शोभा कडरिया कोइराला
सानु घर नजिकैको स्कूलबाट ५ पास भइन्। ६ कक्षामा उनी अलि परको स्कूल भर्ना भइन्। नयाँ स्कूल। साथी पनि थिएनन्। बीस मिनेटको बाटो खोला र जङ्गल पार गर्दै जानुपथ्र्यो। मजुवा नपुगुञ्जेल उनको मनमा डर हुन्थ्यो। मजुवा पुगेपछि मिल्ने साथी विजया भेटिथ्निन् अनि एक घन्टा सँगै हिँडेर स्कूल पुग्थे।
एक दिनको कुरा हो, स्कूल छुटेर सानु विजयासँगै मजुवा आइपुग्दा साँझको पाँच बजेको थियो। मजुवा खेतको डिलबाट पारि सानुको गाउँ सगाहा देखिन्थ्यो। त्यहाँबाट एक्लै हिँड्न उनलाई गाह्रो लाग्थ्यो। एकछिन त्यहीँ उभिएर कोही आउँदै छन् कि, साथी पाइन्छ कि भनेर विचार गरेर सानु हिँड्थिन्। त्यस दिन पनि उनी त्यहाँ उभिएर पारि नियाल्न थालिन् तर धेरै समय कुर्दा पनि कोही देखिएनन्।
सानुलाई भोक लागिसकेको थियो। बिहान आठ बजे खाएपछि उनको पेटमा केही परेको थिएन। पैसा हुँदा त मेघराज बाको होटलमा पसेर चना, केराउ र चुकाउने खान्थिन्। कहिले तानसिने आमाको पसलमा बिस्कुट पनि खान्थिन् तर त्यस दिन केही खान पाएकी थिइनन्।
मेघराज बाकोमा र तानसिने आमाको पसलमा उल्टै उधारो तिर्नु थियो। त्यसैले सानु र विजया फरक बाटो हिँड्थे। सानु भोकले बोल्नै नसक्ने भइन्। एक घन्टासम्म बाटो हेरेर बस्दा पनि बाटामा कोही देखापरेन।
उनले अर्को बाटो सम्झिन्। तल्ला घरे कान्छा बा खरबारी घुम्न आएको बेला पर्न सक्छ भन्ने आशा गरिन्। बिस्तारै बोझा आमाको घरसम्म पुगिन्। त्यहाँबाट पनि कसैलाई देखिनन्। बाटामा जङ्गल थियो। झन् डर लाग्यो। फर्केए पुरानै ठाउँमा आएर बसिन्।
धेरैबेरपछि जेसुकै होस् भनेर फेरि पाइला अगाडि सारिन्। मुटुको ढुकढुकी बढिरहेको थियो। फेरि एकपटक कसैलाइ देखिन्छ कि कि भनेर हेरिन् । चौपारीमा एकजना बूढो, कालो मान्छेले हेरिरहेजस्तो मानिन्। डरले पाइला पछाडि सारिन् । त्यो मान्छे गएपछि जाउँला भन्ने सोचिन् तर त्यो जाँदै गएन। हेरेर बसिरह्यो।
सानु निकै डराइन् र अलिबेरपछि हिम्मत जुटाएर अगाडि बढिन्। जे परे पनि सामना गर्छु भन्ने आँट लिएर अगाडि बढिन्। जब त्यो मान्छे नजिक नजिक पुग्न लागिन् मुटुको धड्कन् बढेर बाहिरै सुनिन थाल्यो। जब उनी हातमा लौरो लिएर त्यो ठाउँमा पुगिन् तब आश्चर्यमा परिन्। लौरो फालेर थचक्क बसिन्। लामो सास फेरेर एक छिन् दिल खोलेर हाँसिन्। त्यो मान्छे त रुखको ठुटो पो रहेछ।
प्रकाशित: १५ श्रावण २०७८ ०२:४३ शुक्रबार