चैत्र १ गते भोलि शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘राजागंज’ को हिजो बुधबार काठमाडौं कमलपोखरीस्थित बिग मुभिजमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो।
प्रिमियर शोमा सिनेमा हेर्न पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेतृ हिसिला यमी, प्रतिनिधि सभा सांसद् अमरेशकुमार सिंह, निर्देशक नवीन सुब्बा, लेखक तथा निर्देशक मनोज पण्डित, निर्देशक दीपेन्द्र लामा, अभिनेत्री केकी अधिकारी, रीमा विश्वकर्मा, लुनिभा तुलाधर, शिल्पा मास्के र अभिनेता नाजिर हुसेन र सिनेमाको निर्माण टिम, कलाकार र पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो।
सिनेमा हेरे निस्कँदै गर्दा प्रिमियर शोमा उपस्थित पाहुनाहरूले सिनेमा उत्कृष्ट बनेको प्रतिक्रिया दिएका थिए। यो सिनेमाले मधेश आन्दोलनको क्रममा उत्पन्न मधेशी र पहाडी समुदायमा घटेका विभिन्न घटनाक्रम सूक्ष्म ढंगले देखाइएको प्रतिक्रिया मिलेको थियो। विश्वका प्रसिद्ध सिनेमा महोत्सवमा रिलिज भैसकेको सिनेमाले नेपाली दर्शकमाझ आउनुअघि मिलेको प्रतिक्रियाले व्यापारमा समेत फाइदा पुग्ने विश्वास निर्माण टिमलाई छ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ‘राजागंज’ मधेश आन्दोलनको सेरोफेरोमा निर्माण भएको र आफू त्यसको साक्षी भएको नाताले यो सिनेमा धेरै वस्तुवादी तथ्यपरक भएको बताए। ‘मलाई दुख के लाग्यो भने जुन सिनेमामा आज हामीले हेर्न पायौं पूर्ण रूपमा त्यसका महत्त्वपूर्ण केही अंश काटिएको छ भन्ने सुने। मैले बुझेअनुसार अब कति काटिएको हो, तर त्यो मुख्य अंश काटिएको हो भने त्यो त सिनेमाको टाउकै काटिए जस्तो हुन्छ,’ पूर्वप्रधानमन्त्री भट्टराईले भने।
यता नेतृ हिसिला यमील राजागंज उत्कृष्ट बनेको प्रतिक्रिया दिइन्। ‘यो सिनेमामा जो मुख्य पात्र दयाहाङ राईको रूपमा एउटा जनजातिको मान्छे नगएको भए, त्यो सिनेमामा फेरि एउटा आर्य कास्टको पात्र पनि छ। ती सबै समग्र पात्रले एउटा सेन्सेटिभ विषय, उत्पीडन र एक आमाको बच्चा पाउने अधिकारमाथि जुन एउटा कुठाराघात भयो, अनि एउटा जन्मिन लागेको बच्चा नजन्मिँदै उसको कर्डलाई काट्यो भने के हुन्छ? त्यस्तै तपाईहरूको सिनेमालाई पनि कसैले सेन्सर गर्यो भने त्यो बच्चा जन्मिँदैन। त्यसको भाव सबै मर्छ भन्ने मेरो भाव हो। त्यसैले राजागंज जस्तो सिनेमाको कुनै पनि दृश्य नकाटी रिलिज गरिनुपर्छ, नेतृ यमीले भनिन्।
यस्तै, अभिनेत्री केकी अधिकारी र रीमा विश्वकर्माले पनि सिनेमा राम्रो बनेकाले सम्पूर्ण नेपाली सिनेमाप्रेमी दर्शकलाई ‘राजागंज’ हर्ने सिफारिस गरे। अनि अभिनेत्री लुनिभा तुलाधरले हिरो पुरुष मात्रै हुँदैन। त्यसको उमेर रंगले केही पनि फरक पार्दैन्।
त्यस्तै एउटा सुन्दर सिनेमा राजागंज हल गएर निर्धक्क हेर्न आग्रह गरिन्। अभिनेता नाजिर हुनेनले पनि मधेश आन्दोलनको कथा उत्कृष्ट रहेको भन्दै जति मधेशी र पहाडीकाे विभेद छ। त्यति नै मेधेशी मेधेशीबीच पनि विभेद रहेकाले त्यस्ता कुरा अन्त्य गर्न आवश्यक बताए। यो सिनेमाले यस्ता कुरा सुन्दर ढंगले प्रस्तुत गरेकाले पनि राजागंज हेर्नै पर्ने सिनेमा रहेको उनको भनाइ छ।
सिनेमाका मुख्य अभिनेता दयाहाङ राईले सिनेमाका विभिन्ने लेयर हेर्न पाउने बताए। ‘आज जति जनाले पनि हेर्नुभएको छ, सबैले राम्रो प्रतिक्रिया दिनुभएको छ। शुक्रबारबाट रिलिज हुँदैछ। आशा गरौं दर्शकलाई पनि मनपर्ने।’
सिनेमाकी मुख्य अभिनेत्री आशा मगरातीले आफूले प्रिमियर शोमा सिनेमाभन्दा पनि अडियन्सको रियाक्सन हेरिरहेकी थिइन्। दर्शक कुनै कुनै मौकामा हाँस्नुहुन्छ। त्यो देख्दा निकै खुशी लाग्छ।
निर्देशक दीपक रौनियारले सिनेमा सेन्सर झमेलामा केही दुख लागे पनि अहिले प्रिमियर शोमा मिलेको प्रतिक्रियाले खुशी मिलेको बताए। आफूले देखाउन खोजेको सबै कुरा दर्शकलाई शुक्रबारबाट देखाउन नपाउने हुँदा केही दुख त अवश्य लाग्छ तर, हामीले जे जति देखाएका छौं दर्शकलाई मन पर्छ भन्ने अपेक्षा छ।
प्रकाशित: २९ फाल्गुन २०८१ १३:२५ बिहीबार