कला

लघुकथाको राजमार्गमा नवीन प्रयोग

पुस्तक

‘नदीको राजमार्ग’ दीपक समीपको भर्खरै प्रकाशित लघुकथासङ्ग्रह हो। यसअघि नै ‘भूगोलभित्र नकोरिएको देश’ र ‘अक्षर अक्षरमा देश’ शीर्षकका गजलसङ्ग्रह र मुक्तकसङ्ग्रह प्रकाशित गरिसकेका समीपको तेस्रो कृतिका रूपमा प्रस्तुत ‘नदीको राजमार्ग’ लघुकथा कृति प्रकाशित भएको छ। पचासको दशकदेखि नै लघुकथा लेख्दै आएका समीपले लेखनको लामो समयपश्चात कृति प्रकाशन गरेका हुन्।

प्रस्तुत लघुकथामा प्रयोग गरिएका अन्तर्वस्तु, पात्र, परिवेश सबै हामीले देखे, भोगे र जाने, बुझेको यथार्थमा नै आधारित छन्। झट्ट हेर्दा लघुकथामा प्रयुक्त विषयवस्तु यसअघि नै लेखिसकिएको र सामान्यजस्ता लागे पनि लघुकथाको विषयवस्तु प्रस्तुत गर्ने शैली र भाषा भने बेजोडको छ।

प्रत्येक लघुकथामा शब्दहरूलाई नापेर, जोखेर, तौलेर, छामेर अनि असाध्यै फारु गरेर प्रयोग गरिएका छन् र ती सरल छन्। ग्राम्यबिम्ब झल्कने मौलिक नेपाली भाषाको प्रयोग गरी लेखिएका यी लघुकथा पढ्दा जति सरल लाग्छन्, भावबोध र व्यङ्ग्यचेतनाका दृष्टिले उत्तिकै गम्भीर छन्। यी लघुकथाले पाठकलाई उत्सुक मात्र बनाउँदैनन्, संवेदित पनि बनाएर जान्छन्। उदाहरणका लागि ‘फूल’ शीर्षकको लघुकथाको एउटा अंशलाई हेरौं–

एक बिहान ऊ पिँढीमा बसेर चिया पिउँदै थियो। एकजना अपरिचित मान्छे मन्दिर जाने बाटो सोध्दै उसको आँगनमा टुप्लुक्क आइपुग्यो। कुरैकुरामा अपरिचितले उक्त फूल टिपेर थालीमा राख्यो। अपरिचितको आकस्मिक हर्कतले ऊ झसङ्ग भयो र भयभीत नजरले आफ्नी कलकलाउँदी छोरीतिर पुलुक्क हे¥यो। (पृ.१०)

सङ्ग्र्रहमा पूmललाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेर मान्छेको संवेदनाहीनतामाथि व्यङ्ग्य गर्नुका साथै आज पनि नेपाली समाजमा छोरीहरू असुरक्षित रहेको कटु यथार्थलाई अभिव्यक्त गरिएको छ। अत्यन्त कम शब्द र सरल भाषामा गम्भीर सत्य प्रस्तुत गरी पाठकलाई सोच्न बाध्य बनाउने सामथ्र्य राख्नु यस सङ्ग्रहका लघुकथाका सबल पक्ष हुन्।

प्रस्तुत सङ्ग्रहमा जम्मा छैसट्ठीओटा लघुकथा सङ्गृहीत छन्। प्रायः छोटा आयाममा लेखिएका यी लघुकथा केही प्रयोगशील पनि देखिन्छन्। लघुकथा आयाम, भाषाशैली र प्रस्तुतिका दृष्टिले केही फरक र प्रयोगपरक पनि देखिन्छन्। केही लघुकथा कविताजस्ता देखिन्छन् भने केही लघुकथा निबन्धजस्ता पनि लाग्छन् र केही लघुकथा सूत्रात्मक अभिव्यक्तिजस्ता देखिन्छन्। सरल भाषामा व्यङ्ग्यचेतनासहित गम्भीर विषय सम्प्रेषण गर्न यस कृतिका लघुकथा सफल भएका छन्। यस्तै सरल भाषाशैलीमा गम्भीर अर्थ बोकेको ‘इन्कार’ शीर्षकको लघुकथाको एउटा अंश यसप्रकार छ:

पढेलेखेर जान्ने भएपछि उसले गुरुलाई बिस्र्यो। अलिक कमाउने भएपछि उसले साथीभाइलाई बिस्र्यो। पहिलेभन्दा अझ हुनेखाने भएपछि उसले आफन्तहरूलाई पनि बिस्र्यो। बिहे गरेर छुट्टीभिन्न भएपछि उसले आफ्नै बाआमालाई पनि बिस्र्यो। उसले बिर्सनै नसक्ने गरी चिन्ने भनेको सम्पत्ति र श्रीमती मात्र बाँकी रहे। (पृ. १९)

