कला

बालबालिका र बालसाहित्य

अभिमत

बालबालिकाको सर्वाङ्गीण विकासका लागि पाठ्यपुस्तकले मात्रै सम्भव हुँदैन । बालबालिकाका लागि बालसाहित्य  अनिवार्य हुँदै गएको छ । यस्तो स्थितिमा बालसाहित्य किन लेख्नुहुन्छ, बालसाहित्य कस्तो हुनुपर्छ, बालसाहित्यको अवस्था कस्तो छ , बालबालिका लागि बालसाहित्यको स्थिति कस्तो छ भन्ने विषयमा केही बालसाहित्यकारहरूको अभिमतलाई यहाँ प्रस्तुत  गरिएको छ  – 

अनुराधा  

साँच्चै भन्नु पर्दा मलाई योबाहेक मैले अरू कुनै काम जानेको छु वा गर्न सक्छु जस्तो लाग्दैन । मलाई बालकथाहरू पढ्न र लेख्न रुचि भएर यो क्षेत्रमा लागेको हुँ । मैले लेखेको कथा जब बालबालिकाहरूले रमाएर पढ्छन् । मलाई त्यसैमा धेरै सन्तुष्टि मिल्छ । आफूले रहर र खुसीले गरेको कामले कालान्तरमा गएर बालसाहित्यको कुनै क्षेत्रमा सेवा पुरयाउन सक्यो र मैले लेखेका कथाले कुनै योगदान दिन सक्यो भने त्यो मेरा लागि सुनमा सुगन्ध हुनेछ।

बालसाहित्यले बालबालिकालाई जानकारी र मनोरञ्जनका साथै धेरैभन्दा धेरै प्रश्न गर्न सिकाओस् । बालसाहित्यमा भएका विषयवस्तु र पात्रहरूसित बालबालिका भावनात्मक स्तरमा जोडिन सकून्  र बालसाहित्य यस्तो हुनुपरयो जसले बालबालिकालाई संसारलाई नयाँ तरीकाले हेर्न सिकाओस् ।

अनुराधा  

बालबालिकाहरूलाई आफू, समाज र विश्वमा भैरहेको परिवर्तनका बारेमा बुझ्न, बुझाउन, जिज्ञासाहरू समाधान गर्ने, गाह्रो विषयहरूका बारेमा सजिलो र रमाइलो तरीकाले कुरा गर्न,  शब्दभन्डारमा वृद्धि  गर्न, रचनात्मकतामा वृद्धि गर्न, तर्क गर्न र साथ बालसाहित्यले सांस्कृतिक र लैंगिक भूमिकाको बुझाइमा पनि ठूलो प्रभाव पार्छ । यसरी हेर्दा बालसाहित्यका पुस्तकहरूले बच्चाको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्दछ ।

जुनप्रकारले बालसाहित्यमा धेरै जना लाग्नुभएको छ, पुस्तकहरू छापिन्दै छन्, अभिभावक र विद्यालयहरूले बालसाहित्यको महत्वलाई बुझिदिनुभएको छ, त्यो हेर्दा हाल नेपालमा बालसाहित्यको अवस्था असाध्यै उत्साहपूर्ण देखिन्छ । अहिले संसार नै डिजिटल युगतर्फ जाँदै गर्दा त्यसको असर बालसाहित्यको पुस्तकमा पनि पर्नु स्वाभाविक हो । तर पनि पुस्तकहरूको अनलाइन उपलब्धताले गर्दा पुस्तकहरूको मागमा कमी आउन पाएको छैन । यसले लेखकहरुलाई आफ्ना पुस्तककोे बजार फराकिलो पार्ने अवसर प्रदान गरेको छ ।

यति हुँदाहुँदै पनि अलिकति ध्यान पु¥याउनुपर्ने कुराचाहिँ नेपाली बालसाहित्यमा अझ बढी सोध, अनुसन्धान र पुस्तक समीक्षा हुन निकै जरुरी छ ।

गङ्गा कर्माचार्य पौडेल          

बालसाहित्य बालबालिकालाई लक्षित गरी लेखिएको हुनुपर्छ । बालमैत्री हुनुपर्दछ अनि मनोरञ्जनपूर्ण हुनुपर्दछ । त्यसो भन्नुको अर्थ बालसाहित्य लेख्दा जुन उमेरका बालबालिकाका लागि लेखकले साहित्य रचना गर्ने हो उनीहरूले प्रयोग गर्ने भाषा र उनीहरूका क्रियाकलाप अध्ययन गरी सोहीअनुरूप लेखिएको हुनुपर्दछ । जस्तै १–४ वर्षको बच्चाले दूध खान मानेन भने

नानुबाबु छिटोछिटो बुबु खाइहाल

नत्र भने म्याउ गर्ने बिरालोले खाला

भन्यो भने अब बिरालोले खान्छ भनेर दूध घुटुघुटु पिउन थाल्छ । त्यही कुरा ५–१० वर्षका बच्चाहरूलाई भन्नुपर्दा (जसलाई हामी केटाकेटी पनि भन्छौं)

