कला

फूलको जोवान बारम्बार आउँछ मान्छेको एकैबार

गीत

 कृष्णबहादुर बुढाथोकी  

वारि नै रह्यो जीवनको  डुङ्गा भएन नदी पार,

फूलको जोवान बारम्बार आउँछ मान्छेको  एकैबार ।

 

बगेर गयो खहरे खोला , फाल हान्दै  बगर,

जे गरे पनि नपुग्ने रैछ यो मनको रहर ।

 

उकाली बाटो थकाइ लागे बिसाउने चौतारी,

खोजेर कतै नपाइने रैछ मन मिल्ने दौतरी ।

 

कर्मको खेल दैवको झेल मान्छेको  जिन्दगी,

कसैको छैन राजीनाम पास सबैको बन्धकी।

 

उम्लेर आउँछ जवानी जोस  साउने मूलझैं,

कोपिला हुन्छ फक्रेर जान्छ वसन्ती फूलझैँ ।

 

रङ्गीन हुन्छ  बिलाई जान्छ ईन्द्रेनी रङ्गझै,

चटक्क छिन्छ वेपत्ता हुन्छ उडेको चङ्गाझै ।

 

झरेर जान्छ ओइलेको  फूल वसन्त नआई,

दुखको रापमा बिलाई जान्छ आनन्द नछाई।

 

अनायास आउँछ विपतको आँधी आउँदैन बिहानी,

चढेर जान्छ बाँसकोे डोली ढुङ्गाको सिरानी।

 

वारि नै रह्यो जीवनको डुङ्गा भएन नदी पार,

फूलको जोवान बारम्बार आउँछ मान्छेको  एकैबार ।

प्रकाशित: २८ माघ २०७७ ०७:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App