

एक दिन कक्षामा अक्षर फोहोर भयो भनेर सरले अजयलाई गाली गर्नुभयो। ऊ ज्यादै दुःखी भयो। उसको कलमले राम्रोसँग लेख्दैनथ्यो। साथीहरूको कलम राम्रो लेख्छ । मेरो कलम राम्रो लेख्दैन। यस्तै कुरा मनमा खेलाउँदै अजय घरमा गयो र आमालाई भन्यो–आमा। मलाई कलम किनिदिनुस् न नत्र म स्कुल जान्न?”

अजयको कुरामा आमाको त्यत्ति ध्यान गएन। उनले चूपचाप सुनी मात्र रहिन्। भोलिपल्ट स्कुल जाने बेलामा माइजूले दराजमा पैसा राख्दै गरेको अजयले देख्यो। उसले सोच्यो यो पैसा निकालेर म राम्रो कलम किन्छु अनि त्यो सरोजले मलाई कसरी जिस्काउँदो रहेछ हेरौन म पनि। ऊ मनमनै खुशी भयो र माइजूको दराजबाट पचास रूपियाँ निकाल्यो र स्कुल गयो। अब म राम्रो लेख्छु र सरको स्यावासी खान्छु। आज ऊ ज्यादै खुशी देखिन्थ्यो।

स्कुलबाट घरपुगेपछि भने अजय झस्कियो। माइजूले पैसा चोरेको थाहा पाउनु भएछ। आमा रिसाइरहनुभएको थियो। उसलाई त्यो दृश्य नराम्रो लाग्यो। आमाले गाली गर्दै भन्नुभयो, “भन्  पैसा किन चोरिस्?”

ऊ डरले केही बोल्न सकेन। आमाले फेरि भन्नुभयो, “माइजूको  पैसा फिर्ता गर् ।”

अजय फुत्त घरबाट बाहिर निस्कियो। ऊ सरासर पसलमा गयो  र कलम  फिर्ता दियो र पैसा माग्यो।  फिर्ता पैसा माइजूलाई दिँदै अजयले भन्यो–“माइजू, यो पैसा लिनुस्। मैले गल्ती गरे। अब म कहिले चोरी गर्दिन्।”

छोराले चोरी गरेको खुलेपछि मैचाले छोरालाई सोधिन्,“अजय, किन माइजूको पैसा चोरेको? चोरी गर्नु राम्रो होइन। किन त्यसो गरिस् बाबुु।”

अजयले रुँदै भन्यो, “आमा!  मैले जहिले पनि पिटाइ खानुपर्छ स्कुलमा।”

–किन?

मैचाले सोधिन्। मेरो कलम राम्रो लेख्दैन र मैले राम्रो अक्षर लेख्न सक्दिनँ । मेरो अक्षर फोहोर भयो भनेर सरले पिट्नुहुन्छ मलाई अनि कलम किन्न माइजूको पैसा चोरेको हुँ।”

छोराको कुरा सुनेर मैचाको आँखा रसायो। उनले छोरालाई सम्झाउँदै भनिन्,“आज सुत। भोलि केही सोचौला।”

त्यो रात अजयलाई निद्रा लागेन। भोलिपल्ट मैचाले कामबाट आउँदा बाटामा अजय साथीहरूसित खेलिरहेको थियो। आमालाई देखेर पनि नदेखेझैं गरिरहेको थियो अजयले। मैचाले अजयलाई बोलाउँदै भनिन्, “अजय घरमा हिँड। मैले तिम्रो लागि केके ल्याएको छु।”

अजयको अनुहार खुशीले चम्कियो। ऊ तुरून्त आमाको साथमा घर गयो। मैचाले झोलाबाट एउटा डब्बा झिकेर अजयको हातमा राखिदिइन्। अजयले डब्बा खोल्यो। त्यहाँ मिठाई र राम्रो कलम थियो। उसले खुसी हुँदै आमासँग सोध्यो,“आज तिम्रो जन्मदिन हो। यो कलम जन्मदिनको उपहार। साथीहरूको अगाडि अब तिमीले सजाय खानु पर्दैन। राम्रोसँग पढ्नु। राम्रो अक्षर लेखेर सरको  स्यावासी खानु। असल मान्छे बन्नु है बाबू।”

अजय मक्ख पर्‍यो र झोला निकालेर खाटमा लेख्न बस्यो। मैचा भान्साको काममा लागिन्। बेलाबेलामा अक्षर देखाउन अजय आमासामु आउँथ्यो। उसको त्यो जोसजाँगर देखेर मैचा खुशी भइन्।

             –काभ्रे पनौती।

प्रकाशित: २ भाद्र २०७८ ०७:४३ बुधबार

अक्षर