बुबु खाए दादादिदी जस्तेै अग्लो भइन्छ

हैन भने डल्ले, भुण्टे, फुच्चे  रहिन्छ

भन्यो भने गिलास उठाएर दूध घुट्क्याउन थाल्छ । त्यही कुरा ११–१५ वर्षका केटाकेटीलाई भन्नु पर्दा तिमीलाई थाहा नै छ । दूध स्वास्थ्यका लागि हो । दूध नखाँदा के हुन्छ ? ज्ञानी मान्छेले कितापमा पढेका पनि हौला नि ? भन्यो भने खुसी हुन्छन् । किनभने यो उमेरका केटाकेटीहरू आफूलाई अलि जान्ने, सुन्ने ठान्छन् । बच्चालाई जस्तो गरी भनेको मन पराउँदैनन् ।

 

 गङ्गा कर्माचार्य पौडेल        

बालसाहित्य–बालमैत्री हुनु जरुरी छ । त्यसको अर्थ बालसाहित्यमा बालबालिकालाई कुनै प्रकारको नकारात्मक असर पार्ने लेख रचना हुनु हुँदैन । बालबालिकाको दिमाग कलिलो हुन्छ । उनीहरूले बालसाहित्यमा जे पढ्छन् त्यसको छाप ढुंगामा  कुँदिएको अक्षरजस्तै कहिल्यै नमेटिने हुन्छ । त्यसकारण बालसाहित्य जहिले पनि बालबालिकालाई हौसला बढाउने, केही नयाँ कुरा सिकाउने, साहसी, निडर, बनाउने जसले गर्दा उनीहरूको चौतर्फी विकासमा सहायक बनोस् ।त्यही नै मेरो विचारमा बालमैत्री बालसाहित्य हो ।

बाल मनोरञ्जन–अहिलेको जमाना प्रविधको छ । शिशु जन्मिएको केही महिनादेखि नै मोवाइल र टिभी हेर्न पाउँछन् । त्यसकारण कितापको पाना पल्टाउना साथ उनीहरूको मन तान्न सकेन भने अर्को पाना पल्टाउँदैनन् । सुरुमै भाषा सरल, वाक्य गठन छोटो, रमाइला, मीठा शव्द चयन गरी बालसाहित्य लेखिएको हुनुपर्दछ । खास गरी रचनामा अगाडि अनुकरणात्मक शव्द प्रयोग गरेर लेखेको छ भने अलि रमाएर पढ्ने गरेको मैले देखेको छु । जस्तै–

क) एउटा बकुल्लालाई  भोक लाग्यो । ऊ खोलाको छेउमा बसेर माछा आउला र टिपौंला भनेर कुरिरह्यो । बकुल्ला देखेर माछाहरू डराएर ढुंगाका कुरमा लुके । बकुल्ला हिस्स परेर फर्कियो ।

ख)सुलुलुलु सुलुलुल गरी भुरा माछा पानी भित्र बगीरहेका, कुनै त फुत्रुकफुत्रुक पानीमाथि उफ्रेर नाच्दै गरेका सानो बकुल्लाले देख्यो । त्यसपछि पानीमा डुबुल्की मारेर एउटालाई टप्प टिपेर बाहिर निस्क्यो अनि ढुंगामाथि बसेर क्वाप्लक्क निल्यो । बाल साहित्य उदाहरण कभन्दा ख जस्तो हुनुपर्दछ ।

बालबालिका स्वभावैले चञ्चल र जिज्ञासु हुन्छन् । उनीहरूको मनमा जहिले पनि  थरिथरिका प्रश्नहरू उब्जिरहेको हुन्छ । त्यसकारण अभिभावकसंग के, किन, कसरी भनेर सोधिरहन्छन् । उनका अभिभावले सबै प्रश्नको जवाफ दिन सकेका हुन्छन् भन्न सकिन्न । उनीहरूका अभिभावकबाट सन्तुष्ट हुन नसकेको प्रश्नको जवाफ बालसाहित्यमार्फत प्राप्त गर्न सक्दछन् ।

अर्को कुरा बालबालिकालाई जे नगर भन्यो त्यै गर्न तम्सिन्छन् । एकलै बाहिर नजाउ भन्यो भने आखाँ छलेर निस्किहाल्छन् तर त्यही कुरा बालरचनाको पात्रमार्फत प्रस्तुत गरियो भने सहजै मान्दछन् । जस्तै –चुल्बुले पाठो आमाले भनेको मानेन । एकलै बाहिर निस्कँदा (ग्रामिण परिवेश भए) झन्डै बाघले खाएन । शहरी परिवेश भए झन्डै मोटरले किचेन भन्यो भने उसले बाहिर एकलै निस्कन नहुने रहेछ भनेर बुझ्दछ । त्यसरी बालसाहित्यले बालबालिकामा दरो प्रभाव पार्दछ ।

बालबालिका हुन्छन् नै प्यारा । उनीहरूको निर्मल निश्छल मुहार, मृदु मुस्कानले कस्को मन लोभ्याउँदैन र ? त्यसमा पनि म आमा परें । एउटी आमालाई आफ्ना कुन अरूका कुन सबै बच्चा बराबर हुन्छन् । बा साहित्य लेख्दा म उनै बालबालिकालाई संझेर लेख्ने गर्छु । अझ बालकथा लेख्दा त म उनिहरूको माझमा भएको अनुभूत गर्दछु । त्यसैले प्रौढ पाठकका लागि  साहित्य सिर्जना गर्दा भन्दा बालसाहित्य सिर्जना गर्दा धेरै रमाउँछु र बालसाहित्य लेख्छु ।

