कला/संस्कृति

तँ

लघुकथा

‘तँ?’ हिँड्दा हिँड्दै उसको जिज्ञासा खस्यो।

‘म!’ गर्वकाे साथ चोर औंलाले नाकको चुच्चो छुँदै बोलें।

‘होइनस्! त्यो त तेरो नाक हो।’ उसको प्रतिक्रिया ओकलियो।

‘यी!’ मैले छातीमा दाहिने हातको लपेटो बजारेँ।

‘होइन-होइन! त्यो त तेरो छाती हो’ ऊ बोल्यो।

मैले दुवै हातले टाउको समाएँ र म भएको संकेत गरेँ।

‘त्यो त तेरो टाउको पो त!’ उसले फेरि भन्यो।

मैले टाउकोदेखि पैतालासम्म हातले छोएँ र उसको अनुहारमा नियालेँ।

‘त्यो त तेरो शरीर हो’ उसको बाजा सुमधुर आवाजमा बजिहाल्यो।

म सागरको भुमरीमा फसेको लौरो जस्तो भएँ तापनि निष्कर्ष निकालेको जस्तो हँसिलो भएर भनें, ’आत्मा! मेरो आत्मा।’ ऊ पड्किहाल्यो।

‘त्यो पनि तेरो आत्मा हो। तेरो शरीरको स्नायुतन्त्रको केन्द्रका रूपमा रहेको मस्तिष्कबाट प्रस्फुरित भएको ऊर्जा हो। तँ होइनस्!’

मैले मलाई चिनेको रहेनछु। अनि उसैसँग सोधे, ‘तैंले नै भन, म को हुँ?’

‘तँ? सँगै जन्मेको र सँगै मर्ने तेरो शरीर र तेरो आत्माको संयुक्त नाम होस्।’

प्रकाशित: १२ चैत्र २०८१ १३:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App