डा. रामहरि पौड्याल
विश्व कोरोनाको भयले आक्रान्त छ। अमेरिका युरोप जस्ता संसारकै राम्रो स्वस्थ व्यवस्था भएको भनिएका देशहरू कोरोनाको सिकार भए। लाखौं मान्छेले अकालमा ज्यान गुमाए। अभियानका रूपमा उमेर र स्वस्थ जटिलतालाई मानेर देशका राष्ट्र प्रमुखहरूले समेत आआफ्नो पालोमा भ्याक्सिन लगाइरहेका छन्। हरेक देशले कोरोनापछिको विश्व, कार्वन न्युट्रल भविष्य कसरी बनाउने भन्ने गम्भीर अनुसन्धान गरिरहेका छन्। विज्ञहरूको कुरालाई पछ्याइरहेका छन्। बिजुली गाडी, सुरक्षित साइकल लेन, चौडा पैदल यात्रा, ठूला बस, रेल, ट्रली बस, हाइड्रोजन फ्युल सेलले चल्ने बस ट्रकको प्रयोग बढाएका छन्।
अर्कातिर सामाजिक दूरी सक्त कायम गरेका छन्। राजादेखि रङकसम्म यो नियम लागु भएको देखिन्छ। कुनै तडकभडक देखिँदैन सामाजिक कार्यक्रमहरूमा। सभासम्मेलन उद्घाटन शिलान्यास सबै जुमबाट सम्पन्न भएका छन् । यति गर्दा पनि मान्छेहरू मर्ने क्रम रोकिएको छैन कतै।
उता हिमालपारिको एउटा देश यतिखेर दिनहुँ उद्घाटन र शिलान्यासमा लिप्त छ। ढुंगा पुज्न र त्यसमा आफ्नो नाम झुन्ड्याउन आतुर छ। कतै आफ्नो सरकार गिर्ने भयले काम आधा बाँकी भएका प्रोजेक्ट हुन् कि अर्थको कुनै टुंगो नलागेका सम्भाव्य प्रोजेक्ट मात्र होइन एउटै प्रोजेक्टको टुक्रे उद्घाटन र तिनको जस लिने होडबाजीले लोक चकित भएको छ।
छिमेकी देशमा दिनकै चार लाखका दरले कोरोना संक्रमित बढिरहेको छ। हजारौं मरेको खबरले विश्व त्राहिमाम भएर भारतीय उडानलाई प्रतिबन्ध गरिरहेका छन्। अनिवार्य क्वारेन्टिन लागु गरेका छन् रेड जोनबाट आउनेहरूलाई।
खुला सीमाना लाखौं मान्छे रोजगारीको खोजीमा गएकाहरू घर फर्केका छन् तिनको कुनै कन्ट्याक्ट ट्रेसिङ छैन। हस्पिटल भरिभराउ छन्। अक्सिजन छैन। टेस्ट नाम मात्रको छ। देशका शासकहरू यो बेलामा पशुपतिमा जलारी, माडीमा राम सीताको मूर्ति लिएर हजारौंको भिड बालुवाटारबाट कुदाउँछन् । संसद बन्द गराउँछन्। अविश्वास दर्ता हुने सुनेपछि आफ्नै पार्टीका सय भाइ कमरेडहरूलाई मिलाउन नसक्ने आफूले संसार थामेको हुटिटयाउँ सपनामा आफूलाई सबैभन्दा शक्तिशाली, ज्ञानी, ध्यानी र अजम्बरी भएको पर्लापदेखि रहँदा उनलाई कसैले सम्झाई देओस्। यो नश्वर शरीर, यो क्षणभंगुर जीवनमा आफ्ना असल कर्मले मान्छे अमर हुन्छ र दुनियाँको दिलमा बसिन्छ न कि नियमकानुन र संविधानलाई चुनौती दिएर ढुंगामा नाम लेखाएर उद्घाटन र शिलान्यासको अक्षरहरूले।
प्रकाशित: २७ वैशाख २०७८ १०:१४ सोमबार