कविता ढकाल
घुम्दैफिर्दै फेरि पनि आइस् रे हे कोरोना त नेपालमा,
लुकामारी गर्दै आँखा छापी खेल्दै गरिबका घरमा।
फेरि त्यही दिन ल्याइस् तैले सबैलाई सन्त्रास बनाइस्,
लकडाउन गरी बाहिर निस्कन नदिई घरमै थुपारिस् ।
साँझ–बिहान ज्यालामजदुर गरिखानेलाई रुवाउनु रुवाइस्
बालबच्चालाई स्कुल गै शिक्षा लिन बन्देज नै गराइस्।
थचार्नसम्म थचार्यो अब त पछार्नसम्म पो पछार्यो,
भर्खर लर्बराउदै हिँड्न लागेकालाई झम्टीझम्टी पछार्यो।
सारा विश्व संसार सबैलाई डरसरि थर्थर काप्ने बनायो,
विज्ञान, प्रविधि, डाक्टर सबैलाई पछार्दै हार खुवायो।
आफ्नोपराई, साथीसँगी सबैसँग भागी हिँड्ने बनायो,
फेरि पनि धेरै मानिसलाई नै स्वाद गरीगरी मजाले चपायो।
कति खाइसकिस् अझै पनि फेरि कतिलाई खाने होस्
दिनैपिच्छे अझै धेरैलाई नै पिछा गरीगरी हिँड्ने होस्।
बाहिर निस्की कतै हिँडौ भने हिँडिसक्नु भएन,
घरै बसिखाउ भने महँगीले किनी खाइसक्नु छैन।
कोरोनाले जनताको कलेजो खाएर हस्पिटलमा खटपटिन्छन्,
ठूलाबडा भनाउँदा नेताहरू भने कुर्सीमा नै लुट्पुटिन्छन।
यस्तै बेलामा हुने रैछ नेताको सत्तामा नै तानातान,
तँछाड र मछाड गरी पाखुरा सुर्की मुक्का हानाहान।
साहु महाजन भनाउँदाको नै हुने रैछ दुनियाँमा मस्ती,
गरिबले नै खप्नुपर्ने रैछ जहिले पनि कष्ट अनि सास्ती।
प्रकाशित: २६ वैशाख २०७८ १०:३८ आइतबार