अर्को कुरा हाम्रा बालबालिकाहरू विदेशी भाषामा लेखिएका किताप पढ्छन् । ती कितापहरूमा विदेशी भाव, परिवेश, परम्परा, संस्कृति हुने भएकोले त्यही सिक्छन्  । जस्तै– भारतीय बालसाहित्यकोे कितापमा राष्ट्रिय चरा मयूर भनेर लेखेको हुन्छ । हाम्रो राष्टिय चरा त डाँफे हो । यही कुरा उनीहरूले पढ्न पाएनन् भने भारतको राष्ट्रिय चरालाई नै नेपालको भनिदिन्छन् । त्यसकारण आफ्नो, राष्ट्र, राष्ट्रिभाव, भाषाभेष, संस्कृति संरक्षणका लागि पनि म सन्देशमुलक बालसाहित्य लेख्ने गरको छु ।

नेपाली बालसाहित्यको अहिलेको अवस्थाका बारेमा न सरकारी तवरबाट न त संघसंस्था, निजी तवरबाट नै खो अनुसन्धान भएको मैले पाएको छैन । मेरो बालसाहित्य लेखनमा रुचि भएको कारण देखेको र अनुभव गरेको आधारमा भन्नुपर्दा अहिले बालसाहित्यको अवस्था आसलाग्दो देखिन्छ । किन भने केहीवर्षपहिले बालसाहित्य लेख्ने सर्जकको नाम औलामा गन्न सकिने अवस्था थियो भने अहिले सिंगै बत्तीसपाने कापीमा नअटाउने भैसक्यो । लेखन स्तरोन्नति पनि भइरहेकै छ ।

हाल यो क्षेत्रमा युवा पुस्ताका साहित्यकारको आकर्षण दिनानुदिन बढिरहेको पाइन्छ । त्यसै गरी धमाधम छापिदै गरेका बालपुस्तकहरूले बालसाहित्यको भण्डार भरिइरहेका छन् । 

संस्थागत रूपमा बालसाहित्यको उत्थानका लागि सबेैभन्दा पहिले नेपाल बालसाहित्य समाजको स्थापना भएको थियो । त्यसै गरी बाल वाङ्मय तथा अनुसन्धान केन्द्र, बालसाहित्य प्रतिष्ठान नेपाल, लगायत थुप्रै संस्थ।हरू खुलेका छन् । बालसाहित्यका पत्रपत्रिका पनि उत्तिकै छन् । त्यसकारण बालबालिकाले छानीछानी बालसाहित्यका पुस्तक र पत्रिका पढ्न पाएका छन् ।

त्यसै गरी व्यक्तिगत तवरले पनि बालसाहित्य श्रीवृद्धिका लागि अन्य पेशामा नलागी बालसाहित्यमै समर्पित भई लागिपर्नेहरू पनि छन् । उदाहरणका लागि कार्तिकेय घिमिरे र यशु श्रेष्ठलाई लिन सकिन्छ । यी दुईजना युवा बालसाहित्य सर्जकहरू बालसाहित्य लेख्छन्, बालसाहित्य पढ्छन्, ठाउँठाउँका स्कुलमा गएर विद्यार्थीहरूलाई बालसाहित्य सुनाउँछन् । बालबालिकालाई पुरस्कार दिन्छन् । यशुले बालसाहित्य समाज, कार्तिकेयले बालसाहित्य प्रतिष्ठान जस्ता बालहितकारी संस्थालाई अगाडि बढाइरहेका पनि छन् । उनीहरू जस्ता अरू दुईचारजना युवा बालसाहित्य सर्जकहरू थपिने हो भने हाम्रो नेपाली बालसाहित्यले छिट्टै अन्तर्राष्ट्रिय बालसाहित्यसँग प्रतिस्पर्धा गर्न सक्षम हुनेछ भन्ने लाग्छ मलाई ।

दिनमान गुर्मछान दिगु

लेखनको क्षेत्र फराकिलो हुन्छ । कुन विधामा कसरी लाग्ने भन्ने आआफ्नो धारणा र विचारले अघि बढ्ने हो  । बालबालिकाका लागि पनि केही गरौं भन्ने लागेर बालसाहित्य लेख्ने गरेको   हुँ  । बालमनोविज्ञानमा रमाएर लेख्नुको आनन्द नै बेग्लै हुन्छ । बालबालिकामा ईश्वरको बास हुन्छ भन्छन् । तिनै ईश्वरको कल्पनालाई अंगालेर पनि सिर्जना गर्दा झनै आनन्द आउँछ । सायद त्यही आनन्द प्राप्तिका लागि बालसाहित्य लेख्ने गरेको छु ।  

बालसाहित्य बालबालिकाका लागि लेखिने भएकोले अवश्य पनि उनीहरूको रुचिको विषयको हुनु जरुरी छ । उनीहरूको रुचिका विषयमा सन्देशमूलक हुनु अझै आवश्यक छ । समग्रमा भन्नुपर्दा बाल मनोविज्ञानमा आधारित भएर सिर्जना गर्नु आवश्यक छ  ।

