कला

ठमेलमा ‘म त दुरदेखि आएँ’

काठमाडौं – गत बिहीबारको साँझ, सिमसिम पानी। चिसो मौसममा ठमेलको माहोल तताइरहेका थिए गायक दीप श्रेष्ठ। आफ्नो सांगीतिक करियरको ५० औं वर्षगाँठका अवसरमा गायक श्रेष्ठ ठमेलको चिसो मौसमलाई आफ्नो स्वरमार्फत तताउँदै थिए। साथमा थियो दृष्टि ब्याण्ड।

ठमेलको चक्सीबारीस्थित हाङफुक साराङ कोरियाना रेस्टुरेन्टले आफ्नो स्थापनाको १६ औं वर्ष प्रवेशका अवसरमा श्रेष्ठको सम्मानमा ‘दीप श्रेष्ठ एकल साँझ’ सांगीतिक कार्यक्रम आयोजना गरेको थियो। सञ्चालिका याङजोम शेर्पाले स्टेजमा बोलाएपछि श्रेष्ठले आफ्नो करियरको सुरुवाती गीत ‘म पत्थरको देवता होइन तोडिएर जोडिने’बाट गायन सुरु गरे। २०२५ सालमा यही गीतबाट श्रेष्ठको सांगीतिक यात्रा सुरु भएको थियो।

यही कार्यक्रमका लागि तेह्रथुमे कोट लगाएर आएको थिए। धन्न पानी प¥यो, नत्र गर्मीले पाक्थें।

श्रेष्ठले ‘झस्किएछ मन मेरो’, ‘बादलहरू आकाश ढाकी नबसिदेउ’, ‘कति कमजोर रहेछ भाग्य’ लगायत गीत लगातार गाइरहँदा बीचमै सञ्चालिका शेर्पाले श्रेष्ठकी छोरी दृष्टिलाई संयुक्त प्रस्तुतीका लागि स्टेजमा बोलाइन्। दृष्टि पनि युवा गायिका हुन्। छोरीसँग श्रेष्ठले ‘जति हाँसु भन्छु, आँसुमा डुब्छन्’ लगायत २÷३ वटा गीत गाए। त्यसपछि श्रेष्ठले ‘हर रात सपनीमा ऐठन हुन्छ, गाउँमा शायद पहिरो गयो की ?’ गाए। त्यहाँ उपस्थित दर्शक तथा स्रोता कोरियाली परिकारको स्वाद लिँदै सुनिरहे। कोही उभिएरै दीपको आवाजमा झुम्मिएका थिए।

झण्डै १२ गीत गाइसकेपछि श्रेष्ठले विश्राम लिए। विश्राम लिने क्रममा उनले तेह«थुमे ढाकाको कोटको प्रसंग उठाउँदै भने, ‘यही कार्यक्रमका लागि तेह«थुमे कोट लगाएर आएको थिए। धन्न पानी प¥यो, नत्र गर्मीले पाक्थें।’

विश्रामकै क्रममा आयोजकले गायक श्रेष्ठलाई केक काटेर सरप्राइज दिएको थियो। आयोजक पाना गुरुङ र नवराज भण्डारीले श्रेष्ठलाई केक खुवाए। केकपछि श्रेष्ठलाई ढाका टोपी उपहार प्रदान गरिएको थियो। श्रेष्ठको ५०औं सांगीतिक वर्षगाँठ मनाउन तथा आवाज सुन्न उनकी पत्नी, दुई छोरी, गायक योगेश्वर अमात्य, संगीतकार न्ह्यु बर्जाचार्य, गायक उदय सोताङ, भीम लिम्बु, गायिका रुपमा लिम्बुलगायत कलाकार तथा फ्यान आएका थिए। साँघुरो ठाउँ भएको हाङफुक साराङ्मा फ्यानहरू श्रेष्ठलाई उभिएरै सुनिरहेका थिए। विश्रामपछि श्रेष्ठले फेरि गाउन सुरु गरे, ‘म त दुरदेखि आए’ बाट। ‘साइलीबरी चियाबारीमा गुराँसको फुल सिउरी’ लगायत थुप्रै गीत राती १२ बजेसम्म उनले गाए। आफ्नो गायन सकिएपछि श्रेष्ठले आफ्नो सम्मानमा यस्ता कार्यक्रम गर्दा उर्जा आउने बताए। ‘यसरी बोलाउँदा अर्कै इनर्जी आउँछ। उत्प्रेरणा दिन्छ’, उनले आयोजकलाई धन्यवाद दिँदै भने। वि.सं. २००७ सालमा जन्मिएका गायक श्रेष्ठले २०२५ सालदेखि गायन यात्रा सुरु गरेका थिए।

हाङफुक साराङ्का एक सञ्चालक सुरज गुरुङले गायक तथा गायिकाको सम्मानमा आफूहरूले आगामी दिनमा थप कार्यक्रम गर्दै जाने बताए। ‘यो सुरुवात मात्रै हो, कलाकार हाम्रो देश र समाजका गहना हुन्। उहाँहरूलाई सम्मान गर्नुपर्छ। हरेक महिना दिग्गज कलाकारलाई बोलाएर सम्मान गर्ने हाम्रो योजना छ’, उनले भने।

प्रकाशित: २६ जेष्ठ २०७६ ०७:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App