कला

न्युजिल्यान्डकी हानाको भाइरल संसद् गीत

विश्व

नेपाल र न्युजिल्यान्डको सम्बन्ध सगरमाथा आरोहणसँग गाँसिन्छ। एडमन्ड हिलारीको देशका रूपमा हामी न्युजिल्यान्डलाई चिन्छौं। नेपालबाट पहिलो पटक न्युजिल्यान्ड भ्रमण गर्ने व्यक्तिका रूपमा हामी सत्यमोहन जोशीलाई जान्दछौं। अहिले भने न्युजिल्यान्डमा ठुलो सङ्ख्यामा नेपालीहरू बसोबास गरिरहेका छन्। एक तथ्याङ्कअनुसार अहिले न्युजिल्यान्डमा १५ हजारको हाराहारीमा नेपालीहरू बसोबास गर्छन्। त्यही देशमा हालै निर्वाचित २२ वर्षीया एक सांसद विहीबार संसारभर भाइरल हुन पुगेकी छन्। उनको नाम हो, हाना रहिटी मैपी–क्लार्क।

एक वर्षअघि अर्थात् सन् २०२३ को अक्टोबरमा न्युजिल्यान्डमा भएको संसदीय चुनावमा ६ वर्षे लेबर पार्टीले सत्ता गुमाउँदै नयाँ कन्जरभेटिभ पार्टीले सत्ता हात पार्‍यो। ६ वर्षको दौरानमा अन्तर्राष्ट्रिय स्तरमा प्रधानमन्त्री जेकिन्डा अर्डेनको छवि चुलिए पनि राष्ट्रिय स्तरमा उनको पार्टीले कुनै छवि निर्माण गर्न सकेन र अन्ततः कन्जरभेटिभ पार्टीले चुनाव जित्यो।

त्यही चुनावमा २१ वर्षीया सांसदका रूपमा हाना चुनिएकी थिइन्। न्युजिल्यान्डको १७० वर्षे इतिहासमा यति कम उमेरकी सांसद चुनिएका थिएनन्। त्यसो त सन् १८५३ को चुनावमा २० वर्ष सात महिनाका जेम्स स्टुआर्ट–वर्टली सांसद बनेका थिए। तर हानाको कीर्तिमान एक महिलाका रूपमा र आदिवासी उम्मेदवारका रूपमा भने रहिरहने छ।

उनको जितले न्युजिल्यान्डमा माओरी इतिहासतर्फ हरकोहीलाई चासो बढाएको छ।

हानाको भाइरल गीत

न्युजिल्यान्डको संसद् चलिरहेका बेला गत विहीबार अचानक हानाले गीत गाउन थालिन्। उनलाई अन्य ६ जना सांसदले साथ दिए। जुन हाउभाउका साथ उनले गीत प्रस्तुत गरिन्, त्यसले आक्रोशको झल्को दिन्थ्यो। उनले गीत गाउँदै गर्दा सभामुख र अन्य सांसदहरूको दिकदारी, असहज र अप्ठेरोपन प्रस्ट देख्न सकिन्थ्यो। गीत गाउँदै उनले माओरी जातिसँग बेलायती दरबारले गरेको सम्झौताको प्रति च्यातेपछि उनलाई एक दिनका लागि निलम्बन गरिएको थियो।

केही समययता न्युजिल्यान्डका आदिवासीहरूले आफ्नो आवाजलाई मुखर गर्न थालेका छन्। मूलतः पछिल्लो समय माओरीहरूलाई पहिले सरकारले दिइरहेको स्वास्थ्य र अन्य सुविधाहरूमा क्रमशः कटौती गरिरहेको आक्रोशस्वरूप संसद्मा उनले आफ्नो विरोध गीत प्रस्तुत गरेकी थिइन्।

तर सो प्रस्तुतिलाई भने कतिपय अतिवादीहरूले रुचाएनन्। उनको संसदीय प्रस्तुतिपछि घरमा आक्रमण गर्नेलगायतका क्रियाकलाप हुन थाले। यसले माओरीहरूमाझ असन्तुष्टि झन् चुलिन थाल्यो। यसै क्रममा संसद्मा माओरीहरूको अधिकार कटौती गर्ने कानुनसमेत बनाउने प्रक्रिया अघि बढाउन थालेपछि हानाले अन्य सांसदहरूसँगै अर्को प्रस्तुति ६ महिनाअघि दिएपछि भने उनी संसारभर भाइरल हुन पुगेकी हुन्।

