लक्ष्मी उप्रेती
१)आमाको माया
“एकचोटि मलाई भेट्न आऊ छोरी ! म धेरै बिमार छु।” आमाले पठाएको खबरको कुनै वास्ता गरिन्।
“न आफूले इज्जतका साथ बाँची न मलाई नै राम्ररी बाँच्न दिई। जान्न म त।” आमाप्रति क्रूर भई ऊ।
उसकी आमाले जीवनभर दुःखको पहाड बोकी। छोरी गर्भमा हुँदा प्र्रेमीको मृत्यु, परिवारको लाञ्छना, अर्को विवाह, नयाँ लोग्नेको पनि मृत्यु, दुःखका साथ छोरी हुर्काउनु। त्यसरी हुर्काएकी छोरी पनि एक बेरोजगारसँग भाग्नु। ओहो ! जीवनभर कसैले साथ दिएन। एकएक गर्दै सब साथ छोड्दै गए।
छोरीलाई गुनासो थियो आफ्नी आमाप्रति।
“कति विवाह गर्न सकेको होला ?” आमाप्रति नजानिँदो घृणा थियो। त्यसपछि ऊ एक केटासँग भागेपछि आमालाई फर्केर पनि हेरिन्।
आज उसलाई आफ्नी आमाको याद आइरहेछ । उसले सधैं आमालाई घृणा गरी तर आज मरिसकेकी आमाको यादले ऊ विह्वल छे। उसले यतिसम्म गरी कि मृत्यु शैयामा भएकी आमाले छोरीलाई एकपटक भेट्छु भनेर भन्दा पनि वास्ता गरेकी थिइन्।
आज लोग्नेले अर्की श्रीमती ल्यएर उसको र छोरीको केही मतलव गर्दैन । यसबेला उसकी छोरी निकै बिरामी छे । सिकिस्त बिरामी भएकी छोरी च्यापेर अविरल रोइरहेकी छे। छोरीलाई डाक्टरले माया मारेर बिदा दिएका छन्। यसबेला आमाले भनेका सारा कुराहरू झल्झली आँखामा घुमेका छन्। यतिबेला आफ्ना सन्तानको माया कति लाग्ने रैछ भन्ने अनुभव भएको छ उसलाई।
२) बिहेको निम्ता
आज उनी अर्थात् मन्दिरा बिहेको निम्तो मान्न निकै सजिएर हिँडिन् । निम्ता पाइएको पार्टी प्यालेसमा पुगिन् । पार्टी प्यालेसको गेटदेखि नै बिहेको माहौल खुब तातेको थियो । भिडभाड पनि निकै नै थियो।
उनी सरासर बाहिरको भिड छिचोलेर बेहुली भए ठाँउतिर गइन् । त्यसबेला बेहुलाबेहुलीको खुट्टा धुने कार्य हुँदै थियो । खुट्टा नधुने पनि बेहुलीलाई कोट्याउदै खाम दिँदै थिए। चिनेका मान्छे नदेखे पनि लाइनमा उभिएर मन्दिराले पनि आफूले ल्याएको खामा बेहुलीलाई दिइन् अनि त्यस भिडबाट निस्किन्।
उनले वरिपरि हेरिन्।
“कतै आफूले चिनेको मानिस भेटिने पो हुन् कि ?” एकजना पनि देखिनन्।
उनले यताउता आँखा लगाइन् । त्यही प्यालेसको पर अर्को छेउमा कोही चिनेका मानिसहरूको चहलपहल देखिन् ।
“ओहो ! उता पो जानुपर्ने रहेछ ।” यति भन्दै उनी त्यतै लागिन् । आफू निम्तो मान्न आएको बिहेको कार्यक्रम यही भएको थाहा पाउँदा खुब थकथकाइन् ।
त्यसबेला यो बेहुलीलाई दिने गर्धुवा अर्कै बेहुली दिएकोमा असजिलो लाग्यो उनलाई । निकै ठाँटिएर आएकी भए पनि अर्को खाम तयार गर्ने समय र उपाय नै थिएन।
उनले मनमनै आफ्नो गल्ती अनुभव गरिन्। आफू यसरी झुक्किएको कुरा अरूले थाहा पाएर मूर्ख सोच्ने हुन् कि भनेर उनलाई डर पनि लाग्योे । उनी चुपचाप बिहे हलमा बसिरहिन्।
३) नारी दिवसको सम्मान
“आहा ! आज त श्रीमान्जीको पनि छुट्टी । छुट्टीको दिन छिटो उठ्नुभएछ ।” नुहाएर निस्केका श्रीमान् देखेर सुतिरहेकी सुभद्राले भनिन् ।
“आज नारी दिवस हो नि त श्रीमतीजी । यस घरका नारीले गर्ने काम आज म गर्छु है ।” सरोज हाँस्दै भान्सामा गए।
एकछिनमा आमाछोरी र श्रीमती नुहाएर टेबुल वरिपरिे कुर्सीमा बस्छन् । त्यसैबेला सरोजले ‘ह्यापि ओम्यान डे’ भन्दै सबैको चिया भएको ट्रे टेबुलमा राख्छन्।
सरोजले “ए ! मैले त नारी दिवसमा नारीहरूलाई दिन भनेर उपहार ल्याएको थिएँ, झन्डै बिर्सेछु ।” भन्दै कोठामा पस्छन् । उनी आफ्नो ब्याग बाहिर ल्याएर खोल्छन् । तीन रंगका तीन लेदरका राम्रा व्याग निकालेर टेबुलमाथि राख्दै “लु, कसलाई कुन रंग मनपर्छ लिनु है ।” भन्छन्।
“उमालाई चैँ के ल्याइदिनुभयो ।” सुभद्राले श्रीमान्तिर फर्किएर सोध्छिन् ।
“ल, उमालाई त ल्याउन बिर्सेछु ।”
“ऊ पनि यस घरकी महिला सदस्य नै हो । बरा बिहानै नौ बजेदेखि बेलुका छसात बजेसम्म घरको सारा काम गर्छे । आमाको रेखदेख पनि गर्छे । ऊ नभए म अफिस जान पाउने पनि थिइन । आफूले नलिएर भए नि उसलाई त दिनुपर्छ ।” सुभद्राले भनिन्।
उमा आएपछि उनलाई चिया पिउन भनियो । उनले चिया पिई । सरोजले उसलाई उपहार दिन्छन् । छोरी त्यसैबेला कोठामा गएर कपालमा लगाउने केही चिम्टीहरू ल्याएर “उमा दिदी ! यी चिम्टीहरू भरे तपाईँका छोरीलाई दिनु है ।” भनेर हातमा राखिदिन्छे।
यसरी एक परिवारको नारी दिवस कार्यक्रम सम्पन्न भयो।
४) आमाको खुसी
एकदिन छोराले बोनसको पैसा पायो । अत्यन्त खुशी थियो ऊ । आमाको छेउमा गएर भन्यो, “आमा ! मैले पहिलो पटक बोनस पाएँ । तपाईँलाई के ल्याइदिऊँ ?”
