कला/संस्कृति

भाग्यमानी बर

निबन्ध

पीपलबर–पीपलको महत्व सबैभन्दा पहिला कसले बुझ्यो किन बुझ्यो र केका लागि बुझ्यो? त्यसलाई चौतारीमा पहिला सजाउने कुरा कसको मानसपटलमा आयो? र, कसले पहिलो चौतारी बनायो? त्यसको उत्तर आजसम्म पाएको छैन। तर पीपलबर–पीपलको छायामा सयौँ बिसौनी बिसाइए। सुस्ताइए। लामो खुइँया काढिए। तर, चौतारी त्यहाँ अडिग छ, हजारौं यात्रुलाई शीतलता प्रदान गर्दै। यसैले नै होला अग्रजहरूले आशीर्वाद दिँदा पीपल‘बर–पीपलजस्तो तपेर रहनु’ भनेको पनि।

चौतारीको नजिकै पुगेर बिसाउँदा कहिलेकाहीँ मनमा एउटा भाव आउँछ। जहाँ प्यास मेटाउनका लागि कलकल बगिरहेको सानो धारो होस्। जसले जलेको आत्मालाई केही शीतलता प्रदान गरोस्। मीठो आशीष देबोस्– मैले जस्तै तिमीले पनि हजारौँको सेवा गर। तिनीहरूको दुःखलाई आफ्नो सम्झ तर याद गर तिम्रो मन लोभ–पापबाट टाढा रहोेस्। मलाई हेर न, मेरो शीतलतामा रमाउँछन्। कति त बास बस्छन्। मेरै काखमा खाना पकाउँछन्। मलाई उनीहरूको पसिनाको बास्नासँगै तिनीहरूले उमालेको गुन्द्रुकको वास्ना पनि उति नै मन पर्छ। उनीहरू खान्छन्। म अघाउँछु।

गोठालाहरूको सुसेली अर्को मीठो स्पन्दन हो मेरो। उनीहरूको बाँसुरीको धुन, बालबालिकाको गट्टाको उफ्राइ र बेलाबेलामा मेरो हाँगाका खेलिने सैसैला मलाई प्यारो लाग्छ। गोठालाहरूले मेरै आङ्मा बसेर बुन्ने डोकोका हरेक आँखाबाट म समाजलाई हेरिरहेको हुन्छु।

सिकारुले बनाउने हलोबाट जोतिने धर्तीको कल्पना गर्छु। तलतल टारीखेतमा त्यही हलोले जोतेर झुलेका लहलह धानका बाला हेर्छु। कहिलेकाहीँ म यी सबै कुरा नपाउँदा एक्लो महसुस गर्छु। नितान्त एक्लो। त्यसबेला मलाई छोएर जाने हावामा म सुस्केरा छोड्छु। त्यो मेरो वेदनाको पीडा हो। तर, आहा ! म त संसारको भाग्यमानी बर। मेरो आङ्मा ढाँक्रेले छरेका अङ्गार र खरानी, केटाकेटीले त्यागेका विष्टा यसमा मलाई कुनै गुनासो छैन। मलाई थाहा छ– उनीहरू यति गर्नकै लागि यहाँ आउँछन्। उनीहरू नआए मेरो आङलाई वनमारा र बद्रीफूलले ढाँक्छन्। मेरो मित्रता र वात्सल्य भने त्यसै त्यसै हराउँछ।

कतिको प्रेम कहानी। कतै विरहका गीत। युद्ध र वीरताका गाथा। मैले नसुनेको केही छैन। र, कहिलेकाहीँ म कचरी पनि सुन्छु। मनमनै भन्छु– हे ईश्वर! म संसारका सबै कुरा सुन्न सक्छु। तर, यो कचरी मेरो आङमा फेरि नहोस्। कति नमिल्दा आरोपहरू ओकल्न सक्छन् मान्छे। मनमिल्दा आन्द्राभुँडी साटेर हिँड्छन्। नमिल्दा कुरा काटेर हिँड्छन्।

म पनि यसै पीपलबर–पीपलको वरिपरि घुम्दाघुम्दै पाकेका बरका दानाहरू छाम्दाछाम्दै र यसको शीतलतामा हराउँदा हराउँदै भावुकतामा कतिबेला कवि बनें? मलाई यो कुराको कुनै सम्झना छैन। मैले उसका दुःख सुने। गोठालाले टुक्टुक्याएका डोब देखेँ। भाँचिएका हाँगा हेरेँ। भत्किएका पर्खाल भेटें। अझ साँचो अर्थमा चारैतिरबाट चिथोरिएको पाएँ। अनि निष्कर्ष निकालेँ– पीडा भोगाइ र सहनशीलतामा यो चौतारो र मेरो देश बराबर छन्।

हरेक चौतारोका हावा, शीतलता र पीडा बराबर छन्। सद्भाव र माया पनि उस्तै। तर पनि, मानिसहरू ‘फलानाले रोपेको यति वर्ष पुरानो’, यस्तै कुराहरूको चर्चा गर्छन्। राख्दैनन् चर्चा र सहानुभूति पीपलबर–पीपलको योगदानको। पानीको झोक्का, हावाको वेग, टाउको थिच्ने भारीको बिसौनी र पसिना ओभाउनमा उसले गरेको योगदानको मूल्य खै? मेरो मथिङ्गल चर्कने गर्छ यो कुराले कहिलेकाहीँ। यो बेला मलाई सुस्तरी ऊ कानमा भन्छ –म त अरू नै रूखमा रहेर पनि जीवन निर्वाह गर्ने वृक्ष हुँ। मलाई कसैले जमिनमा गाडिदियो र त अहिले म पूरै जमिनमा अडिएको छु। भो तिमी व्यार्थको चिन्ता नगर! अरे कति महान छ, यो चौतारो!

