कला/संस्कृति

भाव-विरेचनमा बाँचिरहेको टीकापुर

टीकापुरको नाम सानोमा रेडियोमा सुनें हुँला। अकस्मात् हेलिकोप्टर चढेर महाराजको सवारी भयो भनेर पनि सुनें हुँला। म राजनीतिज्ञको सेवामा थिएँ। राजनीतिको आफ्नै कामना थियो। तर मैले कहिल्यै राजनीति गरिनँ। सहयोगीको भूमिकामा थिएँ। गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा मुलुकको विभिन्न ठाउँमा जाने मौका पाएँ। त्यसबेला म टीकापुर आएको थिएँ।

टीकापुर भन्नेबित्तिकै नयाँ सहर, नयाँ बसोबास, नयाँ बस्ती। पछिल्लो कालखण्डमा हामीले नेपालको कोल्टे गर्दै गरेको संघीयताको सन्दर्भमा टीकापुरमा उत्पन्न सामुदायिक तनाव बढी सम्झन्छौं। नयाँ ठाउँ बन्दै गर्दा यसलाई कसरी बुझ्ने हो भनेर जहिल्यै मनमा राखियो। टीकापुर, महेन्द्रनगर, राजविराज भन्नेबित्तिकै नेपालको बसोबास र नगरहरूको विकासको सन्दर्भमा एउटा तस्बिर हाम्रो अगाडि आउँछ।

टीकापुरमा उभिएर यो कुरा गरिरहँदा इतिहासमा यो नाम धेरै पुरानो होइन। टीकापुर भनेको पूर्वाधार हो, बाटो हो, व्यवस्थित सहर हो भन्दाभन्दै पनि टीकापुर अपूर्ण रहन्छ। कुन सहर र कुन ठाउँ पूर्ण हुन्छ, त्यो भन्न सकिन्न। मोदी बनारसलाई अझै पनि क्योतो (जापानी सहर) बनाउने प्रयासमा छन्। जुन बनारसको कल्पना हामी गर्छौं, त्यो बनारस अब हामीमाझ छैन। समयअनुसार सहर परिवर्तन हुँदै जाँदो रहेछ। ‘वास्तविक घर’ हुन समय लाग्छ।

‘हाउस’ र ‘होम’को फरक मैले अनुभव गरें। हामी घर बनाउँदा निकै राम्रो बनायौं भन्छौं। तर पसेको बिहान भान्छा मिल्दैन। बस्दै जाँदा वास्तु मिल्दैन। पूर्व मिल्दैन, पश्चिम मिल्दैन। एउटा घर साँच्चैको बासस्थान बन्न समय लाग्छ। ६० वर्षको इतिहासमा टीकापुर हाउसबाट होम हुने प्रयासमा छ। मलाई लाग्छ, टीकापुरमा बल्ल तीन पुस्ता हुँदै छ। यो बन्ने सन्दर्भमा फेस्टिभलहरूमा प्राण प्रतिष्ठा गर्ने काम गरेका छन्।

निर्जीवबाट सजीव समाज बन्ने प्रयासमा छ। तर समाज यति चाँडै परिवर्तन भइरहेको छ। पुस्तान्तरणको कारण हाम्रो इच्छा आकांक्षा बढेको छ। प्रशासनमा अहिले पनि गुनासो सुनिन्छ। हामीलाई गाह्रो पार्न कर्णाली हुम्ला, जुम्ला पठाइन्छ भनेर। तर राणाको सन्तानहरूका बिचमा आपसी द्वन्द्व भयो भने पनि बिर्ता र मौजा दिइन्थ्यो तर कर्णाली वा पाल्पा पठाइन्थ्यो। मान्छे विभिन्न कारणले कहाँबाट कहाँ जान्छ। राजा महेन्द्र धनगढीबाट टीकापुर नआएको भए के हुन्थ्यो? यहाँको मान्छे के हुन्थे? कुनै पनि घटनाले ठाउँ र परिवेश जन्माउँछ। व्यक्ति पनि त्यही हो। बाटोमा जाँदा अचम्मको मान्छे भेटिन्छ, संसर्ग हुन्छ।