उनले संसद्मा गाएको गीत ‘टुतिरा माई नागा इवाई’ हो। यो भाइरल गीतको अर्थ ‘आऊ, सबै जना सँगै आऊँ, एक जुट होऊ’ भन्ने लाग्छ। माओरीहरूको विभिन्न पर्वमा यो गीत एक साथ नाच्दै गाउने चलन छ। यो गीतमा जुन हाउभाउ र कटाक्ष आवश्यक पर्छ, त्यसका कारण नै यो गीत भाइरल बन्न पुगेको हो।

त्यसो त यो गीत संसद्मा गाउनु जरुरी भइसकेको थियो। पछिल्लो समय उनको घरमा आक्रमण हुने मात्र होइन, संसद्मा माओरीहरूको अधिकार कटौती गर्नेदेखि लिएर माओरीहरूमाथि विवादास्पद टिप्पणीहरू पनि हुन थालेका थिए। त्यसैको जवाफस्वरूप सांस्कृतिक पहिचानलाईसशक्त रूपमा देखाउन संसद्मा यो गीत प्रस्तुत गरिएको थियो। यसले सबै सांसदलाई माओरी समुदायको गौरव र सहनशीलताको झल्को दिएको केही टिप्पणीकारले बताएका छन्।

गीत भाइरल हुनुका पछाडि यसको माधुर्य र सन्देश पनि एक हो। यो गीतले न्युजिल्यान्ड गोराहरूको मात्र देश होइन भन्ने सन्देश दिन सफल भएको छ। आफ्नो भाषा, संस्कृति र इतिहास जोगाउन सहकार्य गर्नु जरुरी रहेको सन्देश संसद्मा गरिएको सो प्रस्तुतिले झकझकाएको छ।

हाना को हुन् ?

न्युजिल्यान्डको वाइकाटो क्षेत्रमा जन्मिएकी हाना र माओरी जातिहरू कुन समयदेखि न्युजिल्यान्ड बसोबास गर्न थाले भन्ने लिखित इतिहास पाइँदैन। तर जब अंग्रेजहरूले सुनखानीको खोजीमा न्युजिल्यान्डलाई आफ्नो थलो बनाए, त्यसपछि उत्तरी न्युजिल्यान्डमा बसोबास गरिरहेका माओरी जातिहरू किनाराकृत हुँदै जान थाले।

हाना माओरी भाषा आन्दोलनका चर्चित व्यक्तित्व हाना ते हेमाराकी नातिनी हुन्। हेमाराले न्युजिल्यान्डमा बस्ती बसाल्न भूमिका खेलेका क्याप्टेन जोन फेन चाल्र्स ह्यामिल्टनको मानवकदको मूर्ति तोडफोड गरी चर्चामा आएका थिए। वि काटेने उनका जिजुबाजे थिए, जो कुनै समय माओरी जातिकै प्रथम सांसद बन्न पुगेका थिए भने उनलाई न्युजिल्यान्डको गभर्नर जनरलको सल्लाहकार समूहको कार्यकारी काउन्सिलको सदस्यसमेत बनाइएको थियो।

उनी वाइकातो जिल्लास्थित हन्टली नामक सहरको एउटा विश्वविद्यालयमा अध्ययन गर्दैगर्दा १७ वर्षकै उमेरमा ‘माहिना’ नामक पुस्तक लेखेकी थिइन्। उनले माओरीहरूले वर्षौंदेखि प्रयोग गरेको चन्द्रपात्रोमाथि पुस्तक लेखेकी हुन्।

सन् २०२२ को सेप्टेम्बरमा संसद्मा हानाले दिएको एउटा भाषणबाट उनको राजनीतिक करियरको ग्राफ उकालो लाग्यो। उनले न्युजिल्यान्डको मुख्य भाषा अंग्रेजी नभई त्यहाँको आदिवासी माओरी भाषा हुनुपर्ने जिकिर गरेकी थिइन्। सन् २०२३ अक्टोबर १४ को चुनावमा २१ वर्षको उमेरमा सांसद चुनिएपछि उनी अझ बढी चर्चामा आइन्।

