प्रभा भट्टराई आचार्य
हुन्छन् शब्द अनेक यो भुवनमा प्यारा र राम्रा तर
यौटै शब्द छ शब्दकोश भरिकै आमा अहा सुन्दर
साँच्चै ‘आमा’ भन्ने शब्द सुन्नेबित्तिकै मनको मौसम अचानक नै बदलिन्छ, तरङ्ग उठ्छ, मनमा सकारात्मक छाल र लहरहरू दौडन्छन् मनभरि र यो सृष्टिलाई धन्यवाद दिन मन लाग्छ, जसले आमालाई जन्मायो आमा नभए शायद जीवन हुन्नथ्यो, जीवन हुन्नथ्यो त शायद केही पनि हुन्नथ्यो । हरेक मानिसको जीवनमा सर्वोपरि भूमिका रहन्छ आमाको। कुनै पनि कविले कुनै न कुनै बेला आमाका बारेमा कविता वा केही न केही लेखेकै हुन्छ, किनकि उसको सबैभन्दा नजिकको र सबैभन्दा गाढा नाता भनेकै आमासित हुन्छ र उसले पहिलोपल्ट देखेको अनुहार र पहिलोपल्ट बोलेको शब्द पनि ‘आमा’ नै हुन्छ।
सन्ततिले आमालाई बुझिदिए, माया गरिदिए, सम्मान गरिदिए आमा हुनुको गौरव अझै दुगुना हुन्छ । एउटी भाग्यमानी र गौरवशाली आमा हुनुहुन्छ इन्दिरा, जसका सुपुत्रले उहाँकै अगाडि, उहाँकै निम्ति काव्य लेखेर हातैमा समर्पण गरिदिएका छन् । यो कति रमाइलो र गौरवमय क्षण होला आमाका निम्ति ? म कल्पना मात्र गर्न सक्छु, शब्दमा व्यक्त गर्न सक्दिनँ । भाग्यमानी र सम्मानित आमालाई बधाई ज्ञापन गर्दछु, जसले ज्ञाननिष्ठ र कर्मनिष्ठ सन्तान पाउनुभएको छ।
अहिले मेरा हातमा तिनै सन्तान कवि ज्ञाननिष्ठ ज्ञवालीको काव्य ‘आमा’ छ, जसका बारेमा केही लेख्नुपर्ने छ। मलाई यसको चिरफार गर्नु छैन, पूर्वीय–पाश्चात्य काव्यसिद्धान्तका कसीमा घोट्नु छैन, समालोचना गर्नु छैन, गल्ती औंल्याउनु र सच्याउनु पनि छैन, यी सबै कुरा काव्य पाठककहाँ पुगेपछि स्वतः हुँदै जालान् । म खालि पठन र आस्वादनपछिको अनुभूति मात्रै व्यक्त गर्न सक्छु अहिलेलाई।
प्रस्तुत काव्य आठ सर्गमा विभाजित छ । कविले प्रत्येक सर्गलाई एकएक शीर्षक दिएका छन्, जसबाट यस सर्गभित्र के पढ्न पाइन्छ ? भन्ने अनुमान पाठकले गर्न सक्छ । अद्वैत वेदान्तका धुरन्धर पिताका पुत्र ज्ञाननिष्ठले आफ्नो काव्यको आरम्भ पाँच श्लोक मङ्गलाचरणबाट गरेका छन्। कविले आफ्नो सर्वस्व भनेकै आमा हुन् भन्दै यसरी आफ्नो काव्यलाई आमामा समर्पित गरेका छन्
माता तिमी हौ र पिता तिमी हौ
नाता तिमी नै र संँगी तिमी हौ
विद्या तिमी हौ धनधान्य नै हौ
आमा तिमी शाश्वत सत्य त्यै हौ
(सर्ग १, श्लोक ५)
दोस्रो सर्गमा आमासँगै नेपाल आमाको समेत महिमागान गरेका छन् । मातृत्त्वको प्रशंसा, सङ्घर्षको चर्चा, त्याग र समर्पणका शृङ्खला, माता र मातृभूमिको श्रद्धा एवं यी सबैप्रतिको कृतज्ञता काव्यमा विषयवस्तुका रूपमा स्थापित भएका छन् ।
‘पापा’भनी भोजन ती खुवाई
‘किरी’भनेरै कमिला चिनाई
‘कका’ भनेरै कखरा सिकाई
‘बोल्छिन्’ नुनु शब्दसँगै सुताई
(सर्ग २, श्लोक १४)
यसरी बालबोलीलाई टिपीटिपीकन कविले बाल्यकालको स्मरण गरेका छन् । साँच्चै बालक जति सानो हुन्छ आमासँगको सम्बन्ध त्यति नै घना हुन्छ भन्ने कुरा कविलाई थाहा छ । बेलाबेलामा कवि नेपाल आमालाई आमासँग एकाकार गराउँदै यसो भन्न पुग्छन् –
आमा तिमीले हिमशैल हाँस्यौ
मेची र काली मनभाझ गाँस्यौ