“नानी ! मलाई केही चाहिँदैन् ।” आमाले भनिन्।
“हैन, केही न केही त ल्याउनै पर्छ । भन्नु न मलाई, के ल्याइदिऊँ ।” उसले कर गरिरह्यो।
आमाले कोठामा गएर एक कागजको पन्ना पट््याएर उसलाई दिइन्।
ऊ हतारहतार त्यो चिट नहेरेर बजार गयो । साथमा थिए श्रीमती र केटाकेटी । बजारको एउटा महलमा पसेर समान रोज्न थाल्छन् उनीहरू।
ऊ आमाको सामान छान्नलाई गोजीबाट कागज निकालेर हेर्छ।
“बाबु ! तिमी दिन्छौ भने पहिलेभैmं एकपल समय देऊ ।” यी अक्षर पढेसँगै उनलाई भाउन्न भयो । उसले आफूसँग भएको पैसा श्रीमतीलाई दियो।
“मलाई टाउको दुख्यो। तिमीहरू किनमेल गरेर आउनु, म घर जान्छु ।” यति भनेर त्यहाँबाट घर पुग्यो।
घरमा पुगेर उसले “मेरो टाउको थिचिदिनु न आमा !” भन्दै आमालाई खाटमा बस्न लगाएर काखमा टाउको राख्छ । आमा आफ्नो अनमोल रत्नलाई काखमा राख्नुको आनन्दित हुन्छिन् । छोरो काखमा लडिबुडी गर्छ । उनले श्रीमानको मृत्युपछि छोराका लागि आफूले गरेका सब दुःख भुलिन् । आजभोलि नातिनातिना पनि हजुरआमाको काखमा टाउको राख्ने गर्छन्।
उनी सोच्छिन्, “यति असल सन्तान पाएर म खुसी छु ।”
५) माया
“तिमी गर्भवती छौ । तिमी गाह्रो काम नगर् ।” एकदिन कलावतीलाई उसकी मालिक्नी ज्योतिले भनिन्् । उनले घरको कामका लागि अर्को मान्छे खोजेर राखिन्।
“मैले सकेसम्म काम गरेकी छु । मलाई कामबाट हटाउन लाग्नु भएजस्तो छ । मलाई नहटाउनुहोस्् ।” कलावतीले रुन्चे मुख बनाउँदै भनी।
“त्यसो होइन । म गर्भवती भएको बेला तिमीले गरेको सहयोग म कहाँ भुलेकी छु र ! सुत्केरीपछि पनि तिमीले मेरो सेवा गरेकी थियौ । छोरा तीन महिना भएपछि उसलाई तिम्रै भरमा छोडेकी थिएँ । आज तिमी गर्भवती हुँदा मैले सहयोग गर्नुपर्छ ।” ज्योतिले भनिन्।
“मेरो त योभन्दा बाहेक अरू कामधन्दा छैन हजुर । मलाई नहटाउनुहोस् ।” कलावतीको अनुहारमा निरीहपना बढ्दै गइरहेको थियो।
“मैले तिमीलाई हटाउन खोजेको हैन । तिमीले गाह्रो काम गर्दा असजिलो होला भनेर अर्की नानीलाई पनि राखेकी हुँ । तिमीले सजिलैसित बच्चा पाएपछि बच्चा अलि ठूलो भएपछि गाह्रो काम गर्ने । अहिले सामान्य काम गर्दा हुन्छ । यो सब तिम्रै भलोका लागि गरेकी हुँ ।” ज्योतिले सम्झाउँदै भनिन्।
केही दिन अघिसम्म पनि केही खान दिँदा डराउने कलावती अब ढुक्क भई । ऊ हर्ष र आनन्दले भावविभोर भई । ऊ ज्योतिको मायामा पग्लदै रुन्चे हाँसोमा उज्यालिई ।
प्रकाशित: २६ वैशाख २०७८ ०३:५७ आइतबार