इन्दे्रनी अर्थात् घामपानी भएका बेला घामको विपरीत दिशातर्फ देखिने अस्मानी, निलो, हरियो, पहेँलो, रातो, बैजनी र सुन्तला रङ। जसले मोहनी लगाउँछ हेर्ने जुनसुकै आँखालाई पनि। हट्नै मान्दैनन् त्यहाँ पुगेपछि। जबर्जस्ती निकाल्नुपर्छ, मन नलागी नलागी। इन्द्रेनीका यिनै ७ रङ हुन् नेपालको ७ प्रदेश। अर्थात् कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम। जहाँ इन्द्रेनीका जस्तै धनुका आकारका अर्धवृत्त सयौंको सङ्ख्यामा छन् जसले पर्यटकलाई मग्न पार्ने हैसियत राख्छन्। जोसँग पर्यटकले खोजेका कुरा उपलब्ध गराउने क्षमता छ।
हो, हिकमतसिंह ऐरद्वारा लिखित ‘कञ्चनपुरदेखि कञ्चनजङ्घा’ले यही दाबी गरेको छ। त्यो पनि सुन्दर काव्यात्मक लयमा। जहाँ एकातिर सातै प्रदेशका मुख्य मुख्य पर्यटकीय स्थलबारे जानकारी पाइन्छ भने अर्कोतिर कविताको स्वाद। यही पर्यटन र काव्य शैलीको संयोजन हो प्रस्तुत पुस्तक। जसले आवरणदेखि नै आकर्षित गर्छ। विशेषगरी पर्यटन मन पराउनेलाई। पर्यटक बन्न खोज्नेलाई। यात्रामा रमाउनेलाई। यात्रा संस्मरण पढ्न मरिहत्ते हाल्नेलाई।
नेपाल आफैंमा प्रकृतिले फुर्सद लिएर बनाएको सुन्दर उपहार हो। कुनै देशमा ऊँट होला, कुनै देशमा ठुलो समुद्र होला, कुनै देशमा ज्वालामुखी होला अनि कुनै देशमा नाच्दै÷गाउँदै अघि बढ्ने झरना होला। तर नेपाल मात्र यस्तो देश हो जहाँ के छ भन्दा पनि ‘के छैन?’ भनेर सोध्नुपर्छ। कञ्चनपुरदेखि कञ्चनजङ्घा यिनै ‘के छैन?’ को उत्तर हो। अनि हिकमतसिंह ऐर यिनै कवि हुन् जसले गद्यात्मक होइन, पद्यात्मक रूपमा दिन्छन् जवाफ। कारण यो हुन सक्छ– नेपालका पर्यटकीय क्षेत्रको बखान पद्यका रूपमा धेरै आए। त्यसैले पद्य पनि यस्ता क्षेत्र प्रचारप्रसारको सशक्त माध्यम हुन सक्ने लेखकको बुझाइ।
मभित्रको देश, मिथिला मधेस
मिथिलाञ्चलको शेष हुँ, छठ मैयाँको विशेष हुँ।
महर्षि राजा जनकले राज्य गरेको क्षेत्र विशेष
जानकी माताको जन्म भएको प्रदेश हुँ।
इन्द्रेनीका सात रङमध्ये एउटा मधेस प्रदेशप्रति कविले फुराएका कवितात्मक वर्णन हो यो। यो मात्र होइन, प्रत्येक प्रदेशलाई यसैगरी व्याख्या गरेका छन् उनले। शब्द शब्दमा पर्यटन छ। वाक्य वाक्यमा तिनको महिमा छ। शीर्षकमा चुम्बक छ। अनि प्रत्येक हरफमा पछि धकेल्न सक्ने जादु छ। लाग्छ, पढ्न थालेपछि नसकी कोही छाड्नेवाला छैन। पन्नापिच्छेका तस्बिर। ती तस्बिरले समेटेका भाव अनि दिन खोजेका सन्देश जोकोहीलाई आफूप्रति आकर्षित गर्न सक्षम देखिन्छन्। भनौं, कविताको वर्णन र तस्बिरको जीवन्तताको संयोजनले पाठकलाई ‘म त्यही ठाउँमा पो छु कि ?’ भन्ने तुल्याउँछ।
लुम्बिनीमाथि पहाडकी रानी तानसेन बजार
त्यहींमाथि श्रीनगर डाँडा, देखिन्छ प्रकृति बहार
त्यहीं केही पर खड्गशमशेरले बनाए ताजमहल सरह दरबार।
लुम्बिनी प्रदेशका पर्यटकीय क्षेत्र चिनाउने केही शब्द हुन् यी। यस्ता धेरै शब्द छन् जसले धेरै थलोबारे जानकारी दिन्छन्। अनि जाऊँ जाऊँ लाग्ने बनाउँछ। सुन्दर सुदूरपश्चिमको गाथा होस् या ऐतिहासिक कर्णालीको, सभ्यताको मुहान बागमतीको होस् या गण्डकीको, कुनै अर्थमा पनि चुकेका छैनन् वर्णन गर्न। यसबाट थाहा हुन्छ कि लेखक हिकमत पर्यटनप्रेमी त हुन् नै, सशक्त कवि पनि हुन्। अनि कवि त हुन् नै, साथै आफ्नो मुलुकका सबै भूभाग र थातथलोलाई न्याय गर्न सक्ने न्यायप्रेमी मनुवा पनि हुन्।
