ऊ पशुपतीको भिडमा झुत्रेझात्रे पोसाकमा देखिएको थियो। म आश्चर्यचकित भएँ। टाढैबाट मैले धनपती भनेँ। उसले सुनेन। हातमा कचौरा लिएर ऊ भन्दै थियो, ‘यो दुखीलाई दान दिनुस्, हजुर।’
उसको अवस्था देखेर म अतीतमा हराएँ। कुनै दिन म उसको कोठामा पुगेको थिएँ। उसले पत्तै पाएन। ऊ एक्लै बर्बराइरहेको थियो, ‘हैट, मैले त सोचेकी पनि थिइनँ। बौद्धिकताको प्रमाणपत्र बोकेर कहाँकहाँ पापड बेलिनँ। साउदीको तातो खाइनँ कि? नेताको मन्दिर धाइनँ कि!’
भाउजूले हजुर, कफी भन्दा ऊ झसङ्ग भयो। मलाई धाप मार्दै भन्यो, ‘पत्तो नदिई नै अचानक आइस्!’
मैले मेरो आर्थिक समस्या तेर्स्याएँ। उसले दिल खोलेर सहयोग गर्याे। म निस्किनै लाग्दा ऊ भाउजूसँग भन्दै थियो, ‘अब तिमीले केही दुख गर्नु पर्दैन। जे जति मन लाग्छ, खर्च गर। नोकरचाकर राख। सामाजिक कल्याणको नाममा यति धेरै सम्पति कमाइने रहेछ, बेकारमा म जागिर मागीमागी हिँडेँ।’
उनले प्रतिवाद गरिन् ,‘कुकर्मको फल नमीठो हुन्छ नि! चेतना होस्।’
मन्दिरको घण्टी बज्दा म झसङ्ग भएँ। उसलाई यताउता खोजेँ। ऊ कता हराइसकेछ। मनमनै सोचेँ ,‘बिचरा, ठुलो र सभ्य माग्नेबाट असली माग्ने भएछ।’
प्रकाशित: ८ माघ २०८१ १३:५१ मंगलबार