कला

सांघाई फिल्म महोत्सव स्थगित

चीनको सबभन्दा पुरानो र प्रतिष्ठित सांघाई अन्तर्राष्ट्रिय फिल्म महोत्सव कोरोना भाइरस महामारीको सिकार भएको छ । बुधबार आयोजकहरूले आगामी जुन १३ देखि २३ सम्म हुने तय भएको सांघाई अन्तर्राष्ट्रिय फिल्म महोत्सवको २३ औं संस्करण निर्धारित मितिमा योजना अनुसार अगाडि नबढ्ने जानकारी गराएका छन् ।

‘कोरोना भाइरस महामारीको प्रभावका कारण आयोजक समितिले सांघाई अन्तर्राष्ट्रिय फिल्म महोत्सव स्थगित गर्ने निर्णय गरेको छ,’ आयोजकले विज्ञप्तिमा उल्लेख गरेको छ । आयोजक समितिले सांघाई अन्तर्राष्ट्रिय फिल्म महोत्सव आयोजना गर्न ढिलाइ हुने भएकाले पूर्ण रूपमा खारेज नहुनेमा जोड दिएका थिए ।

‘कोरोना भाइरस महामारीको बाबजुद २३ औं सांघाई अन्तर्राष्ट्रिय फिल्म महोत्सवको तयारीमा लागि देश र विदेशका सम्पूर्ण फिल्म समुदायको उदार समर्थन र संलग्नता भएका थिए,’ विज्ञप्तिमा उल्लेख गरिएको थियो, ‘महोत्सव स्थगनका कारण हुने असुविधाको लागि हामी क्षमाप्रार्थी छौं । २३ औं सांघाई अन्तर्राष्ट्रिय फिल्म महोत्सवका लागि नयाँ मिति सकेसम्म चाँडो घोषणा गरिनेछ ।’

यसअघि अप्रिलमा हुने चीनको दोस्रो सबैभन्दा ठूलो बेइजिङ अन्तर्राष्ट्रिय फिल्म महोत्सवका आयोजकहरू यसै प्रकारको सूचना सार्वजनिक गरेर गत मार्चमा महोत्सव स्थगित भएको जानकारी गराएका थिए । कोरोना भाइरस महामारीको जोखिम कम गर्नको लागि हाल चीनका ७० हजारभन्दा बढी फिल्म हलहरू बन्द गरिएका छन् । सो फिल्म हलहरूको पुनः सञ्चालनको मिति घोषणा गरिएको छैन् ।

सन् १९९३ बाट सुरु भएको सांघाई अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा हलिउड फिल्मकर्मीहरू सहभागी भइसकेका छन् ।

अभिनेत्री एन्जेलिना जोली, ब्राड पिट, ड्यानी बोयल, लुक बिसन र टम हुपर लगायतका हलिउड फिल्मकर्मीहरू सांघाई अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सहभागी भइसकेका छन् ।

यसअघि कोरोना भाइरस महामारीपछि तीन महिना बन्द रहेको सांघाई डिज्नील्यान्ड पुनः सञ्चालनमा आएको थियो । सांघाईको हाउस अफ माउसले अनिवार्य माक्सको प्रयोग, ज्वरोको मापन, स्यानिटाइजरको प्रयोग र सामाजिक दुरी कायमजस्ता सावधानी अपनाएर डिज्नील्यान्ड पुनः सञ्चालन गर्न अनुमति दिएको थियो ।

पार्कले ८० हजार क्षमतामध्येको एक तिहाइमा सीमित आगन्तुकहरूलाई दैनिक प्रवेश गराइरहेको छ । कोरोना भाइरस महामारी फैलिएसँगै पार्क बन्द भएको थियो । धेरै मानिसहरू जम्मा हुन नदिन पार्कभित्र रहेको हल्कमार्क, परेड, रात्रि आतिशबाजी र थिएटर प्रदर्शनहरूलाई तत्काल बन्द गराइएको छ ।

कोरोना भाइरस महामारीका कारण डिज्नेल्यान्ड बन्द भएसँगै संसारभरका वाल्ट डिस्ने एक लाख कर्मचारीहरू आक्रोशित भएका थिए । सन् २०१६ मा सांघाई सरकार र वाल्ट डिस्नेले संयुक्त रूपमा सांघाई डिज्नील्याण्ड सञ्चालनमा ल्याएको थियो । गत वर्ष १२ मिलियन आगन्तुकहरूले सो पार्क अवलोकन गरेका थिए ।

प्रकाशित: ८ जेष्ठ २०७७ ०२:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App