नसानसामा छहरा छुटायौ
नेपाल सिङ्गै शिरमा उठायौ
(सर्ग २, श्लोक २७)
तेस्रो सर्गमा ‘अनेक रूपमा आमा’ र चौथो सर्गमा ‘अनेक रूपमा नारी’ शीर्षक दिएर कविले मातृशक्तिको विविधता एवं व्यापकताको चर्चा गरेका छन् । देवताले पनि वन्दना गर्ने आमाको स्थानलाई कवि यसरी सङ्केत गर्छन् –
यशोदा कृष्णकी माता
लीला श्रीकृष्ण गर्दछन्
आमा हुन् ईशकी ईश
सर्वत्र ती प्रणम्य छन्
(सर्ग ३, श्लोक ५)
आमा विद्या सधैँ उस्तै
दिन्छन् सुख बराबरी
यसै हो भन्दछन् भानु
प्रश्नोत्तर गरीगरी
(सर्ग ३, श्लोक ६)
पाचौँ सर्गमा कविले आफ्नी आमा इन्दिरा देवीको परिचय एवं जीवनवृत्तलाई झ्याउरे लयमा प्रस्तुत गरेका छन्। घर–माइती, छोराछोरी, ज्वाइँ, बुहारी, नातिनातिना, स्वभाव, विचार, संघर्ष आदि अनेकौं सन्दर्भसहित कविले आफ्नी आमाको चिनारी गराएका छन् पाठकसित –
हे, आमा मेरी इन्दिरा देवी
पाउमा पर्दछु
आशिष पाऊँ भनेर आमा
वन्दना गर्दछु
(सर्ग ५, श्लोक १)
सृष्टिकी मूल सिर्जना फूल
पाल्पामा जन्मेकी
नौ वर्ष पुग्दानपुग्दै तिमी
डोलीमा अन्मेकी
(सर्ग ५, श्लोक २)
वर्षमा कुनै एउटा दिनलाई मातृदिवस मानेर आमालाई औपचारिकतामा सीमित गर्न नहुने कुरामा कवि अडिग छन् । साँच्चै भन्ने हो भने जीवनका प्रत्येक दिन आमाका निम्ति हुनुपर्छ भन्ने धारणा काव्यमा यसरी आएको देखिन्छ –
एक दिन हैन एक क्षण हैन
सबै दिन सबै क्षण
आमाको पूजा गरौँ है अब
सज्जन सबै गण
(सर्ग ५, श्लोक २८)
छैटौँ सर्गमा कविले ‘केही सल्लाह’ शीर्षकमा पाठकलाई यसरी सम्बोधन गरेका छन् –
एकातिर घाम साटी
अर्काेतिर पानी
आमालाई सबै भन्छन्
‘ममताकी खानी’
(सर्ग ६, श्लोक १)
धर्ती छाडेपछि हैन
ज्यूँँदै लेख्नुपर्छ
आमालाई ‘आमा’ देखी
काव्य लेख्नुपर्छ
(सर्ग ६, श्लोक २)
यसरी कविले आफ्नो विचार प्रस्तुत गर्दै आमालाई जीवित छँदैमा माया, मान–सम्मान गर्नुपर्छ भनेका छन्। यसो नगर्दा पछि पछुताउनुबाहेक केही बाँकी रहँदैन भन्ने बलियो धारणा पेस गरेका छन् । साँच्चै यिनै धारणालाई मूर्त रूप दिन कविले यो काव्य तयार पारेका छन्।
सातौँ सर्गमा कवि ‘कोरोना कहर’ शीर्षकमा समसामयिक विषयवस्तुतिर आकर्षित भएका छन्। कोरोनाका कारण आमासँग भेट्न नपाएको साझा दुखेसो कवि यसरी पोख्छन् –
हे, आमा यस्तो कोरोना रोग
विश्वमै फैलियो
डरलाग्दो रोग रहेछ आमा
लाखौंको ज्यान लियो
(सर्ग ७, श्लोक १)
नौ डाँडावारि नौ डाँडापारि
हामीलाई गरायो
चाडपर्व हाम्रा आउँदा नि आमा
भेटघाटै हरायो
(सर्ग ७, श्लोक २)
फोनमा कुरा गरेर आमा
नियाँस्रो मेटौँला
नमरे बाँचे कालले साँचे
छिटै नै भेटौँला
(सर्ग ७, श्लोक ९)
अन्तिम अर्थात् आठौं सर्गमा ‘समापन’ शीर्षक दिएर कविले आमाको महिमा गायनको निष्कर्ष यसरी प्रस्तुत गरेका
छन् –
आमाको महिमा गाई
थाक्दैन कवि क्यै पनि
“जननीजन्मभूमिश्च
स्वर्गादपि गरीयसी”
(सर्ग ८, श्लोक २१)
कवि ज्ञाननिष्ठ ज्ञवालीलाई आमा र नेपाल आमाको आशीर्वाद सदैव रहिरहोस्। यस्तै काव्यहरू अझै खारिएर, माझिएर आइरहून्। परिष्कृत र प्राञ्जल लेखनको निम्ति हार्दिक शुभकामना!
प्रकाशित: २७ वैशाख २०७८ २३:५८ सोमबार