नेपाल यस्तो देश हो जहाँ सात समुद्रपारिदेखि ओइरिन्छन् पर्यटक। भिर र पाखो कुद्छन्। कुना र कन्दरा चहार्छन्। डाँडो र पाखोसँग भिड्छन्। चराको गीत सुन्न मरिहत्ते हाल्छन्। डाँफेको रङ आँखै नजिक नियाल्न हुरुक्क हुन्छन्। हिउँ मानवको आकृति मात्र हेर्न पनि भुतुक्कै हुन्छन्। अनि वर्षका तीन सय ६५ दिन नै कहीं न कहीं आयोजना भइरहने जात्रा÷पर्व हेरेर रमाउन लोभिन्छन्। धामी÷झाँक्रीदेखि गुरुवासम्मका क्रियाकलाप जान्न उत्तिकै लालायित हुन्छन्।
यति मात्र होइन, गरिबीमा पनि रमाउन सक्ने, दुःखमा पनि हाँसेर जिउन सक्ने, ऐँचो र पैंचोमा जीविका चलाउन सक्ने, रैथाने जडीबुटी अनि घट्ट र कुवामै जीवन निर्वाह गरिदिन सक्ने नेपालीपनको खुलदुली मेटाउन पनि थुप्रै पारखी आउँछन् यहाँ। पढेर भन्दा परेर जानेकाहरूको जीवनचर्या नजिकैबाट नियाल्नेहरूको पनि कमी छैन। यसरी हेर्दा नेपालमा पर्यटकहरू मरीमरी साङ्ग्रिला खोजिरहेका हुन्छन्। यहाँका सयौं कौतूहलता, यहाँका बग्रेल्ती रहस्य र यहाँ अवस्थित सयौं÷हजारौं किंवदन्ती अनि लोकोक्तिहरूले उनीहरूलाई हरदम तानिरहेको हुन्छ।
यी यस्ता वास्तविकता हुन्, जसबारे धेरैलाई थाहै छैन। जति थाहा पाएर आएका छन्, ती एकदमै कम छन्। यस्तो अवस्थामा कवितात्मक शैलीमा आफ्नो मुलुकको पर्यटकीय क्षेत्रबारे प्रचारप्रसार गरेर हिकमतले सिङ्गै मुलुकलाई गुन लगाएका छन्। विदेशी मात्र होइन, स्वदेशी पर्यटकलाई समेत जानकारीको पोकै पस्किदिएका छन्। यही कारण अझ विशेषगरी आन्तरिक पर्यटकका लागि पनि गतिलो खुराक बन्न सकेको छ पुस्तक।
प्रदेशैपिच्छे नक्सा नै बनाइवरी दिइएका मुख्य पर्यटकीय क्षेत्रले सबैको मन जित्छन्। रङ्गीन र कलात्मक प्रस्तुतिले पुस्तकलाई प्रिय बनाउन सघाएको छ।
जुम्लाको पाइला पाइलामा पाइन्छ खस सभ्यताको पहिचान
यहीं छ सिन्जा उपत्यका, नेपाली भाषाको उद्गम स्थान।
चन्दननाथ र डुडुल चैत्यको दर्शनसँगै देखिन्छ
कान्जिरोवा हिमाल
मार्सीको भात खाई ल्याउन सकिन्छ स्याउ
ओखरको कोसेली तमाम।
डुल्न, हेर्न र अवलोकन गर्न सकिने ठाउँ मात्र उल्लेख छैन यसमा। कोसेली ल्याउन सकिने चिजबीजसमेत उल्लेख छ। जसले पर्यटकीय क्षेत्र वरपरका बासिन्दाको थोरै नै किन नहोस्, आर्थिक बढोत्तरीमा पनि सघाउ पु¥याउने उद्देश्य राखेको देखिन्छ। तराईको कञ्चनपुरदेखि पहाडी भूभाग अर्थात् कञ्चनजङ्घा हिमालसम्मको कवितात्मक वर्णन पढेपछि लाग्छ– वास्तवमै हाम्रो देश नेपाल अद्वितीय छ। पर्यटकलाई लठ्याउन सक्ने खुबी छ। सबैलाई मनमोहक पार्न सक्ने जादु छ। पुस्तकले दिने निष्कर्ष यही हो।
१०४ पेजमा विभक्त यस कृतिलाई देशको कवितामय फन्को भनेका छन् लेखक स्वयंले। साहित्यकार शङ्करप्रसाद कोइरालाको भूमिकाले कृतिलाई मिठो बनाउन मरमसलाको काम गरेको छ। ६ सय रुपियाँ महँगो जस्तो लागे पनि यसमा प्रयोग भएको बहुरङ, कागज तथा मेहनतसँग तुलना गर्दा त्यो फिका लाग्छ। जे होस्, फरक शैली र सोचका साथ मुलुकको पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने कार्य गरेर पर्यटन अभियन्ता हिकमतसिंह ऐरले राष्ट्रलाई गुन नै लगाएका छन् भन्नचाहिँ हिच्किचाउनु पर्दैन।
यति कुरा भनिरहँदा छुटाउनै नहुने एउटा पक्ष यो पनि– शुद्धाशुद्धि र भाषिक सम्पादनमा पनि केही ध्यान दिएको भए यो कृति सुनमा सुगन्ध हुनेमा शङ्कै थिएन। आशा गरौं, यसका भाइ÷बहिनीले यस्तो सुझाव दिनुपर्ने ठाउँ बाँकी नराख्लान्।
प्रकाशित: २२ वैशाख २०८१ ११:०१ शनिबार