कला

तुलना

लघुकथा

नारायण कोइराला

 

म गाउँबाट शहरतिर हिँड्दै थिए । एक हुल बाँदर रोडमा आए। यी सबै बाँदरहरू जोसमा थिए। बाटो नै बन्द गरेको हुँदा मलाई रिस उठ्दै थियो।

– बाँदरहरुको भीडमा मेरो रिस गौण रहयो।

बाँदरहरू एक – आपसमा रमाउँदै  थिए।

– त्यस्तैमा एउटाले थप्यो,“मानिसभन्दा त  बाँदरको शक्ति बढी हुँदोरहेछ।”

– बाँदरहरू रोडमै नाच्न थाले।

मलाई बाँदरका गतिविधि देखेर हाँसो आएको थियो। बाँदरको हुलमा कसरी हाँस्ने? मैले हाँसो दबाएर राखेको थिए। बाँदरहरू वितण्डा मचाइरहेका थिए।  

बाँदरको नाइके आएपछि शान्त भयो। म यही मौका हो भनेर सुइँकुच्चा ठोके।

प्रायजसो त्यो बाटो म आउने –जाने गर्थे। आजभोलि बाँदरहरू मौन थिए। रोड पनि सुनसान थियो। न त कुनै हल्ला न त कुनै स्वर।

 – होइन के भयो? मैले बाँदरहरू मौनता भंग गर्दै सोधे, ‘उत्तर  नै आएन। बाँदरहरू भोक र प्यासमा तड्पिएजस्तो देखे।

एउटा बाँदरले मेंरो हातमा रहेको फलफूलतिर हेरिरह्यो।

फेरि म एकपल्ट सोधें– के भयो ?

बीचबाट आवाज आयो– हाम्रो सरकार गयो।

बाँदरहरूको पनि सरकार हुँदोरहेछ भनेर हल्का हाँसो लाग्यो। दुःख परेका बाँदरको सामुन्ने हाँसेर पुरुषार्थ देखाउन चाहिन। हातमा भएको फलफूल बाँदरहरूलाई दिए।

बाँदरहरूको अवस्था देखेर मस्तिष्कमा केही कुरा ठोकियो। मानिसहरू र बाँदरको सरकारलाई  तुलना गरी प्याच केही भन्न  सकिन। मनमा नै कुरा दबाए।   

प्रकाशित: १६ श्रावण २०७८ ०८:०८ शनिबार

अक्षर