कला

फलादेश

लघुकथा

विष्णु  उप्रेती

 

एउटा सुसज्जित फराकिलो कोठामा सोमनाथकी ११ कक्षामा पढने छोरी मीरालाई सुताइएको थियो। उनी २५ दिनदेखि बिमारी भएर इन्तु न चिन्तु थिइन् । खानु पिउनु , बोल्नु,केही थिएन। बिनानिन्द्रा आँखा चिम्लेर सुत्नु मात्र थियो उनको काम। शरीरमा हाडछाला मात्र थियो।।

बिहान ९ बजेतिर नाताले दाजु पर्ने तर मीरासंग सारै मिल्ने साथी मिलन , उनलाई भेट्न त्यहाँ आए र मीरालाई बोलाए। मीराले पुलुक्क हेरिन् । फेरि कोल्टे फर्केर आखा चिम्लिन्। मिलन छेउमा बसेर मोबाइल खेलाउन थाले। युटयुव बज्न थाल्यो उनको मोबाइलमा। एउटा भिडियो बज्यो  मिराले सुन्ने गरी।

भिडियो भन्दै थियो –अब म विद्वान वैज्ञानिक र जोतिषीहरूले धेरै अनुसन्धान गरी प्रमाणित गरेको सपनाको फलबारे बताउँछु।  सपनाको कुरा कसैलाई विश्वास नलाग्ला तर यो  फलित हुन्छ नै। यदि सपनामा कोही मानिस रातो घोडामा चडेर दक्षिण दिशा  गयो भने  छ महिनाभित्र उसका सबै इच्छा पूरा हुन्छन्। जागिर हुन्छ, विवाह हुन्छ र सन्तान हुन्छ।

मीरा यति सुन्नासाथ  हँ भन्दै जुरुक्क उठिन्। आँखा खोलिन्। अनुहार उज्यालो भयो। मिलनलाई पानी मागिन्। मिलनले ग्लुकोज पानी  दिए । उनले एकैसासमा पिइन्।  मुस्काइन्। सबैजना चकित भए, खुसीको सीमा रहेन।

यो सब प्रपञ्च योजना एकजना मनोचिकित्सकले मिलाएका थिए। सोमनाथले यो छोरी बिमारी भएपछि उपचारमा लाखौं पैसा पानीसरी बगाएका थिए। गाउँका हेल्थपोस्टदेखि टिचिङ अस्पतालसम्म पु¥याए। धामीझाँक्री  झारफुक धेरै गरे। अन्तमा मनोचिकित्सकमा पुगे।

मनोचिकित्सकले घरका सबैसंग विभिन्न कुरा सोधेर बिमार पत्ता लगाए।  मिरा बिमारी हुनु अगिल्ला दिन  मिराले आमालाई  सपना सुनाउँदा आमाले रातो घोडा चडेर दक्षिणतर्फ गएको देखियो भने छ महिनाभित्र मरिन्छ भन्ने फलादेश सुनाएकी थिइन् ।         

प्रकाशित: १० श्रावण २०७८ ०६:०९ आइतबार

अक्षर