कला

काव्यिक माधुर्यमा ‘छेस्का’

विधा

टंकप्रसाद पन्थ

 

  विषयप्रवेश

 

मानिस वास्तवमै सिर्जनशील प्राणी हो। मानव सभ्यताको उठानमा भाषा, कला, संस्कृति, साहित्य, गीतसङ्गीत आदिजस्ता कुराले मुख्य कडीका रूपमा काम गरेको पाइन्छ। साहित्य भन्नु मानवीय प्रतिभाद्वारा सिर्जित एक कलात्मक भाषिक अभिव्यक्ति हो। आफूभित्र भएका भावनालाई कुनै पनि माध्यमद्वारा प्रस्तुत गर्नु पनि मानवीय स्वभाव हो। यसरी सिर्जनामा लाग्ने क्रममा कलाका नयाँनयाँ प्रयोगतर्फको रुझान पनि स्वाभाविक रूपमा मानिसमा देखिने गर्छ। यसैको कारण साहित्यका गद्य–पद्य विधाका क्षेत्रमा समयक्रममा नवीन मान्यता थालनी हुनुका साथै सिर्जनात्मक अभ्यासहरू हुँदै आएको देख्न सकिन्छ। अझ हेर्दा कविता विधामा नयाँनयाँ प्रयोगतर्फको रुचि पनि प्रशस्त रूपमा भएको देख्न सकिन्छ।

छन्दलाई अनिवार्य स्वीकारिएको कविताका परम्परामा विविध स्वरूप र संरचनातर्फका प्रयोगहरू भएको देख्न सकिन्छ। पछिल्लो दुई–तीन वर्षका बीचमा स्रष्टाहरूमा नवनव प्रयोगतर्फको चासो र आकर्षण बढेको देख्न सकिन्छ। केही समय यता विश्वव्यापी महामारी कोभिडको कारण उत्पन्न असहज परिस्थिति तथा बन्दाबन्दीभित्रको बसाइ अनि सामाजिक सञ्जालको उपयोगको परिणामका रूपमा पनि यी अभ्यासलाई लिन सकिन्छ। यसै शृङ्खलामा पछिल्लो समयमा नवीन संस्करणका रूपमा जन्मिएको छ ‘छेस्का’। काव्यिक माधुर्यमा ‘छेस्का’ले राम्रै स्थान लिन प्रशस्त सम्भावना देखिन्छ।

कविताको नवीन अनि सूक्ष्म रूप ‘छेस्का’लाई जन्माउने श्रेय साहित्यकार विनोद नेपाल ‘बैगुनी’लाई जान्छ। उहाँले सामाजिक सञ्जालमा सम्प्रेषण गरेसँगै यसतर्फ अन्य स्रष्टाहरूको पनि रुचि र आकर्षण बढ्दै गएको देख्न सकिन्छ। अहिले स्रष्टाहरूको उत्सुकता हेर्दा ‘छेस्का’ लोकप्रियताको शिखर चढिरहेको अवस्था देखिन्छ।

 

छेस्का परिचय  

छेस्काको शाब्दिक अर्थलाई हेर्दा नेपाली बृहत् शब्दकोशले ‘दाउरा वा काठपातका आदिका मसिना टुक्रा, झिँजामिँजा, झिँजाझिँजी, टुक्राटुक्री’ आदिका रूपमा लगाएको पाइन्छ। यस्ता छेस्का स्वरूपमा सानामसिना भईकन पनि च्वास्स घोच्ने प्रकृतिका रहेका हुन्छन्। साहित्यमा  खास प्रकृति र संरचनाको स्वरूपलाई छेस्काको नामकरण गर्ने काम पनि सर्वप्रथम विनोद नेपालबाटै भएको पाइन्छ। २ असार २०७८ को साहित्यपोस्टमा प्रकाशित ‘छेस्का’को परिचय तथा यसको लेखनका सम्बन्धमा स्वयम् विनोद नेपालको यस्तो धारणा रहेको पाइन्छ – “हाइकुको अभ्यास गर्ने क्रममा एकदिन ५–५–५ अक्षर संरचनाको एउटा शब्द समूहले चस्स छोएपछि त्यस सिर्जनालाई छेस्का नाम दिएर मुहारपुस्तिकाको भित्तामा राखेसँगै छेस्का सार्वजनिक सम्पत्ति भएको हो। त्यो दिन थियो २०७६ साल मंसिर २४ गते।” यस कुराको आत्मस्वीकृतिलाई हेर्दा यस प्रकारको संरचनागत ढाँचाले पनि साहित्यिक स्वरूप धारणा गर्ने देखेर सार्वजनिक गरिएको उल्लेख पाइन्छ।

