कला

घडी चरो

बालकविता

चन्द्रमा पौड्याल

 

धेरै पहिला मै चरीको थियो अर्कै नाम,

समयको ज्ञान दिने मेरो मुख्य काम।

 

घण्टा–घण्टा विचार गरी जनाउ दिन्थे मैले,

घडी चरो नाम थियो सबले माया गर्थे। 

 

शीरमा सुन्दर सिउर छ रङ्गीचङ्गी पङ्ख,

बेला बित्ने हो कि भनी सधैं हुन्छु चङ्ख।

 

पुर्खादेखि गरिल्याको छोड्या छैन कर्म,

मानिसले बुझ्न छोडे आजकल मेरो मर्म।

 

उहिले थिएन घडी यन्त्र मेरै भर पर्थे,

धनी– गरीब, साना–ठूला सब्ले पाल्ने गर्थे।

 

मान्छेभन्दा चाँडै सुत्थँे बिहान चाँडै बास्थेँ,

मेरै डाँको विचार गरी मान्छे काम थाल्थे ।

 

ढिकी,जाँतो, मेला,पर्म , बजार यात्रा गर्दा,

पाठशाला, भात, भान्सा सबै काम गर्दा।

 

मेरै स्वरको कदर हुन्थ्यो बेला बुझ्नलाई,

अचेल कसले सुन्छ मेरो मधुर स्वरलाई।

 

अचेल मेरो कामभन्दा ज्यानको महत्व छ,

स्वतन्त्र म छैन अचेल खोरमा बस्नुपर्छ।

 

आज  कति बढ्यो भनी मान्छे दिन गन्छन्,

बिर्सिएछन् मेरो नाम ‘भाले’ मात्र भन्छन् ।

प्रकाशित: २४ असार २०७८ ०६:०४ बिहीबार

अक्षर