कला

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसमा चेतनामूलक नाटक

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस अवसरमा बुधबार इलाम सदरमुकाममा चेतनामूलक नाटक प्रदर्शन गरिँदै। तस्बिर:भीम/नागरिक

इलाम- अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस विविध कार्यक्रम गरी मनाइएको छ। यस अवसरमा बुधबार सदरमुकाममा चेतनामूलक र्‍याली र नाटक प्रदर्शन गरियो।

ठूलो टुँडिखेलबाट सुरु र्‍याली चोकबजारमा आएर कोणसभामा परिणत भएको थियो। कोणसभामा बोल्दै इलाम नगरपालिका अन्तर्गतको सुरक्षित आप्रवासन परियोजना संयोजक ईश्वरी तामाङले युवालाई स्वदेशमै रोजगारीका अवसर पहिल्याउन सघाउने र विदेश जानैपरे निःशुल्क रूपमा परामर्श दिने कार्यक्रम इलाममा सुरु भएको बताए।

‘युवालाई रोजगारी र स्वरोजगारीका अवसर के–के हुन सक्छन् भन्नेबारे चेतना जगाउन परियोजनाले विभिन्न कार्यक्रम गर्दैछ,’ उनले भने, ‘तर, विदेश जानेपरे कसरी सुरक्षित रूपमा कानुनी प्रक्रिया पुर्‍याएर जानुपर्छ भन्नेबारे परामर्श दिन जिल्ला प्रशासन कार्यालयको आँगनमा सुरक्षित आप्रवासन स्रोत केन्द्र पनि स्थापना गरेका छौं।’

इलाम नगरपालिकाको आयोजना र मानवअधिकार मञ्च नेपालको सह आयोजनामा दिवस मनाइएको हो। कोणसभापछि चेतना नाट्य समूहका कलाकारले सुरक्षित वैदेशिक रोजगारका लागि चेतनामूलक नाटक प्रदर्शन गरे। समूहका अध्यक्ष सुरेश पोर्तेलको निर्देशक रहेको नाटकमा पोर्तेलसहित अनिशा खनाल, निशा नेउपाने, प्रतिमा रिजाल, प्रकाश मगरलगायत कलाकारले अभिनय गरेका थिए।

इलाम, देउमाई र सूर्याेदय नगरपालिका तथा माङ्सेबुङ गाउँपालिकामा इलाम नगरपालिकाले नेपाल र स्विस सरकारको साझेदारीमा सुरक्षित आप्रवासन परियोजना सञ्चालन गरेको छ। कामदारलाई बिमा, स्वास्थ्य परीक्षण, करारनामा, म्यानपावर कम्पनी छनौट गर्दा ध्यान दिनुपर्ने विषयबारे सचेत गराउने कार्यक्रम परियोजनाको छ। मञ्चले पनि जिल्लाका माई नगरपालिका र रोङ गाउँपालिकामा यही परियोजना सञ्चालन गरिरहेको छ।

 

प्रकाशित: २ पुस २०७६ ०८:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App