समुदायमा उनको सक्रियताका कारण सन् २०२४ को मध्य सेप्टेम्बरमा वल्र्ड पोलिटिसियन अफ दि इयर अवार्डसमेत हात पारिसकेकी छन्। त्यसअघि उनले संसद्मा प्रस्तुत गरेको विरोधगीत गाएकी थिइन्। सो विरोधगीतमा उनले गाउँदागाउँदै एउटा कागज च्यातेको देख्न सकिन्छ। त्यो कागज भने तत्कालीन बेलायती क्राउन र न्युजिल्यान्डका माओरी नेताबीच भएको सम्झौता थियो। त्यही सम्झौतापछि माओरी शासन अन्त्य भई बेलायतले यहाँ शासन गर्न थालेको थियो।

हानाले गीत गाउँदै सो सम्झौता च्यातेपछि सभामुख गेरी ब्राउनलीले २० मिनेटका लागि संसद् स्थगन गरेका थिए भने संसद् सुरु भएपछि संसदीय मर्यादा उल्लङ्घन गरेको आरोपमा हानालाई एक दिनका लागि संसद्मा छिर्न रोक लगाएका थिए। यस घटनापछि भने उनी संसारभर चर्चित भइन्। त्यसपछि उनका भिडियोहरू भाइरल बने।

माओरी आदिवासी को हुन् ?

हाना र माओरी समुदायको राजनीति एकअर्कामा गहिरोसँग गाँसिएको छ। न्युजिल्यान्डमा माओरीहरूको जनसङ्ख्या १७ प्रतिशत छ र सोहीअनुसार उनीहरू संसद् र अन्य निर्णायक क्षेत्रमा आफ्नो उपस्थिति रहोस् भन्ने चाहन्थे।

अहिले त उनीहरूको प्रतिनिधित्व संसद्मा छ तर पहिले यस्तो अवस्था थिएन। लामो समयसम्म माओरीहरूले आफ्नै पार्टीसमेत गठन गर्न सकेका थिएनन्। निकै लामो संघर्षपछि माओरी पार्टीको गठन हुन सफल भयो। राजनीतिमा नआई पहिचान बन्दैन भन्ने सोचका कारण यसअघि पनि विभिन्न माओरी जातिका नेताहरू संसद् तथा सरकारमा जाने प्रयास भइरहेको थियो। सोहीअनुसार लेबर पार्टीको सरकारमा नानाइया माहुता देशकै पहिलो विदेश मन्त्री बन्न सफल भएकी थिइन्।

आफ्नो जातिका मानिसहरू मन्त्री भए पनि नीतिगत परिवर्तन नगरी नहुने आवश्यकता महसुस गर्दै हाना पनि सक्रिय भएर लाग्न थालिन्। उनको माओरी पार्टीले सन् २००४ देखि चुनावमा भाग लिन थालेको थियो। यो पार्टीले लेबर पार्टीको विरोधी पार्टीका रूपमा आफूलाई चिनाउने गरेको छ। यसले प्रणालीगत रूपमा गोराहरूले आफूहरूलाई शासनसत्ताबाट अलग गरिरहेको भन्दै आफ्ना जातिहरूको प्रतिनिधित्व बढाउन पैरवी गरिरहेको छ। सो पैरवीका कारण हाल एक सय २३ जना सांसदमध्ये आफ्ना सांसदको संख्या ६ जना पु¥याएको छ। त्यस्तै क्षेत्रीय काउन्सिलमा एक जना सदस्यको प्रतिनिधित्व छ भने लोकल काउन्सिलमा तीन जना रहेका छन्।

पहिले माओरी पार्टी यति चर्चित थिएन। उसले मध्यमार्गी धार अपनाएको थियो। अहिले भने आफूलाई बढीजसो प्रगतिशील विचारधारा अपनाएको छ। खासमा कुनै विचारधारा नभएको भन्दै पहिले जितेका ठाउँबाट पनि माओरी पार्टीले हार बेहोर्नुप¥यो। सन् २०१७ मा त पार्टी सांसदविहीन बन्न पुग्यो। यसपछि नै पार्टीले आफ्नो नीति परिवर्तन गर्दै क्रान्तिकारी धार अपनाउन थालेको हो।

