कला

बसाइँ हिँड्ने आकाश

कविता

   सिरेन वान्तावा 

 

मबाट लुकीलुकी  

आकाश बसाइँ हिड्दारहेछ  

सुमेरु पर्वतको पाखाभरि  

कैरव नमुस्कुराउँदा  

बसुन्धरा फाटिन्दोरहेछ  

डार्विनको छात्तीमाथि

तितीक्षा आकाश नपाएर  

सौदामिनी रुँदारहेछ  

भर्जनीको बग्रेठोभरि

साम्राज्यको देश खोज्ने  

कोलम्वोसको पाइतलाले  

अनिर्वचनीय जग्गा कुल्चन्दारहेछ।  

सुवा हिडिम्माको कुपुत्र अमीर भीम  

एकलव्यको बुढो औंलाले भोक मेटाउँछ

मेरो लासको तिलाञ्जली भाडोमा

द्रोणाचार्यको धनुषकाणले हानेर  

रक्सी बोतलको बिर्को खोल्ने छु  

बुइँगलका परेवाहरू स्वागत गर्न ओर्लन्नेछन् आँगनमा  

रातो भाले धुरीमाथि पखेटा फटफटाउनेछ  

अधिरोही सेवतीलाई  

फुङ्गा बाता र भाडामा लगाएर आगो बाल्छु  

पारिजातलाई तिनपानेले भिजाएर  

देउरालीमा उमार्न सक्नेछु  

पुजिएका अद्भूत जड ढुङ्गाहरू छोपिन्ने छन्

लुक्दैलुक्दै बसाइँ सर्ने आकाशको  

मुलबाटो पछ्याएर  

हरपल खोजिबस्नेछु  

सुषुप्त  स्वयम्भूको  

अनिमिष नयनभरि।                     

प्रकाशित: ११ श्रावण २०७८ ०६:५९ सोमबार

अक्षर