हरिप्रसाद भण्डारी
एउटा घरमा कुखुराका भाले र पोथी थिए । एकले अर्कोलाई औधी माया गर्थे । दिनभरि घर वरिपरि घुमेर चारो खान्थे । साँझ परेपछि आफ्नो गुँडमा जान्थे ।
केही समयपछि पोथीले फुल पार्न थाली । फुल पार्ने बेला भएपछि गुँडमा जान्थी । पोथी गुँडमा बसेको बेला भाले पनि नजिकै बसेर उसलाई साथ दिन्थ्यो ।
फुल पारेको पहिलो दिन भालेपोथी औधी खुसी भए ।
खुसी हुँदै भालेले भन्यो, “थुप्रै फुल पारेपछि तिमी ओथारो बस । फुलबाट ससाना चल्ला बाहिर आउँछन् । तिनलाई हुर्काउन मैले पनि मद्दत गर्छु ।”
भालेको कुरा सुनेपछि पोथी मसस्क मस्की । भालेतिर हेर्दै भनी, “साना चल्लालाई चील, गिद्ध र कौवाको डर हुन्छ । तिनबाट बचाउनुपर्छ ।”
“त्यसको चिन्ता नगर । म छु नि । चल्लाको पूरै हेरचाह मैले गर्छु ।” भालेले पोथीलाई विश्वास दिलायो ।
केही समय चारो खाएपछि उनीहरू गुँडमा गए । दुःखको कुरा अघिको फुल गुँडमा थिएन ।
आफूले दुःख गरेर पारेको फुल नदेखेपछि पोथी चिन्तित भई । भाले पनि निरास भयो । वरिपरि हेरे तर फुल भेटेनन् । निकै पीर मानिरहे ।
अर्को दिन पनि पोथीले फुल पारी । फुल पारेर बाहिर निस्केपछि भालेसँग भनी, “हामी टाढा जानु हुँदैन । हाम्रो फुल कसले चोर्छ त्यो हेर्नुपर्छ ।”
पोथीको कुरामा भालेले सहमति जनायो र गुँडको वरिपरि घुमिरह्यो ।
केही समयपछि घरकी मालिक्नी बाहिर निस्केर गुँडमा हेरिन् । फुल देखेर खुसी भइन् र चिच्याउँदै भनिन्, “रिना हेर त पोथीले आज पनि फुल पारिछ !”
आमाको कुरा सुनेर रिना र दिपेश दौडँदै बाहिर आए । गुँडमा फुल देखेर खुसी भए । आमाले जतनले फुल झिकेर भित्र लगिन् ।
आज पनि गुँड खाली देखेर भाले र पोथी दुःखी भए । उता घरका मान्छेको खुसी बढ्दै गयो ।
साँझ बुबा आएपछि कुखुरीले फुल पारेको कुरा रिनाले बुबालाई सुनाई ।
त्यत्तिबेला दिपेशले भन्यो, “बाह्रपन्द्रोटा फुल भएपछि पोथी ओथारो बस्छे र चल्ला निकाल्छे । त्यसपछि घरै रमाइलो हुन्छ !”
छोराका कुरा सुनेपछि बाबाले भन्नुभयो, “अब फुलबाट चल्ला निकाल्न कुखुरीलाई ओथारो बसाल्नु पर्दैन । धेरै फुल भएपछि ह्याचरीमा दिउँला । केही समय मिसिनमा राखेपछि फुलबाट चल्ला निस्कन्छन् । अनि त रमाइलै रमाइलो हुन्छ ।”
“साँच्चि !” रिना र दिपेश एकैचोटि बोले । यो कुरा आमालाई पनि नौलो लाग्यो । आमाले भन्नुभयो, “त्यस्तो पनि हुन्छ र ?”
