कला

एक बाकस सपना

कविता

   टंक सुवेदी

 

एकाबिहानै उनले सबै घर लिपिन्

आमाले खाना बनाउनुभयो

सातु, सिन्की र केके पोको पार्नुभयो  

बा गाउँतिर गएर

छत्तिसेको दरमा पैसा ल्याउनुभयो

बहिनीहरू माला गाँस्न थाले

भाइले जुत्ता टल्काइदियो

भाउजू भित्रबाहिर गरिरहिन्  

दाइले केके सोधिरह्यो

पैसा त पठाउँछस् नि?

 

आमाले बाकसबाट पैसा दिँदा

बाखाबोमा उभिएर टोलाउँदा

छोराछोरीले किन जाने सोधपुछ गर्दा

श्रीमतीले इसारा गर्दै संगै बस्न बोलाउँदा

कोही भन्दै थिए – छिटो जा गाडी छुट्छ  

लँगौटिया साथीहरू जिस्किरहे

सेल्फी खिच है हाहाहाहा

उनी रुन थालिन् डाँको छोडेर  

मैले फकाइरहे पैसाको बाकस सोचेर

नरम मन कडा घाममा सेकियो

एकदुई पटक फर्कने चिठी पनि लेखियो

बुबा बित्नुभएछ छोरा सम्झेर

आमा बेहोस हुनुहुन्छ रे आकाश खसेर

मैले फर्किने दिन गनिरहे औंला भाँचेर

विदेशमा एकजना माथिबाट खसेछ

उपचार नपाई त्यत्तिकै महिनौ बसेछ

कालो बाकस छाम्दै सानो छोराले सोध्यो

एक बाकस पैसा त आयो बाबा खै ...?

प्रकाशित: १४ श्रावण २०७८ ०३:४४ बिहीबार

अक्षर