सूत्रात्मक र काव्यात्मक शैलीमा लेखिएको प्रस्तुत लघुकथामा मान्छेको कमजोरी, सङ्कीर्ण सोच र विरोधाभासपूर्ण जीवनप्रति आलोचनात्मक यथार्थ प्रकट गरिएको छ। पछिल्लो समय लेखिएका र प्रकाशित भएका लघुकथाहरूको तुलनामा यस कृतिमा समावेश भएका लघुकथा पृथक् छन्। विषयवस्तु नयाँ नभए पनि भाषा, शैली र प्रस्तुतिमा पृथक् हुनु यस कृतिको मौलिक पहिचान हो।

यसरी पृथक् हुनु नै उत्कृष्ट हुनु हो भन्ने चाहिँ हुँदैन तर मुख्य कुराचाहिँ के हो भने पाठकले जहिले पनि सिर्जनामा नवीनता खोज्छ। पृथक् स्वाद खोज्छ। लघुकथाको विधागत संरचना र आयामका सीमालाई भत्काएर तयार पारिएको यस कृति यही नवीनताका दृष्टिले पनि खास बनेको छ।

यस सङ्ग्रहभित्रका छैसट्ठीओटा लघुकथाहरूमा त्यति नै प्रकारका विषय रहेका छन्। त्यसैले यी लघुकथा अन्तर्वस्तुगत विविधताका दृष्टिले पनि व्यापक रूपमा फैलिएका छन्। समकालीन नेपाली समाजमा देखिएका समसामयिक विषय, राजनीतिक, सामाजिक तथा प्रशासनिक क्षेत्रमा देखिएका विकृति र विसङ्गतिप्रति असन्तुष्टि, मान्छेका विसङ्गत प्रवृत्तिप्रति व्यङ्ग्य, देशका विकट ठाउँ र ग्रामीण परिवेशका समस्याहरूको प्रकटीकरण, मानवीय संवेदनामा आएको ह्रासजस्ता विषयहरू यी लघुकथामा प्रयोग भएका छन्।

कतिपय लघुकथाहरू पढ्दा कथा नपढेर कविता पढिरहेजस्ता लाग्छन्। ग्रामीण बिम्ब र ग्रामीण परिवेशको चित्रण गरिएका कतिपय लघुकथाहरू लोकसमाजलाई उजागर गर्ने लोकगीतजस्ता सरल र मिठा लाग्छन्।

लघुकथाको मानक सिद्धान्तको प्रयोगका दृष्टिले भने यी लघुकथाहरू पृथक् देखिन्छन्। लघुकथा थोरै शब्दमा प्रस्तुत गरिने आख्यान हो। यो आयामका दृष्टिले छोटो देखिए पनि आफैंमा पूर्ण हुन्छ। सिद्धान्ततः लघुकथा २५० देखि ३०० शब्दसीमाभित्र रहेर लेखिनुपर्ने नियम तोकिएको छ तर यस सङ्ग्रहका लघुकथाहरूमा शब्दसीमाको यो नियमलाई पालना गरिएको छैन। यस कृतिका अधिकांश लघुकथाहरू अपेक्षाकृत छोटा छन् र यस कृतिमा जम्मा चौंतीस शब्दमा लेखिएकोे लघुकथा पनि समेटिएको छ। उदाहरणका लागि ‘हैसियत’ शीर्षकको लघुकथालाई हेर्न सकिन्छ, जुन यसप्रकार छ:

गाईको कल्चौंडोभित्र रहेको दुधलाई उसले दुहेर एउटा भाँडामा राख्यो। दुध शान्तसँग भाँडामा बस्यो। जब उसले भाँडालाई अगेनामा राख्यो र आगो लगायो, शान्त दुधले आफूलाई शक्तिशाली सम्झ्यो र भकभक उम्लन लाग्यो। परिणामतः दुध  भुइँमा पोखियो।

दुधलाई प्रतीकात्मक रूपमा प्रयोग गरी मानवीय कमीकमजोरी र प्रवृत्तिमाथि व्यङ्ग्य गरिएको माथिको उद्धरण लघुकथाको अंश नभई एउटा पूर्ण लघुआख्यान नै हो। जम्मा चौंतीस शब्दको प्रयोग गरेर लेखिएको प्रस्तुत लघुकथा सिद्धान्ततः लघुकथाको संरचनामा आबद्ध भयो या भएन भन्ने विषयमा बहस गर्न सकिए पनि यहाँ लघुकथाको परम्परित धारबाट मुक्त भई लघुकथालाई केही प्रयोगशील बनाउन खोजिएको देखिन्छ।

मानवेतर पात्रका माध्यमबाट मान्छेका शक्ति र सीमालाई देखाउन सफल यस सङ्ग्रहका अधिकांश लघुकथा बिम्बात्मक र प्रतीकात्मक छन्। पेज टर्नरले प्रकाशन गरेको प्रस्तुत कृति बाहिरबाट हेर्दा जति आकर्षक देखिन्छ, कृतिभित्रका लघुकथा त्यति नै सुन्दर छन्।

प्रकाशित: १९ फाल्गुन २०८० ०७:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App