कला

संघर्ष

लघुकथा

शेखरकुमार श्रेष्ठ

“मैले मेरो भागमा दुई आना जग्गा कम भयो भनेँ। मलाई मान्छे उठाई कुटायो। म छुट्टिएँ । मलाई   पुर्ख्यौली सामान दिएन। त्यसैले त्यो मेरो दाजु होइन। त्यो  अज्ञात  शत्रु हो। त्यो मरे पनि म जाँदिनँ।” उमेशले आफ्नी श्रीमती र छोराछोरीलाई सुनाए।  

“नगए नजानुहोस् । कति सुनाउनुभएको ? हामीले जानुहोस् भनेको छ र ?” पत्नीले सुनाइन् । सबै आआफ्ना काममा लागे। उमेरले एकसाठीमा टेकेका उमेश महाभारतको किताब पढ्न थाले।

“काकाबा ! काकाबा !” हस्याङफस्याङ गर्दै आएको भतिजले आँसु झार्दै भन्यो। उमेशले चस्मा तल सारी पुलुक्क हेरे।  

“काकाबा ! बुबाले बोलाउनुभएको छ। अस्तिदेखि तपाईँको नाम लिँदै हुनुहुन्थ्यो। मेरो भाइ रिसाउन सक्दैन। त्यो अवश्य आउँछ । आएन भने यो फोटो दिएर आ भन्नुभयो।” भतिजले फोटो दिँदै भन्यो।

आमाको छेउमा बसी दाजुभाइ कपाल कोर्दै थिए। “अरू जे भए पनि यो कपालसँग मेरो रिस हुन्न बुझ्नुभयो, दाइ ? यो कपाल आमाको जस्तै सिल्की छ। तपाईँको अनुहार पनि आमाको जस्तै छ। आमाको तिर्सना तपाईँलाई हेर्दा मेटिन्छ।” फोटो हेर्दै उमेशले सम्झे।

उत्ति नै खेरि चप्पल पनि नलगाई उमेश चार कान्लामाथिको घरमा पुगे। उमेशका परिवार पनि पछि लागे, “दाइ ! मेरो नाम किन लिनुभएको ? के भो ? साह्रै सन्चो भएन हो?” उमेशले सोधे।

“मलाई माफ गरिदे, भाइ। धनी बन्न, परिवार पाल्न, सम्पन्न बन्न मैले धेरै संघर्ष गरेँ। कल, छल र बल गरेँ। तर, आज म बाँच्नकै लागि आफ्नै फोक्सो, किड्नी र मुटुसँग संघर्ष गर्दै छु। सबैलाई पहिले जितेँ तर मैले आज आफ्नै शरीरलाई जित्न सकिनँ।” उमेशका दाजुले दमित स्वरमा भने।

प्रकाशित: २७ वैशाख २०७८ ००:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App