कला

नाटकमा मुन्धुमको कथा

इलाम – पृथ्वीमा मानव, प्रकृति र पशु–पन्छीको उत्पत्ति कसरी भयो भन्नेबारे वैज्ञानिक तर्क एकातिर छ। तर, लिच्छवीकालअघिको युगमा शासनसत्ता र संस्कृति हाँकेको किरात धर्मग्रन्थ मुन्धुमको व्याख्या भने फरक खाले छ।

परापूर्वकालदेखि समाजमा चलिआएको मुन्धुमले प्रकृति र मानवको उत्पत्तिबारे वर्णन गरेपनि मुन्धुम आम मानिसको पहुँचमा नहुनु स्वभाविक हो। किनभने, एक्काइसौं शताब्दीको समाज धर्मभन्दा बढी विज्ञानबाट निर्देशित छ। तर, मुन्धुमले पृथ्वीमा जीव उत्पत्तिबारे गरेको व्याख्या हेर्न मुन्धुम पल्टाइरहनु परेन। सदरमुकाममा आयोजना भइरहेको राष्ट्रिय लोकनाटक महोत्सवमा मुन्धुममा उल्लेख गरिएअनुसार जीवजन्तुको उत्पत्तिबारे नाटक मञ्चन भइरहँदा दर्शक मन्त्रमुग्ध बने।

सदरमुकामको गौतमबुद्ध सभागृहमा ‘सुम्निमा पारुहाङ’ नाटक सुरु हुने बेला उद्घोषक रामभजन कामतले ‘चुइँक्क’ नगर्न गरेको अनुरोधले मात्र होइन, आफू बसोबास गरिरहेको क्षेत्रको इतिहास नाटकमा समेटिएकाले दर्शक चल्मलाएनन्। करिब १ घन्टाको अवधिको नाटकमा दर्शकले सुम्निमा पारुहाङका माध्यमबाट पृथ्वीमा मानिस, जीव, वनस्पति, पशुपन्छीलगायतको उत्पत्तिबारे जानकारी पाउने मौका पाए। पारुहाङ ‘आकाश’ बाट धर्तीमा बस्ती बसाउन मानवको रूप धारण गरी आएको कथामा देखाइएको छ। उनीहरूबाट मानवका साथै पशुको पनि सिर्जना भएको र पशु हिंस्रक भएकाले जंगलमा, मानव दयालु भएकाले घरमा बस्न थालेको मुन्धुमको कथालाई यो नाटकले उल्लेख गरेको छ।

निर्देशक किशोर अनुरागले यो समाजको कथा र मुन्धुमको विश्वास भएकाले आफूले त्यही विश्वासलाई नाटकमा उतारेको बताए। ‘मुन्धुमको यो कथा अहिले पुस्तान्तरण भएर समाजमा अझै जीवित छ। यो लोकनाटक भएकाले यसले धार्मिक इतिहासलाई उजागर गर्छ,’ उनले भने। महोत्सवमा १ नम्बर प्रदेशको प्रतिनिधिका रूपमा यो नाटक मञ्चन गरिएको हो। नाटकमा पुर्खाजीत राई, विशाल राई, मधु राई, अञ्जली चन्द ठकुरी, रमेश राई, आइशा राई र समीर राईलगायतले अभिनय गरेका छन्।

२ नम्बर प्रदेशको प्रतिनिधि नाटक ‘कनन (कृष्ण) हरलता (राजकुमारी)’ समेत महोत्सवमा मञ्चन गरियो। नाटकमा महाभारत सकिएपछि राजा परिक्षितकालको थारू समुदायको वास्तविकता दर्साइएको छ। निर्देशक कुन्दन चौधरीका अनुसार नाटकमा थारू समुदायको कृषिपद्धति, मानवीय स्वभाव, मित्रता, प्रेम, विछोड, संस्कार र संस्कृति झल्काइएको छ। ‘नाटकले थारु समुदायको जनविश्वास, मानमर्यादा, राजा–प्रजाको सम्बन्ध र प्रकृतिको वर्णन गरेको छ। यसले त्यतिबेलाको थारू समुदायको चित्र उतार्ने प्रयत्न गरेको छ,’ उनले भने। नाटकमा रोशन सुवेदी, रक्षा थापा, आयान खड्का, विकास पन्त, कुञ्जन चौधरी, उमेशकुमार चौधरी र सागर खातीलगायतको अभिनय गरेका थिए।

सात प्रदेशको लोकसंस्कृति नाटकको माध्यमबाट संरक्षण र प्रचार गर्न राष्ट्रिय नाचघरले आयोजना गरेको राष्ट्रिय लोकनाटक महोत्सव आइतबारबाट सुरु भएको थियो। आगामी फागुन १ सम्म चल्ने महोत्सवमा सात प्रदेशका नाटक मञ्चन गरिँदैछ।

इतिहासकार युद्धप्रसाद वैद्यले महोत्सवमा मञ्चन भइरहेका नाटक महŒवपूर्ण भएको बताए। ‘नाटकमा कलाकार र तयारीकर्ताले अत्यन्त मेहनत गरेको देखियो। सबै प्रदेशको संस्कृति एकैपटक हेर्न पाउनु इलामेका लागि राम्रो अवसर पनि पनि हो,’ उनले भने।

प्रकाशित: २८ माघ २०७६ ०४:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App