दिनमान गुर्मछान दिगु

बालसाहित्यले बालबालिकामा अध्ययनको दायरा बढाउनुका साथै सिक्ने मौका प्रदान गर्दछ । उनीहरूमा आत्मबल बढाउनका लागि यसले धेरै मद्दत गर्दछ । साथै सिर्जनात्मक कार्यमा लाग्नका लागि प्रेरित पनि गर्दछ । त्यसैले बालबालिकाका लागि बा साहित्य उपयोगी छ ।  

बालसाहित्यको अवस्था सधै उही अवस्थामा छ भन्दा फरक नपर्ला । बालसाहित्य अहिले पनि बालबालिकाको पहुँचभन्दा पर छ । बाल बालिकाको रोजाइमा पर्नका लागि अभिभावकको भूमिकामा पनि निर्भर रहेको हुन्छ । अभिभावकले बालबालिकालाई बालसाहित्यको नजिक नपुरयाउने हो भने लेखकले लेखेको बालसाहित्यको कुनै अर्थ रहन्न । त्यसैले बालबालिकाको पहुँचपछि लेखिएका बालसाहित्यले पूर्णता पाउँछ । त्यसैगरी अचेल लेखिएका बालसाहित्य उमेरका हिसाबले लेखिने भएकोले बालसाहित्यको क्षेत्र निकै राम्रो भएको छ ।  

 प्रमोद प्रधान

साहित्य रुचिको विषय हो । रुचिले साहित्यमा लागेँ । आवश्यकता देखेर बालसाहित्यमा लागेँ । बालबालिकाको शारीरिक विकाससँगै मानसिक र संवेगात्मक विकास हुनु पनि जरुरी छ । त्यसका लागि बालसाहित्य महत्वपूर्ण खुराक हो । बालबालिकाको बौद्धिक एवं मानसिक विकासमा यसले विशिष्ट रूपमै सहयोग र प्रभाव पार्छ । मानिसले सबैभन्दा बढी सिक्ने उमेर भनेको बाल्यकाल नै हो । त्यस उमेरमा देखेको, सुनेको, सिकेको र जानेको कुरा जीवनपर्यन्त सम्झिरहन्छौं हामी । तर हामीले बालबालिकालाई जति ध्यान दिनुपर्ने हो, त्यति दिन सकिरहेका छैनौं । त्यसैले बालबालिकालाई सभ्य, सक्षम, संस्कारयुक्त र सिर्जनशील बनाउन मैले बालसाहित्य लेख्न लागेको हुँ । बालसाहित्यबाट उनीहरूले मनोरञ्जन र अन्य धेरै कुरा पाउँछन् ।

प्रमोद प्रधान

बालसाहित्य पाठककेन्द्रित रचना हो । यसमा लेखकले  आफ्नो  इच्छाअनुसारको विषय, भाषा र शैलीको चयन गर्ने होइन, बालबालिकाको हितलाई ध्यानमा राखेर आवश्यकता, उमेर, रुचि र उनीहरूको संसारभित्रका विषयलाई  बुझ्ने  भाषा र उनीहरूलाई आकर्षित गर्नसक्ने शैलीमा प्रस्तुत गर्नुपर्ने भएकाले म पनि सोहीअनुसार सिर्जना प्रस्तुत गर्ने प्रयास गर्छु । म  आफ्नो  बालरचनाबाट बालबालिकाले पर्याप्त मनोरञ्जन पाऊन् भन्ने त चाहन्छु नै, त्यससँगसँगै उनीहरूको विषयगत र भाषिक ज्ञानको प्रवद्र्धन, जिज्ञासाहरूको समाधान अनि चेतनाको विकास एवं परिष्कारमा पनि सहयोग पुगोस् भन्ने ठान्दछु । साथै, बालबालिकामा अन्तर्निहित सिर्जनात्मक प्रतिभालाई प्रस्फुटन, पठन संस्कृतिको विकास, लोकसंस्कृतिको हस्तान्तरण, विश्व भातृत्वभाव, देशपे्रम, मानवीय मूल्य र मान्यताप्रतिको जागरुकता आदि पनि बालसाहित्य लेखनका मेरा अभीष्ट हुन् ।

कतिपय कुरा माथिका जवाफमा पनि आइसकेकै छन् । अझ थप भन्नुपर्दा पहिलो कुरा, कुनै पनि बालरचना कुन उमेरसमूहका लागि लेखिएको हो, त्यो स्पष्ट हुनुपर्छ । उमेर तय गरिसकेपछि त्यो उमेरसमूहका बालबालिकाका लागि रोचक र प्रभावकारी हुनसक्ने विषयको छनोट गर्नुपरयो । त्यसपछि लेखनका क्रममा उनीहरूको उमेरले  बुझ्न नसक्ने भाषा र बालबोलीहरूको प्रयोग तथा विषयलाई रमाइलो तरीकाले प्रस्तुत गर्ने संरचनागत शिल्पमा ध्यान दिनुपर्छ । त्यसरी लेख्दा चित्रका लागि पनि लेखकले सोच्नु जरुरी छ । यो काम चित्रकारको हो भनेबुझ्ने छाडिदिँदा चित्र प्रभावकारी नहुन सक्छ । पानापिच्छे फरक चित्र बनाउन सकिने गरी बालरचना तयार गरिएमा त्यो प्रभावकारी हुन्छ । यसका लागि लेखकमा कल्पनाशक्तिको आवश्यकता पर्छ । त्यसपछि रंगीन, राम्रो कागज र कलात्मक मुद्रण पनि त्यत्तिकै आवश्यक पर्छ ।