म कवि बन्दै गर्दा बरका हाँगाहरू लहरिएझैँ एकपछि अर्को झुण्डिदै आउँछन् कविता। यति मिठासपूर्ण भएर आउँछन्, मानौं वर्षौंदेखि तिर्खाएको जमिनमा वर्षात् आएको होस्। अनि, पलाउँछन् नयाँ आँकुरा कविता, गजल र मुक्तक भएर। कुनै गद्य त कुनै पद्य भएर। यी सबै प्रिय र बराबर लाग्छन् मानौ कुनै औँलाबिना मुठ्ठी बनाउनु नपरोस्।

चौतारीको हावा जस्तै कल्पना लगामबिना कल्पना नै भएर दौडिन्छ। जराले जमिनमा टेके जस्तै, लाग्छ उसको लक्ष्य सागर चुम्नु हो। अनि हाँगाबाट देखिने अर्को क्षितिज भेट्न लम्कनु हो। यो यात्रा निरन्तर अगाडि बढ्छ। जसरी ढुङ्गाबाट मूर्ति र मूर्तिबाट देवता बनेको होस्। जहाँ अगाध प्रेम र आस्था रहेको होस्। यस्तो परिवेशमा यसरी पुजिन्छन् शब्द कि ती सबै मूर्ति हुन्। जसलाई पूर्ण आस्थाले देवता मानिएको छ। अनि चढाइएको छ चौतारीमा भावपूर्ण पुष्पगुच्छाहरू।

सिकाइको एउटा महत्त्वपूर्ण गुरु हो चौतारो। त्यहाँ देखिएको बर त्यसको साक्षी हो। जसको विश्वास अगाध छ। जरा गाडिएको धरातल जस्तै। पूर्खाहरूको विश्वास र आस्था छ। यहाँ नत्र किन ‘ बर–पीपल तथा विष्णु शाखा देव महेश्वर’ भनिन्थ्यो होला र? यसमा केही कारण पक्कै छ। हामी सतहमा भुलिरहेकालाई यो कुरा जान्न मन नपर्न सक्छ।

कालदौरेको कथा जस्तै छ यो पनि। ‘खान लाउन पाएकै छु किन गर्नु सत्यनारायणको कथा’ भन्ने उसको उखान आज पनि धेरै गाउँमा सुन्न सकिन्छ। दसैंमा टीका लगाउँदा ‘खेती नगर्नु, बस्तु नपाल्नु, कहीँकतै जान पाइँदैन’ भनेको कुरा धेरैले स्मरण गर्छन्। तर, उसले चौतारो बनायो । हो, यस्तै कल्पनामा नै बनाइएका कति कुरा धरोहरको रूपमा विकास हुन्छन्। र, बिस्तारै आस्थामा परिणत भएर पूर्व जीवनको महत्वसँग गाँसिन्छन्। तर, पूर्व जीवनको कथा रहस्यको गर्भ जस्तै छ। कहिल्यै उजागर नहुने।

सुख्खा स्थानमा मौलाउन सक्ने बरजस्तै लामो आयुका लागि हामीलाई आशीर्वाद दिने गरेको पाइन्छ। यो विश्वास र आस्थाका कारण नै गरिएको होला। सुख्खा स्थानमा रोपिएको बरले पानीको चाह राखेको भए त्यसको अस्तित्व लोप भइसक्थ्यो होला। तर उसले त्यही सुख्खापनामा आफ्नो जीवनको अस्तित्व खोज्यो र त आजसम्म डाँडामा अडिइरहेको छ।  

जीवनमा जहाँ जसरी र जे छ त्यसैमा टिकेर रहनु भन्ने सन्देश यसले दिएको हुनुपर्छ। नत्र खन्यूँ, सिरिश र मलहोत्रो बन्ने किन सकेन? पक्कै पनि हामी मान्छे जस्तो बहुरूपी हुन नचाहेको हुनुपर्छ। यहाँ निष्ठा र सिद्धान्त दुवैको कुरा आउँछ। हामी त फाइदाको भोगी हौ। त्यसरी पर्खेर बस्ने फुर्सद कहाँ! सधैँको चटारो र हतारो।

यही कारण मलाई चौतारोले सम्झायो। जीवन अलिकता यात्रा, थोरै बाटो र अनगिन्ती मोडहरू भएर अगाडि बढ्छ। अहो! म कल्पना पनि गर्न चाहन्न, त्यो भत्किएको बाटो र छरिएका काँडाहरूका बारेमा। जहाँ त्यो पलको सम्झनाले मात्र काँडा उम्रन्छन् आफ्नै शरीरमा। त्यसपछि मात्र हो आभास हुने– रक्त र पीडाका। मेरो चौताराको आदिम कथा भन्ने र पूरै सुन्ने साहस त मभित्र छैन। र, पनि मनभित्र रहेका अन्तद्र्वन्द्वहरू यत्तिकै आउँछन्।

यही परिवेशमा मलाई गिजोल्दै जन्मन्छ एउटा भाव– चौताराहरू किन आउँछन् जीवनको अनुभूति र पथ निर्देशन गर्न? जुन यादगार बनेर रहन्छ, मानव मस्तिष्कको अन्तस्करणमा। चाहेर पनि त्यसलाई मेट्न सकिंदैन। सायद त्यो मेटिएको क्षण मानव शरीर कुनै घाटमा जल्दै गरेको हुनेछ। म भन्न सक्छु– मैले देखेको जीवनको शाश्वत सत्य यही हो।

(निबन्धकार पौडेलको निबन्धसंग्रह ‘सोकेसको ऐना’ मा संगृहीत।)

प्रकाशित: २४ फाल्गुन २०८१ ११:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App