यसैगरी २०७७ साल पुस २५ गते नागरिक न्युज डट कममा प्रकाशित भएपछि यो औपचारिक रूपमा प्रकाशनमा आएको देखिन्छ । मूलतः हाइकु लेखनको अभ्यासका क्रममा पाँच, सात, पाँचको संरचनागत अभ्यास गर्दैगर्दा पाँचपाँच अक्षरको त्रिपदीय संरचना निर्माण हुन पुगेको र यस्तो संरचनाबाट पनि सुन्दर भावको अभिव्यक्ति हुन सक्ने देखिएकाले यसलाई अभिव्यक्तिको तहमा ल्याइएको र नाम राख्ने सम्बन्धमा सानो स्वरूपद्वारा मनको भावलाई प्रकाशन गरी सामाजिक क्षेत्रमा मक्किएर रहेका विसङ्गतिहरूलाई प्रहार गर्ने ध्वन्यार्थकै तात्पर्यमा यसलाई ‘छेस्का’ नामकरण गरिएको कुरा स्पष्ट हुन्छ। २०७८ साल वैशाख ३१ गते अक्षय तृतीयाका दिन ‘छेस्का साहित्य’ नामक फेसबुक समूह खोलेपछि यस समूहमा क्रमशः  स्रष्टाहरू जोडिई छेस्काहरू सम्प्रेषण गर्दै आएको देख्न सकिन्छ ।  

छेस्का –  संरचना, प्रवृत्ति र प्रयोग

छेस्का कविताको एक सूक्ष्म उपविधाअन्तर्गत पर्दछ। हाइकु लेखनकै प्रभावमा यस संरचनाको निर्माण भएकाले यसको पंक्तीय संरचना र अक्षरहरूको गणना पनि हाइकुकै प्रभावबाट निर्मित भएको पाइन्छ तर  हाइकु र छेस्काको रूपविन्यासका साथै शैलीशिल्पगत प्रकृति र अक्षर वितरणको परिपाटीचाहिँ पृथक् रहेको स्पष्ट हुन्छ। छेस्का भर्खरभर्खर व्यवहार र अभ्यासमा आएको हुनाले यसको आधिकारिक सैद्धान्तिक मान्यता बनिसकेको छैन तापनि यसका जन्मदाता विनोद नेपाल र यो विधामा समर्पित केही सर्जकका अभ्यासगत स्वरूका नमुना र छिटफुट मान्यतालाई हेर्दा यसले सैद्धान्तिक आधार ग्रहण गर्न थालेको पाइन्छ।  

‘छेस्का’को संरचनागत ढाँचालाई हेर्दा  पाँच–पाँच–पाँच अक्षर वितरण भएको त्रिपदीय संरचनामा यो बाँधिएको हुन्छ। हाइकुमा जस्तो पाँच, सात, पाँचको असमान पंक्तिविन्यासको अवस्था नभई यसमा तीनवटै पंक्तिमा समान प्रकृतिको आक्षरिक विन्यास हुन्छ। यसको लेखनका क्रममा प्राकृतिक, सामाजिक, सांस्कृतिक आदि क्षेत्रबाट बिम्ब, प्रतीक र सङ्केतहरूको छनोट गरिन्छ। यसको संरचनागत ढाँचा र सम्प्रषेण गरिएका नमुनातर्फ दृष्टि दिँदा अनुप्रास विन्यासतर्फको मोह यसमा बढी देख्न सकिन्छ। यस्तो अनुप्रासीय विन्यासलाई हेर्दा मुख्यतया पहिलो र तेस्रो पंक्तिमा बढी ध्यान दिइएको पाइन्छ तर यसको रचनाका क्रममा पहिलो र दोस्रो, दोस्रो र तेस्रो अनि पहिलो, दोस्रो र तेस्रो गरी तीनवटै पंक्तिमा पनि अनुप्रासको प्रयोग गर्न सकिन्छ ।  

सामान्य प्रकृतिको अभिव्यक्ति र साहित्यिक अभिव्यक्तिमा पाइने भिन्नताको प्रमुख कडी भन्नु नै त्यसमा हुने कला वा सौन्दर्यको पाटो हो। साहित्यमा हुने अभिव्यक्ति सामान्य सम्प्रेषणका लागि नभई खास प्रयोजन र सौन्दर्यको निर्माणमा केन्द्रित हुने हुनाले यसमा कलापक्ष जीवन्त भएर आएको हुन्छ। यस कुराबाट छेस्काको रचना पनि अलग्गै रहँदैन।  

छेस्काले समेट्ने विषयको कुनै सीमा छैन अथवा छेस्काहरू जुनसुकै विषयमा केन्द्रित हुन सक्छन्। हाम्रो समाज, प्रकृति, राजनीति, संस्कृति, भूगोल, परम्परा, विकास निर्माण, भ्रष्टाचार, देश, परिवेशका साथै विश्व र सिङ्गो ब्रह्माण्डका कुराहरू यसको विषय बन्न सक्छन्। विनोद नेपालद्वारा प्रस्तुत मान्यता यस्तो रहेको छ – “यसमा प्रकृति लेख्न सकिन्छ। समाज–सामाजिक परिवेश लेख्न सकिन्छ । दुःख, पीडा, खुसी, आक्रोश र सुधार सुझाव लेख्न सकिन्छ। यसले सामाजिक, प्रशासनिक, राजनीतिक यथार्थ एवम् विकृति–विसङ्गतिमाथि चोटिलो प्रहार गर्नुपर्छ, छेस्काले जस्तै चुस्स घोच्नुपर्छ र पाठकलाई आफ्नो अनुभूति नै लेखिएको वा आफ्ना आवाज प्रतिनिधित्व गरिएको महसुस गराउनुपर्छ भन्ने यसको मान्यता हो।”  

