कला

‘महको म’मा पत्नीको देहावसानको पाटो थप्न चाहन्छु’

पुस्तक ‘महको म’का लेखक मदनकृष्ण श्रेष्ठ सहजकर्ता र सहभागीको जवाफ दिँदै।

धनगढी –हास्य कलाकार तथा लेखक मदनकृष्ण श्रेष्ठले सोमबार धनगढीको एक कार्यक्रममा कहिले सहभागीलाई पेट मिच्ने गरि हँसाए भने कैयौंपटक आफूसँगै सहभागीलाई पनि रुवाए।

फाइन प्रिन्ट फिभर र धनगढी जेसिजले धनगढीमा आयोजना गरेको ‘घुम्ती साहित्य महोत्सव’मा श्रेष्ठ उनको पुस्तक ‘महको म’ लेखकका रुपमा उपस्थित थिए । पुस्तक वरिपरि रहेर सहभागीहरु र सहजकर्ता सह–प्राध्यापक गणेशराज जोशीले सोधेका अधिकांश प्रश्नको उनले रमाइलो रुपमा जवाफ दिँदा आमा र पत्नीको प्रसंगमा भने उनी भावुक बने।

सहजकर्ता जोशीले ‘पुस्तक ‘महको म’को नयाँ संस्करणमा थप केही लेख्नुपरेमा के थप्नु हुन्थ्यो ? भनेर सोध्दा मदनकृष्णको उत्तरले भावुक उत्तर दिए । ‘पत्नीको देहावसानको पाटोलाई थप्न चाहन्छु,’ ६ महिनाकै उमेरमा आमा गुमाएका र आमाको अभाव खट्केको सुनाउँदै उनले भने।कार्यक्रमका एक सहभागीले उनलाई ‘जीवन के हो’ भनी सोधेका थिए।

‘जीवन भनेको कसैले यात्रा, कसैले बगेको खोला, कसैले फूल हो भन्छन् । तर जीवन संघर्ष नै हो’ उनले भने, ‘ खलनायक, विषय र कुरा फरक भए पनि सबैका जीवन संघर्ष नै हो ।’ उनले जिवनमा सबैभन्दा नजिकको संघर्ष पत्नीको निधन भएको खुलाए।मदनकृष्णले आर्यघाटमा दाहसंस्कारका बेला भक्कानिएर रोएको सम्झँदै घर गएपछि मन हलुका भएको बताए । पत्नी यशोदाले क्यान्सरको पीडाबाट ६ वर्षमा मुक्ति पाएको र दाहसंस्कारका बेला हजारौंको सहभागिता र सहानुभूतिले मन सम्हालिएको उनले बताए।

उनले यशोदाको दाहसंस्कारका बेला हजारौंको सहभागितामा हुनु राजकीय सम्मान भएको बताए । ‘जन्म र बिहेलाई महोत्सवको रुपमा लिइन्छ । मृत्यु पनि महोत्सवको रुपमा हुनुपर्छ । मेरो पत्नीको मृत्यु महोत्सवको रुपमा हुँदा सौभाग्यशाली सम्झेको छुँ,’ उनले भने । पृथ्वीमा ३ भाग पानी र एक भाग जमिन भएको उल्लेख गर्दै जीवनका पिडा र समस्यामा डुंगा जस्तै तरेर खुसी र सन्तुष्ट हुनपर्ने उनले बताए।

महोत्सवमा लेखक युग पाठकले ‘मांङगेना नेपाल मन्थन’ पुस्तकका बारेमा आफ्ना विचार राखेका थिए । उनले बौद्धिक व्यक्ति राजनीतिक दलमा विभाजित हुनु र बाहिरबाट ल्याइएको विकासको सिद्धान्तले देशको समस्याको समाधानको जरो फेला पर्न नसकेको बताए।

‘बौद्धिकताको जिम्मा पनि नेतालाई दियौं र विकासको सिद्धान्त आयातित भयो,’ उनले भने, ‘किसानलाई सम्मान गर्ने वातावरण भएन । कृषि नगर्ने मान्छे कृषि विकास कार्यालयको प्रमुख हुने प्रवृत्तिले उत्पादन बढ्न सकेन ।’लेखक यज्ञशले ‘भुइयाँ’ पुस्तकमा सप्तरीदेखि महेन्द्रनगरसम्मका भूमिहिन, सुकुमबासी, दलितलगायतका समुदाय बिचल्ली भएका कथाहरु समेटिएको चर्चा गरे।

उनले तल्लोस्तरको मान्छे माथि उठ्नु पर्ने कुरालाई पुस्तकमा जोड दिएको सुनाए । यज्ञशलाई ‘मदन पुरस्कार’ विजेता पुस्तक ‘ऐना’ पुस्तकका लेखक रामलाल जोशीले सहजीकरण गरेका थिए । लेखक जोशीले पुस्तकमा तराईका भुमीहिनका कथा आएको र तराईका जस्तै पहाडमा हलिया, चरुवालगायतका भुमीहिनका समस्या पनि रहेको उल्लेख गरे।

‘मदन पुरस्कार’ विजेता महेशविक्रम शाहले ७ वटा कथा संग्रह लेखेको उल्लेख गर्दै सबैभन्दा बढी १० वटा कथासंग्रह लेख्ने भिमनिधी तिवारीको रेकर्ड तोड्ने लक्ष्य आफ्नो रहेको बताए । उनको पहिलो ‘सटाह’ कथा संग्रह हो भने पछिल्लो ‘भुइँकाट’ कथा संग्रह छ।

उनी समाजका अंश, भावना नै पात्रका माध्यमबाट कथासंग्रहमा लेखिएको बताउछन । उनले ‘छापामारको छोरो’मा द्वन्द्वको कथा लेखेका थिए । विश्वभरी कारण र परिवेश जे भए पनि द्वन्द्वबाट अनुभूत हुने पीडा एउटै भएको उनी बताउँछन । उनलाई अर्का ‘मदन पुरस्कार’ विजेता लेखक अमर न्यौपानेले सहजीकरण गरेका थिए।

कार्यक्रममा पुस्तक ‘रजगज’का लेखक हरिबहादुर थापाले भ्रष्टाचारको विषयको पुस्तक लेख्न सहज नभएको बताए । देश भ्रष्टाचारमा ३० औं मुलुकमा परेको र भ्रष्टाचारबाट पीडित भएको उनले बताए । पुस्तकमा तथ्यका आधारमा भ्रष्टाचारलाई पाठक समक्ष राख्न खोजेको उनले सुनाए । परिश्रमीलाई लुट्नेलाई सजाय दिनुपर्ने उनको भनाइ छ।

उनलाई पत्रकार दीर्घराज उपाध्यायले सहजीकरण गरेका थिए । लेखक थापासँगै प्रदेश ७ का आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह पनि अन्तरक्रियामा सहभागी बने । उनले संघीयतासँगै विकृति आएको र सबैतिर अनियमितता भएको स्विकार्दै कानुन र अधिकार नआएकाले अहिले केही गर्न नसकेको बताए । पछिल्लो समयमा पुस्तक पढ्ने क्रम घट्दै गएकोमा महोत्सवले पढ्ने संस्कृति विकास गर्ने जेसिजका उपाध्यक्ष तथा महोत्सव आयोजनाका संयोजक श्याम पाठकले बताए।

 

प्रकाशित: १८ वैशाख २०७५ ०३:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App