बालमस्तिष्क अत्यन्त प्रभावशाली हुन्छ र त्यसले टिपोट गरेको कुरा जीवनपर्यन्त रहिरहन्छ । त्यसैले हामीले बालबालिकालाई कस्तो बनाउने हो भन्ने कुरा उनीहरूलाई बाल्यकालमा दिइने शिक्षा, संस्कार र चेतनामा भर पर्छ । समयको गतिसँगै ज्ञानका क्षेत्र र विषयहरू थपिँदै छन् । आवश्यकता र स्थितिका कारण पढ्नुपर्ने, जानकारी राख्नुपर्ने र सिक्नुपर्ने कुरा बढ्दो छ । पाठ्यक्रममा सीमित विषयले सबैलाई समेट्न असम्भव छ । त्यसैले समयानुसार आवश्यक पर्ने तर पाठ्यक्रमले नसमेट्ने विषयलाई बालबालिकासम्म पुरयाउन पनि बालसाहित्य प्रभावकारी माध्यम हो । उनीहरूलाई सचेत र जागरुक बनाउन, उनीहरूमा अन्तर्निहित प्रतिभालाई बाहिर ल्याउन, उनीहरूको भाषिक क्षमता बढाउन, पढ्ने बानीको विकास गर्न, आलोचनात्मक दृष्टिकोण निर्माण गर्न लगायतका कार्यमा पनि बालसाहित्यको भूमिका प्रभावकारी हुन्छ ।

बालसाहित्य अहिले लेखन, चित्रांकन र प्रकाशन सबै दृष्टिबाट अघि बढिरहेको अवस्थामा छ । उमेर, विषय, विधा र शैली सबै दृष्टिबाट बालसाहित्यमा विविधता देखिन थालेको छ र तुलनात्मक रूपमा बालबालिकाको पहुँचमा बालसाहित्य पुग्न थालेको आभास हुँदै छ । तर यसको अर्थ कुनै किसिमको समस्या, बाधा र अड्चन छैन भन्ने होइन । पौराणिक, धार्मिक एवं लोककथाको पुनर्कथनबाहेक पनि मौलिक रचनाको सिर्जना निकै हुन थालेका छन् र वातावरण, स्वास्थ्य, सामाजिक शिष्टाचार, संस्कृति, भूगोलका विविधता पनि क्रमशः बढिरहेको अवस्था छ । तैपनि पहाडी भूभागबाहेक अन्य क्षेत्र र किशोर समूहलाई सम्बोधन गरी लेख्न अझै निकै बाँकी देखिएका छन् । पात्रपात्राहरूमा जातिगत प्रतिनिधित्वको आवश्यकता भने देखिएको छ ।

बालसाहित्य लेख्ने दिशामा स्रष्टाहरूको रुचि बढिरहनुले पनि यसको स्थिति पहिलेभन्दा राम्रो हुँदै गएको संकेत गर्दछ । यस क्षेत्रमा प्रकाशकहरू निकै देखिएका छन् र यो व्यावसायिकतातर्फ   उन्मुख देखिन्छ । बालसाहित्य सम्पादन गरेर मात्र प्रकाशित गरिनुपर्छ भन्ने विषयमा प्रकाशकहरू जागरुक देखिन थालेको छ । प्रत्येक विद्यालयमा बालपुस्तकालयको स्थापनातर्फ सरकारको रुचिले पनि यसको प्रवद्र्धनलाई सहयोग पुरयाएको छ । समग्र दृष्टिबाट हेर्दा यो विकासतर्फ   अग्रसर छ भन्ने स्पष्ट हुन्छ । 

प्रेम राई परीक्षित

शिक्षा र साहित्य एकअर्काका परिपूरक हुन्। कुनै पनि विषय स्तुलाई कविता गीत र कथाका माध्यमबाट बालबालिकालाई सिकाउँदा धेरै प्रभावकारी हुन्छ कारण यसले पढ्नमा रुचि जगाउँछ।  यस्तो पढाईबाट बुझेको कुरा पछिसम्म रहन्छ। हामीले अहिलेसम्म हजारौं पाठ पढिसक्यौ होला तर कविता गीत र कथा मात्र याद छ । अरु त सबै  बिर्सिसकियो । त्यसैले बालबालिकाहरुलाई समाज देशमा भएका विविध कुराहरुको जानकारी कविता गीत कथाका माध्यामबाट दिन र उनीहरूलाई  संस्कारित बनाउन बालसाहित्य सिर्जना गर्ने गर्छु।

प्रेम राई परीक्षित

 मेरो विचारमा बालसाहित्य सरल , बालशुलभ, शिक्षाप्रद र आफ्नो समाज र देशको मौलिकतालाई पुस्तान्तरण गर्दै जाने खालको हुनुपर्छ। एकपटक पढेपछि बच्चाको मुखमा झुन्डिरहने साहित्य नै  जीवन्त  बालसाहित्य हो।