माओरीको न्युजिल्यान्ड साइनो

माओरीहरू पोलिनेसियन हुन् भनी इतिहासले भन्छ। ग्रिक भाषामा पोलि भनेको ‘धेरै’ र नेसोस भनेको ‘टापुहरू’ भन्ने बुझिन्छ। यस हिसाबले पोलिनेसिया भन्नाले धेरै टापुयुक्त देश भन्ने बुझिन्छ। प्रशान्त महासागरमा फैलिएका धेरै टापुमा यिनको ठुलो जनसङ्ख्या थियो। उनीहरू विभिन्न टापुमा लामो समयसम्म बसे र लामो यात्रापछि हालको न्युजिल्यान्डको उत्तरी भेगमा स्थायी बसोबास गर्न थाले। उनीहरू करिब सन् १००० तिर यहाँ स्थायी रूपमा बसोबास गर्न थालेको बताइन्छ। उनीहरूको धेरैजसो जनसङ्ख्या हवाई (उत्तरी न्युजिल्यान्ड), दक्षिणी भेग (आओतेयारोआ) र पूर्वी भेग (इस्टर टापु अर्थात् रापा नुई)मा रहेको छ। माओरीहरूको ठुलो सङ्ख्या अन्य देशका टापु तथा फिजीमा पनि बसोबास गर्छन्।

माओरीहरू पूर्वी एसिया वा दक्षिणपूर्वी एसियाबाट समुद्रमार्ग हुँदै पपुआ न्युगिनी, फिजी र सामोआ क्षेत्र हुँदै तीन हजार वर्षअघि प्रशान्त महासागरका टापुहरूमा बसोबास गरेका थिए। उनीहरू उत्कृष्ट नाविक थिए। उनीहरूले तारा, समुद्रको लहर, हावा र चराहरूको व्यवहार अध्ययन गरी दिशा पत्ता लगाउने कलाको विकास गरेका थिए। उनीहरूको त्यो कलालाई अझै पनि प्रयोग गरिन्छ र त्यसलाई अहिले पनि पोलिनेसियन नेभिगसन भनिन्छ।

अन्य आदिवासी जातिझैं माओरीहरूका पनि मुखिया हुन्छन्। उनीहरूले सामाजिक नियम र परम्परा व्यवस्थापन गर्छन्। उनीहरूले माना र तापाअनुसार समाजलाई चलायमान बनाउँछन्। ‘माना’ भन्नाले सामाजिक सम्मान र शक्तिअनुसार समाज चलाउने हो भने ‘तापा’ भन्नाले गलत गतिविधि रोक्ने विविध प्रतिबन्ध हो। माना शक्ति, प्रतिष्ठा र अनुग्रहको प्रतीक मानिन्छ। उनीहरूको समाज मूर्तिकला, काठका विभिन्न उत्पादन, ट्याटु सांस्कृतिक पहिचानका अभिन्न अङ्ग मानिन्छन्।

यिनको भाषा अन्य पोलिनेसियन भाषा परिवारसँग मिल्दोजुल्दो छ। त्यस्तै उनीहरू देवीदेवता पूजा गर्ने, समुद्र, मौसम र प्रकृतिलाई इज्जत गर्छन्। उनीहरूको विशेष धर्म पनि छ। प्रकृतिपूजामा आधारित सो धर्मलाई ‘मारा’ भनिन्छ। तर मारा र अन्य उनीहरूका परम्परा मासिइसकेका छन्।

खासगरी युरोपेली सम्पर्क र प्रभावका कारण एवं जेम्स कुकको न्युजिल्यान्ड यात्राप्रति उनीहरूमा युरोपेली प्रभाव बढ्न थालेको हो। पछिल्लो समय आफ्नो जरो खोज्ने क्रम संसारभर बढ्दै जाँदा आफ्नो परम्परा, कला, संस्कृति र भाषालाई पुनस्र्थापित गर्न माओरीहरू लागिपरेका छन्। यही कडीको पछिल्लो सशक्त उदाहरण र अनुहार हाना बन्न पुगेकी छन्।

प्रकाशित: १ मंसिर २०८१ ०५:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App