यसको अर्थ छेस्का कुनै पनि विषय र भावभूमिमा निर्माण हुन सक्छन् तर तीन पदको पन्ध्रअक्षरीय संरचना आफैमा पूर्ण र खास विषय र विचारको सम्प्रेषण गर्ने खालको हुनुपर्दछ। छेस्कामा प्रत्येक पन्ध्र अक्षरीय संरचना आफैमा पूर्ण स्वरूप हो र यसले जोड्ने विषय, क्षेत्र अनि प्रकट गर्ने भाव वा विचार आफैमा पूर्ण सङ्कथन हो। यसमा प्रयोग हुने आक्षरिक सङ्ख्याको निर्धारणका सम्बन्धमा पनि खास आधार रहेको पाइन्छ । लेख्य परम्परामा अजन्त हुने अक्षर वा सग्लो अक्षरलाई आक्षरिक मानक संरचना मानिन्छतर आधा अनि हलन्त अक्षरलाई आक्षरिक संरचनामा गणना गरिँदैन। अक्षर गणनाको मोहमा अनावश्यक रूपले शब्दको खुट्टा काट्ने र अक्षरलाई भाँच्ने कुरालाई त्यति राम्रो मानिँदैन। भाषाको मानकीकृत रूपको प्रयोगका साथै शुद्ध र स्तरीय लेखनतर्फ स्रष्टाहरू स्वयम् सचेत र जिम्मेवार बन्नु आवश्यक देखिन्छ।  

‘छेस्का’मा भएका प्रयोग र केही नमुनालाई यहाँ उदाहरणसहित प्रस्तुत गरिएको छ।

    विनोद नेपाल  

 

     अनौठो मेल                 गोधूलि साँझ

     तोरी र कोदो               एक्लो बटुवा

     पानी र तेल।                मायालु याद।

यी दुवै नमुनामा  पहिलो र तेस्रो पंक्तिमा अनुप्रासको प्रयोग हुनुका साथै बिम्बका साथमा खास विचारको मर्म उद्घाटन भएको पाइन्छ। पहिलो नमुनामा प्रकृति र प्रवृत्ति नमिल्नेहरूका बीचको अपवित्र गठबन्धनप्रति कटाक्ष गरी सामाजिक विकृतिको उजागर गरिएको छ। दोस्रो नमुनामा प्राकृतिक बिम्बद्वारा एक्लो र उदास प्रेमीको व्यग्र अवस्थालाई प्रस्तुत गरिएको पाइन्छ ।

केही सर्जकका छेस्का –

        किशन पौडेल           ओम आचार्य    

          घर सल्काई                           हातमा फोरा  

         के भो असुल ?                        काँधमा बोरा

          मन जलाई !                           खाडीमा छोरा  

 

       हृदय लेकाली          खगेन्द्र बस्याल  

        असार पन्ध्र                       नेपाली गाथा    

        सम्झायो रीति                    पर्याप्त लाग्छ    

         दही चिउरा।                     सगरमाथा।      

 

      एलपी पराजुली          मुरारीराज मिश्र    

         घमण्ड घाँडो                          चाँदनी रात    

       विपत्ति खोज्छ                            प्रियाको साथ    

        ढिलो वा चाँडो।                        छर्लङ्गै रात ।    

 

 जयनारायण नेपाल         टंक पन्थ  

 बिग्रियो मति                               चस्स बिझायो

 कुबाटो हिँड्दा                           फुट्यो पेटारो  

  आफ्नै दुर्गति।                            राम्रै गिजायो !  

 निष्कर्ष

छेस्का पछिल्लो समयमा नेपाली कविताको उपविधाका रूपमा प्रयोगमा आएको कविताकै एक सूक्ष्म भेद हो। पछिल्लो समयमा नेपाली कविताका  क्षेत्रमा नयाँनयाँ प्रयोगहरू अभ्यासमा आउनु सुखद् कुरा हो तर यस्ता नयाँ प्रयोगहरूलाई सैद्धान्तिक आधारमा बाँधी निरन्तर प्रयोगमा ल्याइयो भने लामो समयसम्म अस्तित्वमा रहने र लोकप्रिय बन्ने कुरामा दुई मत हुँदैन। छेस्काको हकमा यसको निरन्तर विकास र सैद्धान्तिक आधार निर्माण भएमा नेपाली साहित्यमा नवीन आयाम थप्ने कुरा विश्वास गर्न सकिन्छ। यसको गरिमा वृद्धि र सौन्दर्यीकरण यसमा लागेका स्रष्टाहरूको जिम्मेवारी हो।

प्रकाशित: १४ श्रावण २०७८ ०३:०५ बिहीबार

अक्षर