बालसाहित्य मेरो रुचिको विषय  हो। आफू शिक्षक भएका कारण बालबालिकासंग खेल्ने रमाईलो गर्ने बानी नै बस्यो।त्यसकारण उनीहरूको मनोविज्ञान बुझेर उनीहरूकै विषयमा लेख्न मन लाग्छ। बालसाहित्य लेख्दा जति आनन्द आउँछ त्यति अरुमा आउदैन। बालबालिकाजस्तै बालसाहित्य पनि अवोध हुन्छ । त्यहाँ घोचपेच छेडछाड केही हुदैन। त्यसैले म बालसाहित्य बालबालिकालाई खुसी बनाउन र आफूखुसी हुन लेख्ने गर्छु।

आमाले बच्चालाई सुतसुतभन्दा त्यो बच्चा बरु रोला सुत्दैन। तर कोक्रोमा राखेर हल्लाउँदै आमाको गीत सुन्दै आमाले आफ्नो बच्चालाई कति सजिलै सुताउन सफल हुन्छिन् । आमाले कोक्रो हल्लाउँदै गीत गाएको बालसाहित्य हो। बालसाहित्यले बच्चाको मनोविज्ञान र सिकाइमा ठूलो प्रभाव पार्छ। हाम्रो एक जना सर हुनुहुन्थ्यो । वहाँले हरेक शुक्रबार कथा सुनाउनुहुन्थ्यो। हामी सबै शुक्रबार कहिले आउला भनेर पर्खेर बस्थ्यौँ। अरु दिन गयल भए पनि शुक्रबार बिरामीबाहेक कहिल्यै गयल हुदैनथ्यौँ। यसकारण बालसाहित्य नजानेको शिक्षक बालबालिकाको प्यारो शिक्षक बन्न नसक्ने रहेछ।  बालसाहित्य लेखनमा विविधता थपिदै गएको छ र परिस्कृत पनि हुँदै गएको छ साथै बजार पनि बिस्तार हुँदै गइरहेको छ। अहिले सङ्ख्याका हिसाबले पनि मनग्गै बाल साहित्यकारहरू हुनुहुन्छ। बालसाहित्यको मुख्य बजार भनेको विद्यालयहरू हुन् । अहिले निजी स्तरमा धेरै विद्यालयहरू  खुलेकाले बालसाहित्यका  कृतिहरू  पनि धेरै बिक्री हुन्छन। यसबाट बालसाहित्यकारहरू  लेखेरै जीवनयापन गर्न सक्ने खालको वातवरण तयार हुँदैछ। यो खुसीको कुरा हो। यसका साथै बालसाहित्य प्रकाशन गृह पनि खुलिरहेका छन्। पत्रपत्रिकाहरुले जस्तै कोपिला, जुनकिरी, अङ्कुर पृष्टमा बालबालिकाका साहित्य सिर्जनाहरु प्रकाशन गरिरहेका छन। राम्रो बालसाहित्य लेख्ने श्रष्टाहरूको बालसाहित्यमै राम्रो भविष्य छ।

रामविक्रम थापा

बालबालिकाका लागि लेखिने साहित्य बालसाहित्य हो । प्रौढ साहित्यकारले बालबालिकालाई लक्षित गरेर सिर्जना गरिने साहित्य नै बालसाहित्य हो भन्ने हाम्रो बुझाइ र धारणा छ । स्वयं बालबालिकाले लेखेको साहित्य पनि बालसाहित्य हो भन्ने सत्यलाई हामी उति महत्व दिइरहेका छैनौ । जसले लेखे पनि बालसाहित्य बालबालिकाहरूकै लागि हो । बालबालिकालाई मनोरञ्जन र मानसिक खुराक प्रदान गर्न बालसाहित्य लेखिन्छ । विभिन्न उमेर समूहका बालबालिकालाई लक्षित गरेर प्रायोजित रूपमा पनि बालसाहित्य लेख्ने गरिन्छ । लेखकलाई आत्मसन्तुष्टि र बालबालिकालाई शिक्षा, चेतना, सिर्जनात्मकता र मनोरञ्जन प्रदान गर्नु नै बालसाहित्य लेखनको उद्देश्य हून्छ ।

रामविक्रम थापा

बालसाहित्य बालसुलभ, बालोपयोगी, सरस, सरल र प्रभावकारी हुनुपर्छ । यो शिक्षाप्रद, सन्देशमूलक र सकारात्मक सोच प्रदायक हुनुपर्छ । अन्धविश्वास, कुसंस्कार र कुरीतिविरुद्धको चेतना पैmलाएर आधुनिक वैज्ञानिक चिन्तनको विकास गर्ने किसिमको हुनुपर्छ बालसाहित्य । मनोरञ्जनको साथमा कुनै निश्चित, ठोस र सन्देशमूलक हुनुपर्छ । अतः बालसाहित्य सार्थक र उद्देश्यमूलक हुनुपर्छ । बालबालिकाको रुचि, स्तर र मनोविज्ञानको आधारमा लेखिनुपर्ने बालसाहित्य बालकेन्द्रित हुनुपर्छ ।

