कला

मेरो देश

कविता

आयुष्मा तिवारी

 

डाँडाकाँडा हरियाली सुन्दर छ कति

प्रकृतिमै रमाउने रहर भो अति

झरनाको कलकल आवाज सुनिरहूँ जस्तो

चराको यो मधुर सङ्गीत नाचिरहूँ जस्तो

 

बादलले आकाशमा खोज्छ पानी पार्न

रमाउँदै दौडिन्छन् लौ किसान काम गर्न

लहलह धानबाला यै माटोमा झुल्छ

गरे यहीँ मिहिनेत देशमा सुन फल्छ

 

नदीनाला सुसाउँछन् आफ्नै भाका हाली

हरियो वन अमूल्य धन यसको म माली

जडीबुटी यहीँ फल्छ गुराँस नि फुल्छ

प्रकृतिको सुन्दरता यो आँखामा बस्छ

 

हिमाल छ चाँदीजस्तै टल्किँदै यो हाँस्छ

पहाड यो शिर मेरो मयूर यहीँ नाच्छ

तराईमा भण्डार छ अन्न यहीँ फल्छ

स्वर्गजस्तो प्यारो देश छाडेर को जान्छ ? 

                              (सवाई छन्द)

प्रकाशित: २३ भाद्र २०७७ ०६:०४ मंगलबार

जुनकिरी