कला

शहरिया साथी

लघुकथा

राजु क्षत्री ‘अपुरो’

 

‘म त कतिवटा फिल्म हेरिस् भनेर  सोध्छु ।’ – अन्जु क्षत्रीले भनिन्।  

‘म त फिल्ममा हिरोले गुण्डालाई कुटेको कथा सुन्छुु।’ श्रीधर शाहीले खुशी हुँदै भने।

‘साथीहरू कस्ताकस्ता छन् नि भनेर सोध्छु म त।’ हरि रानाभाट उमंग पोखे।

‘शहरमा त मिठो भाषा बोल्छन् रे नि त!’ हनुमान कार्कीले जिज्ञासा राखे।

‘शहरको पढाइ कस्तो हुन्छ नि भनेर सोध्छु म पनि!’ –चन्द्रमोहन बास्तोला बोल्दै थिए।

म आतुर भएर बोलिहालें– कतै हाम्रा लागि माले भकुण्डो त ल्याइदिएको छैन।’ आज सबैले आआफ्नो उत्सुकता बोकेका छन्।

हो, तीन कक्षा पढ्दापढ्दै हामीसंग छुट्टिएर बाबुआमासंगै शहर पसेको हाम्रो दश बर्से मिल्ने साथी आएको खबर पाएका थियौं। होस सम्हालेदेखि आठ वर्षको उमेरसम्म संगै पढ्यौ,खेल्यौं र रमायौं। हामीबिना ऊ अधुरो, ऊबिना हामी अधुरो, छुट्टिने बेलामा गहभरि आँसु गर्दै बिदाइ भएको थियो ऊ।

हामीले पनि केही दिन त राम्ररी खाना खाएका पनि थिएनौं। ऊ आउने खबरले स्कुल गए पनि कसैलाई पनि पढ्न मन लागेको छैन। मनमस्तिष्क सबै उतैतिर छ। कतिखेर चार बज्ला र उडेर जाऊँ जस्तो भएको छ सबैलाई।

आजको दिन निकै लामो लाग्यो। घडीले चार बजाउन निकै ढिलो गरेको महसुस भयो।स्कुलको समय सकिएपछि तँछाडमछाड गर्दै उसको पुरानो घरमा पुग्यौं।

 – आहा ! नाकभरि सिँगान झुन्ड्याउने साथी कति राम्रो भएछ। सुकिला लुगा लगाएको कुनै राजकुमार जस्तो देखिएको। अझ आफ्नी आमासित कति मीठो शहरिया भाषा बोलेको।

‘ल साथीहरूसँग खेल है’ भन्दै उसकी आमा भित्र पसिन्। हामीले उसलाई घेरेर अँगालो मार्यौ। उसले अलि अप्ठ्यारो मानेजस्तो लागेर “ए विक्रम ! हामी तेरो साथी के त,  कस्तो नचिनेको ? ल,भुलेछ कि के हो यसले त?’ हनुमानले भने।

मैले उसलाई पाखुरा समाउदै भनेँ –विक्रम,जाऊँ हिँड खेल्न।’

उसले मेरो हात छुटाउँदै भन्यो – ‘हेर्सियोस् न मम्मी, यी पाखेहरूले टर्चर गरेर हैरान पारिसके।’

प्रकाशित: ३१ श्रावण २०७८ ०५:४८ आइतबार

अक्षर