नेपाली साहित्यमा बालसाहित्यलाई ध्यान दिएर सिर्जना र प्रकाशन हुन थालेको लामो समय भएको छैन । यसको अध्ययन, अनुसन्धान, कार्यशाला, सेमिनार, सम्मेलन आदि हुन थालेको त धेरैपछिदेखि मात्र हो । वर्तमान सन्दर्भमा यी कार्यहरू निकै तीव्र गतिमा बढिरहेको अवस्था छ । नेपाल बालसाहित्य समाज लगायतका विभिन्न संस्थाहरूले यो क्षेत्रमा काम गरिरहेका छन् । लेखक र प्रकाशन संस्थाहरू पनि बढिरहेका छन् । कान्तिपुर, नागरिक र अन्नपूर्ण पोष्टले पनि साप्ताहिक रूपमा कोपिला, जुनकिरी र अंकुर नामक बालसाहित्यका अंकहरू निकालेर बालसाहित्यको सेवा गरिरहेछन् । यस्तै गोरखापत्र संस्थानले ‘मुना’ नामक मासिक बालपत्रिका निकालेर बालसाहित्यको सेवा गरिरहेको छ । नेपाल एकेडेमीले पनि कथा र कविताका प्रतिनिधी बालसंग्रहहरू निकालेका छन् । साहित्यकार प्रमोद प्रधानबाट बालसाहित्यमा निरन्तर अनुसन्धान भएर बालसाहित्यको इतिहास लगायतका पुस्तकहरू निस्किरहेका छन् । नेपाल सरकारले पनि पुस्तकालय अनुदान दिएर बालसाहित्यमा टेवा दिइरहेको अवस्था छ । बालसाहित्यका विभिन्न प्रकाशन संस्थाहरूले पनि यस क्षेत्रमा काम गरिरहेका छन् । अतः समग्रमा बालसाहित्यको वर्तमान अवस्था सन्तोषजनक मान्न सकिन्छ ।  

बालबालिकामा बालसाहित्यको प्रभाव सकारात्मक र सिर्जनात्मक नैै लाग्छ । बालसाहित्यका पाठ्यसामग्रीहरू बालबालिकाको पहँुचमा कति पुगेका छन् भन्नेतिर पनि ध्यान जानु आवश्यक छ । स्थानीय सरकार र विद्यालयमा नेपाली पढाउने गुरुहरूको ध्यान र सक्रियता अलिक बढ्नुपर्ने देखिन्छ ।

शान्ता  दाहाल

बलबालिकाकालागि लेखिएका वा बालबालिका आफैंले लेखेका साहित्यहरू नै बालसाहित्य हुन् । बालबालिकाले त्यस्ता साहित्य उनीहरुकै लागि लेखेको भएर आफै रोजेर पढ्ने, अभिभावकले रोजिदिने, शिक्षकले रोजिदिने तथा विशेषज्ञले यीचाहिँ बालबालिकाका लागि हुन् है भनेर छुुट्याउने गरेका हुन्छन् ।

यस्ता सामग्रीहरू उच्च गुण्स्तरका पाठ्य सामग्री हुन्छन् । साथै बालबालिकाले मन पराउने र उनिहरूको आवश्यकतामा आधारित हुने हुँदा उपयोगी पनि हुुने गर्दछन् ।

बालबालिकाका स्वभाव , उमेर, मनोवैज्ञानिक विकास, विषय, भाव, कला र सपिका  आधारमा बालसाहित्य तयार  गरिन्छन् । उनीहरूका लागि साहित्यको विषय रोचक, आकर्षक र कौतुहलताले भरिपुुर्ण हुनुपर्छ ।

 शान्ता  दाहाल

बालसाहित्य यस्तै हुनुपर्छ भन्ने कुनै औपचारिकता नभए पनि यी कुराहरूलाई मनन गर्दा छ भन्ने उत्तर आएमा राम्रो मानिन्छ ।

विषयवस्तु बालसुलभ, तहअनुसार,  सम्बन्धित र सार्वभौम छ कि छैन,  तर्क, पत्याउँदो, समस्यामा आधारित र सन्तुष्टि दिने छ कि छैन, भाषाको मिठास, प्राकृतिक, उपयुक्त र शब्दभण्डार वृद्धि गर्ने छ कि छैन ,चित्रको तार्किकता,  डिजाइन र अक्षर नमूना ठीक छ कि छैन ,मूल्यमान्यतामा आधारित छ कि छैन ।

बालसाहित्य लेख्नु अगाडि धेरै कुरा सोच्नुपर्दछ । मैले लेखेको साहित्यले बालबालिकालाई  के सोच्न सक्ने क्षमताको विकास गर्छ ? के उनीहरूको मनमा प्रश्नहरू  उब्जिन सक्छन् ? के खोजअनुसन्घान गर्न सहयोगी गर्छ ? जल्दाबल्दा समस्यालाई सम्बोधन गर्छ ? जस्तै मृत्यु र संघर्ष के उनीहरूका दुुविधालाई सम्बोधन गर्छ ? जस्तै ठीक र बेठीक के हरेक तह र तप्काका बालबालिकालाई सम्बोधन गर्छ ? के आधिकारिक र  वास्तविक पनि छन् त ?

