कला

उपन्यासकार तिवारीको ‘९६ गड्डी’ काे अन्तरक्रिया

उपन्यासकार प्रकाश तिवारीको उपन्यास ‘९६ गड्डी’ उपन्यासकाे अन्तरक्रिया कार्यक्रम भएको छ।

बुधबार राजधानीमा नेपाल प्रज्ञाप्रतिष्ठान तथा नेपाल स्रष्टा समाजद्धारा आयोजित समकालीन नेपाली उपन्यासका स्वर तथा ‘९६ गड्डी’ उपन्यास विषयक अन्तरक्रिया कार्यक्रम भएको हो।

कार्यक्रममा समकालीन नेपाली उपन्यासका प्रवृत्तिबारे चर्चा गर्दै नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले समकालीन समयको लेखनमा जोड दिंदै वस्तुलाई विभिन्न ढंगले हेर्ने होइन वस्तुलाई पुर्नव्याख्या गरेर लेख्ने कुरा समकालीन लेखन हो। नेपालको सबैभन्दा ठूलो दुश्मन भ्रष्टाचार भएको बताउँदै उनले तिवारीको उपन्यास यही विषयमा केन्द्रित भएको बताए। भ्रष्टाचारको विरोध गर्दै उनले भने भ्रष्टाचारमुक्त देश बनाउन साहित्यकारले कलम चलाइरहनुपर्ने बताए।

अर्का वक्ता पत्रकार एवं पुस्तकका टिप्पणीकर्ता राजकुमार बानियाले नेपाली साहित्यमा उपन्यासलाई गोल्डेन गेटको संज्ञा दिंदै लेखकले लेखकलाई पढ्ने प्रवृत्ति नभएको औंल्याए। सामाजिक वास्तविकतालाई साहित्यको विषयवस्तु बनाउने उपन्यासकारको रूपमा प्रकाश तिवारीलाई आफूले बुझेको बताए।

तिवारीको उपन्यासले आलोचनात्मक चेत बाेकेको बताउँदै क्रान्तिकारिता भ्रष्टीकरणमा स्खलित भएको चर्चा गरे। उपन्यासमा पाठक तथ्य हो कि कथा भन्नेमा अलमलिन सक्ने उनको तर्क थियो।

अर्का वक्ता नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले समकालीन नेपाली उपन्यासका विभिन्न प्रवृत्तिको चर्चा गर्दै आफूलाई कसरी अरूभन्दा फरक देखाउने भन्ने नाममा उपन्यासहरू चिप्लिएको औल्याए। उपन्यास लेख्दा लेखिने समयको यथार्थप्रति इमान्दार भएर लेखिनुपर्दछ।

यसैगरी ९६ गड्डी आलोचनात्मक यथार्थ विशेषत भ्रष्टाचारसँग सम्बन्धित भएर लेखिएको छ। यसमा समसामयिक विषयवस्तु भए पनि केही नाटकीय र श्वैरकाल्पनिकता पनि समावेश गरेको मैले पाएको छु। उनले भने।

यसैगरी चर्चाकार अनिता कोइरालाले समीक्षात्मक टिप्पणी गर्दै उपन्यासले नारी पात्रमाथि न्याय गरेको बताइन्।

कार्यक्रमको अध्यक्षता गरेका नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले नेपाली साहित्यमा पढ्नलायक कृति धेरै नहुनु चिन्ताको विषय भएको बताए। उनले अरू क्षेत्रमा जस्तै साहित्यमा पनि भ्रष्टाचार भएको देखिएको छ भन्दै अरबपतिहरू अरूलाई आफ्नो नाममा साहित्य लेखाएर चर्चित बन्नु अनि निरन्तर लेखिरहनेहरू पछि पर्नु बिडम्बनाको विषय भएको बताए। उनले पठन संस्कृतिको विकास नहुनुमा चिन्ता समेत व्यक्त गरे।

कार्यक्रममा प्राज्ञ अमर न्यौपाने, उपन्यासकार प्रकाश तिवारी, देविका तिमल्सिना लगायतले मन्तव्य राखेका थिए।  

प्रकाशित: २७ मंसिर २०८१ ११:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App