“किन नहुनु, मेरो साथीको ह्याचरी उद्योग छ । अन्डा लगेर त्यसैलाई दिउँला । केही दिनमा चल्ला निस्कन्छन् अनि ल्याउँला । हुन्न र ?” बुबाले भन्नुभयो ।
बुबाका कुरा सुनेर सबै जना दङ्ग परे ।
उता पोथीले दर्जनौं फुल पार्दा पनि आफ्ना फुल देख्न पाइन । ऊ निरास भई । भाले पनि दुःखी भयो । दुवैले सल्लाह गरे, “अब फुल नपार्ने ।”
पोथीले फुल पार्न छोडेको झन्डै तीन साता भएको थियो । घरमा अर्को अचम्मको दृश्य देखियो । बेलुकीतिर रिनाका बुबाले एउटा टोकरी लिएर आउनुभयो । टोकरीमा कुखुराका सानासाना चल्ला थिए ।
चल्ला देखेपछि घरका सबै जना खुसी भए । रिना र दिपेश त बुरुक्कबुरुक्क उफ्रे ।
बुबाले सबै चल्लालाई आँगनमा छोडिदिनुभयो ।
साना चल्लाले ‘ट्युँट्युँ’ आवाज निकाल्दै आँगनमा खेल्न घुम्न थाले । चल्लातिर हेर्दै दिपेशले भन्यो, “आहा हाम्रो घरमा कति धेरै साना कुखुरा !”
त्यसपछि रिना र दिपेशले साना कुखुरा उचाल्न खोजे तर साना कुखुरा ‘ट्युँट्युँ’ गर्दै पर पर दुगेरे । दिपेश र रिनाले एउटा चल्ला पनि समात्न सकेनन् । हाँस्दै दिपेशले भन्यो, “साना कुखुरा त हामीभन्दा पनि बाठा रहेछन् !”
एक्कासि घरमा ससाना चल्ला देखेपछि कुखुराका भालेपोथी पनि दङ्ग परे । नजिक गएर हेरे । उनीहरूलाई देखेपछि साना चल्ला परपर दगुरे ।
“मैले फुलबाट चल्ला निकाल्न पाएकी भए यस्तै चल्ला निस्किन्थे होलान् तर घरकी मालिक्नीले निकाल्नै दिइनन् ।” रुँदै पोथीले भनी ।
“नरोऊ । अब यिनै चल्लालाई आफ्ना चल्ला ठानेर माया गरौँ ।” भालेले भन्यो ।
भालेका कुरा सुनेपछि च्याँठिंदै पोथीले भनी, “सक्दिनँ म अरुका चल्ला हुर्काउन ।”
भालेले नजिकै गएर हे¥यो । आँगनमा चर्दै गरेका चल्लाहरू कोही आफूजस्ता त कोही पोथीजस्ता थिए ।
पोथीको नजिक गएर भन्यो, “यी चल्ला त हामीजस्तै छन् । कतै हाम्रा सन्तान त होइनन् !”
“कहाँबाट हुनु हाम्रा सन्तान ? म ओथारो बस्न पाएकै छैन ।” पोथीले अहिले पनि मन दुखाई । उसका मनमा रिस भरियो । ऊ चल्लाका नजिक गई र रिसका झोकमा चल्लालाई टोक्न थाली ।
“ऐ पोथीले त चल्लालाई ठुङ्न पो थाली । आफ्नै सन्तान पनि किन नचिनेकी होली?” दिपेशले भन्यो ।
भालेपोथीले मान्छेको भाषा राम्ररी बुझ्दैनथे तर ‘आफ्नै सन्तान’ भन्ने शब्द सुनेपछि पोथीको मन परिवर्तन भयो । उसले मनमनै भनी, ‘मैले यति नै फुल निकालेकी थिएँ । कतै यी मेरै फुलबाट निस्केका चल्ला त हैनन् !’
पोथीले आफ्ना मनको कुरा भालेलाई सुनाई । भालेले भन्यो, “खै चल्ला देख्दा त मलाई पनि हाम्रै सन्तान हुन् जस्तो लाग्दै छ ।”
भालेले फेरि नजिकै गएर चल्ला हे¥यो । त्यसपछि पोथीका नजिक आएर भन्यो, “भो अबदेखि यिनलाई टोक्ने र ठुंग्ने काम नगर ।”
पोथी केही बोलेकी थिइन, भालेले भन्यो, “साना छन् विचराहरू ! यिनलाई पनि बाआमाको माया चाहिँदो हो ।”
भालेको कुरा सुनेपछि पोथीको मन परिवर्तन भयो । उसले मनमा भएको रिस र दुःखलाई त्यागिदिई । मनमनै प्रण गरी,‘म यिनलाई माया गर्छु ।’
प्रकाशित: २१ भाद्र २०७७ १०:३१ आइतबार