यी र यस्ता कुराहरूलाई सम्बोधन गर्न बालबालिकका लागि उमेर अनुसारका  विधा पनि छुट्याएर लेख्नुु राम्रो हुन्छ । जस्तै उमेरअनुसार जनावर , घरपरिवार र समुदायसँग सम्बन्घित  क्रियाकलाप गर्न मिल्ने खालका फिक्सन र ननफिक्सन दुवै खाले पुस्तक हुनुपर्छ । जसमा गीत, कविता, चित्रकिताब, रमाइला अथवा हाँस्ने र हँसाउने पनि हुनु आवश्यक छ ।  

त्यस्तै उमेर बढेसँगै सम्बन्ध , यात्रा, ऐतिहासिक, कलासंस्कृति, अध्याय पुस्तक , यौनिक कुरा, प्रकृतिलाई कथा र अध्याय पुस्तकका रूपमा प्रस्तुत गर्न सकिन्छ ।  

भाषाले पनि बालसाहित्यमा ठूलो भूमिका खेल्ने गर्छ । उमेरअनुसारका शब्दचयन, वाक्यनिर्माण, व्याकरण, सलल बगेको हुनुपर्छ ।बालसाहित्यले बालबालिकाको ज्ञानको क्षेत्र फराकिलो पार्ने काम गर्छ । मनोरञ्न प्रदान गर्छ । नयाँ शब्द तथा वस्तुको परिचय गराउँछ । अनेकौ प्रश्नहरूको उत्तर आफैंले खोज्ने क्षमताको विकास हुन्छ । अक्षरहरूको प्रारम्भिक ज्ञान दिन्छ । ज्ञानको दायरा फराकिलो हुन्छ तनावलाई व्यवस्थापनगर्न मदत पछ तर्क गर्ने क्षमताको विकास हुन्छ ,मरण शक्तिको विकास हुन्छ । लेखन सीपको विकास हुन्छ ।

लक्ष्मी उप्रेती  

पहिले रहरले लेख्न मन लाग्यो। बिस्तारै साना नानीबाबुहरूलाई बालसाहित्यले मनोरंजनसँगै ज्ञान पनि दिन सक्ने रैछ भन्ने कुरा बुझे। अनि बालसाहित्यतिर रूचि बढदै गयो ।  

बालमनोभाव बुझेर सरल शब्दमा लेखिएको हुनुपर्छ। बालसाहित्य उमेर समूहअनुसार बाल मनोभावसँग मेल खाने हुनुपर्छ। बालककै भावमा लेखक बगेर लेखिएको हुनुपर्छ। बालसाहित्यमा अप्ठेरो  शब्दको प्रयोग हुनुहुन्न। सजिलै उचारण गर्न सक्ने शब्द राख्न लेखक स्वयं सचेत हुनुपर्छ । अप्ठेरो शब्द नानीहरूले पढ्न सक्दैनन्। शब्दसँग वाक्य गठन पनि उमेरअनुसार मिल्ने हुनुपर्छ । तर दुखको कुरा कति लेखकहरू जिम्मेवारी छैनन्। जे जस्तो लेखे पनि बालसाहित्य हुँदैन। तर लेखिरहेका हुन्छन्। यसको मूल्यांकन सही तरीकाले हुन आवश्यक छ। बालसाहित्य लेखन कार्यशालामा सहभागी गराएर प्रशिक्षण नै चलाउनुपर्छ। जसले त्यस्ता लेखकहरू केही संवेदनशील हुने वातावरण बन्छ।  

लक्ष्मी उप्रेती  

पहिलो कुरा त आफ्ना नानीहरूको क्रियाकलापले म प्रेरित हुन्छु। अनि उनीहरूलाई नै खुसी पार्न लेख्छु। अनि नानीबाबु भविष्यका सुकिला संभावना हुन्। उनीहरूप्रति केही जिम्मेवारीबोध गरेर लेख्ने प्रयास गर्छु। मेरो प्रयासमा सम्पूर्ण नानीबाबुहरूको मनोभावसँग कति बग्न सके थाह छैन। तर प्रयास गर्न छाड्दिन ।  

बालसाहित्यले नानीबाबुमा चेतनाको ढोका खोल्छ। स्वास्थ्यका लागि पनि बालसाहित्यको प्रभाव हुन्छ। स्वास्थ्यका लागि जोसुकैलाई निन्द्रा नभै नहुने कुरा हो। नानीहरूलाई निन्द्रा नआउँदा बालकथा सुनाउँदा या गयात्मक रूपमा कविता गाउँदा निदाउँछन् र स्वास्थ्यमा राम्रो प्रभाव पर्छ। बालसाहित्यले नानीहरूलाई पठनपाठनको संस्कृति बढाउने भूमिका खेल्छ। बालसाहित्य नानीहरूलाई मनोरंजन दिँदै जिम्मेवारी बोध गराउने भूमिका खेलिरहेको हुन्छ।

यसबेला बालसाहित्यको अवस्था राम्रै मान्नुपर्छ। तर लक्षित वर्गमा पुग्छ कि भन्ने कुरा महत्वपूर्ण कुरा हो। उमेर समूहअनुसार हरेक निकायमा बालसाहित्य पुग्न सके अझ राम्रो हुन्छ। यो कुरामा लेखक र बालबालिकाको पठनपाठन हुने निकाय र अभिभावकहरूले ध्यान जान जरुरी छ जस्तो लाग्छ । 

प्रकाशित: ३ श्रावण २०७७ ०८:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App