कुनै ठाउँमा उभिएर ध्यान गर्नुपर्ने कुराचाहिँ जहाँ हाम्रो अवस्थिति छ, जहाँबाट हामी अवलोकन गर्छौं, हामी अनुभव र व्यवहारको धरातलमा उभिएर कुरा गरिरहेका हुन्छौं। हामी सबैको दृष्टिकोण फरक छ। लोकतन्त्रको मर्म पनि त्यही हो। हामी सबै एकै ठाउँमा बसे पनि उभिएको ठाउँ अलिकति फरक हुन्छ। जिरो त्यहीँ हुन्छ तर हेर्ने ठाउँको नापले फरक पार्छ।

टीकापुरमा उभिएर हेर्दा पहाड कस्तो देखिन्छ? मधेस कस्तो देखिन्छ? समुदाय कस्तो देखिन्छ? विगत कस्तो देखिन्छ? वर्तमान र भविष्य कस्तो देखिन्छ? त्यो निकै महत्त्वपूर्ण कुरा छ। यो भेलाको महत्त्वपूर्ण पक्ष के हो भने यसमा हामीले आआफ्ना दृष्टिकोणहरू पस्कन्छौं।

अहिले फागुनमा धेरै फेस्टिभल छन्। यसलाई मैले मिनी लोकतन्त्र भनेको छु। संसद्मा जेसुकै भइरहेको होस्, मतलब छैन। तर तपाईं हामी स्थानीय ठाउँमा, सहरमा मेरो भाषा के हो, मेरो अन्तरसमुदाय के हो? मेरो स्त्रीसँग सम्बन्ध के हो? जातभातसँग सम्बन्ध के हो? सिर्जनशीलतासँग सम्बन्ध के हो? प्रश्नहरू हाम्रा समाजका के हुन्? भनिरहेका छौं।

लोकतन्त्र संसद्ले मात्र बलियो बनाउँदैन। यस्तै जमघट र कुराकानीले पनि बलियो बनाउँछ। एकजना श्रेद्धय साथीले भन्नुभयो-अब कुरा कति गर्ने हरिजी? बल्ल त कुरा गर्न पाएका छौं। १० वर्ष त भयो। केही समयघि कुरा गर्दा दुवैथरी हरियो लुगा लगाउनेबाट त्रास थियो।

मान्छेहरू जब ठाउँ थातथलो छाड्छन्, अस्तित्वको खोजीमा हुन्छन्। यहाँ जो पहिल्यै बसोबास गर्न आउनुभयो, जाँगर र जोससहित आउनुभयो। झाडी फाँड्नसमेत क्षमता भएका मान्छे थिए। तर यहीँ पनि त मान्छे थिए।

लोकतन्त्रले आएका र गएकाको बिचको संवादलाई बलियो बनाउँछ भन्ने मेरो मान्यता हो। को पहिले आयो, कहिले आयो भनेर लड्ने होइन। आइ त सक्यो। कहीँ न कहीँ ‘रिकन्सिलिएसन’ (मिलाप) हुनुपर्छ। यहाँ हरेक भाषाका मान्छेले कुरा गर्न पाउनुपर्छ। तर त्यसको आधारभूत तथ्य समानता हो। लोकतन्त्रको सबैभन्दा ठुलो आधारभूत मूल्य भनेको समानता हो।

जुन समाजमा इच्छा आकांक्षा र केही गर्छु भन्ने ढुकढुकी हुँदैन, त्यो त मरेको समाज हो। उर्लंदो आकांक्षा नराखेर के गर्नु। इच्छा आकांश कुनै पनि समाजका लागि नौलो होइन। त्यसलाई व्यवस्थित गर्न सकिन्छ। इच्छा आकांक्षा बढ्यो भने अलिअलि निराशा आउँछ। त्यसको पनि व्यवस्थापन गर्न सकिन्छ। तर कहिलेकाहीँ समाजमा केही भएन भने समाज नैराश्यतिर लम्कन्छ। कताकता अहिलेको नेपालको पलायन हेर्दा नैराश्यतिर जान लागेको जस्तो देखिन्छ। जुन समाज डाँडाकाँडाबाट झरेर झाडीपाडी गरेर नदीनाला तरेर सारा कुरा गरेर आएर बसेको छ के त्यो समाज पलायन हुन सक्छ?

