कला

मन त तब मात्र दुख्दो रहेछ

कविता

अजित क्षेत्री

 

विष्टका फाटेका मैला लुगालाई  

यिनै हातले छाम्दै सिलाएँ  

अहँ घिन लागेन

सिउँदा कैयन् पल्ट सियोले औंला कोपियो

अहँ दुखेको महसुस भएन

मेसिनमा घन्टौं बस्नुपर्दा बेसरी ढाड दुख्यो

तर,

अहँ मन दुखेन

आफू दस ठाउँ फाटें  

जीवन दस ठाउँबाट उध्रियो  

तर आफ्नो परवाह नगरी सिलाइरहें  

विष्टका फाटेका लुगा

चाडवाडको शुभ साइत नभनी खटिइरहें

विष्टका सेवामा

फोक्सो फुकुन्जेल फुकेर बालें आगो,

बनाएँ कोइला

र टल्काएँ इस्त्री लगाएर विष्टका कपडा

सियोसंग खेले, कोइला र तातो इस्त्रीसंग खेलें

अहँ तातोले पोलेन

अहँ पीडाले मन दुखेन

मन त तब मात्र दुख्दो रहेछ

जब मेरै छोरीको हातबाट

विष्ट कपडा लिनुहुन्छ

मेरै अगाडि पहिरिनुहुन्छ

मेरै दलिनमा झुन्ड्याएको ऐनामा हेर्नुहुन्छ

र, मेरो ज्याला भने मेरो हातमा पर्ने गरी अलग्गै फालिदिनुहुन्छ

 

मन त तब मात्र दुख्दो रहेछ

जब विष्ट मेरी चौध बर्से छोरीलाई तिमी भन्नुहुन्छ

म साठी बर्से वृृद्धलाई तँ भन्नुहुन्छ  

मन त तब मात्र दुख्दो रहेछ !

प्रकाशित: १० श्रावण २०७८ ०७:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App