व्यक्ति हार्न सक्छ तर समाज हार्न सक्दैन भन्ने मान्यता छ मेरो। त्यसकारण, पुनर्जागरणको सम्भावना हरेक समाजमा हुन्छ। समस्यालाई दबाउने होइन। खुलेर कुरा गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्छ। २०६२/६३ को आन्दोलनमा सबै एउटै सूत्रमा बाँधिन्छौं भन्दाभन्दै पनि जसले एजेन्डा बोकेका थिए। उनैले एजेन्डा छाडेका कारण हामीलाई डर लागेको हो। अहिले हामी संशयमा छौं। परीक्षण हामी सबैलाई दिइएको छ।

यो डराउने समय होइन, विश्वास सिर्जना गर्ने समय हो। जुन व्यक्तिगत कुरा भनिरेहका छौं। त्यो राजनीतिक कुरा हो। त्यो पावर (शक्ति) र सम्बन्धको कुरा हो। तर हामी प्रश्नको कठघरामा छौं। यो समयमा टीकापुर के हो भन्ने जुन ‘कथार्सिस’ (भाव–विरेचन) छ, त्यसैबाट केही साहित्यको सिर्जना हुन्छ। टीकापुरमा जुन तनाव देखिरहेको छु। सिर्जनाले तनाव कम गर्छ र बाटो पनि दिन्छ। साहित्यले जोड्छ र मौका पनि दिन्छ।

टीकापुर बाटो खोजिरहेको छ। ४०/५० वर्ष भइसक्यो अब। हामी भए घर जाऔं सुतौं भन्ने हुन्छ। तर, सहर भएको हुनाले यसले कोल्टो फेरिरहेको छ। सबै सहर एकैनासका हुन्। त्यसको पहिचान बनाउनुपर्‍यो। सहरको ‘अर्गानिक इभोलुसन’ (जैविक उत्परिवर्तन) हुन्छ। टीकापुरमा अर्गानिक इभोलुसन भएको होइन। टीकापुर सोचेर सम्झेर रेखा कोरेर बनाइएको सहर हो।

चण्डीगढ पनि रेखा कोरेर बनाइएको सहर हो। सिटी बनाउने सन्दर्भमा चण्डीगढ पनि ‘फेलियर सिटी’ भनिन्छ। सबैथोक हुँदाहुँदै पनि त्यो बेलाको भारतको चिन्ता के थियो भने हामीसँग लाहुर छैन। दिल्ली टाढा छ। पन्जाब विभक्त भएर बाँडिएको छ। सपनाका निम्ति चण्डीगढ सहर बनाइयो। त्यो सहरको अन्तद्र्वन्द्व मैले देखेको छु।

सहर भनेको पुँजीवादको उत्पत्तिको थलो हो। गाउँ भनेको सामन्तवादको थलो हो। त्यसकारण चण्डीगढमा धोबी कहाँ बस्ने? धोबीको निम्ति त्यो सहर बनेको थिएन। ग्वालाका निम्ति त्यो सहर बनेको थिएन। साइकल बोईका निम्ति त्यो सहर बनेको थिएन। त्यो सहर सम्भ्रान्तहरूलाई राख्न ब्युरोक्र्याट्सको शासन व्यवस्थाका निम्ति बनेको थियो।

हामी अझै पनि गाउँबाट सहर बन्ने प्रयासमा छौं। त्यसले उत्पन्न गराउने सामाजिक तनाव अर्को किसिमको छ। भोलिको सहरको कल्पना गर्ने हो भने सार्वजनिक ठाउँ पनि छाड्नुपर्छ। भएको माइतीघर मण्डल मास्ने जस्तो काम नगर्नुहोला। चित्त नबुझेको ठाउँ राख्नुहोला। तब मात्र सहरले पूर्णता पाउँछ। यही नै लोकतन्त्रको सुन्दर पक्ष हो।

(शनिबार सुरु टीकापुर साहित्य महोत्सवको उद्घाटनमा राजनीतिक विश्लेषक हरि शर्माले दिएको विद्वत्प्रवचनको सम्पादित अंश)

प्रकाशित: २५ फाल्गुन २०८१ ०९:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App