कला

तलास

कविता

लाखौं मान्छेको भिडमा पनि

मलाई नै खोज्नेछन् तिम्रा एक्लिएका नयनहरूले

जसरी सागरको गहिराइमा पनि तिर्खाएको प्यासी जस्तै।

रुझेका सिरानी भिजेका परेलीले

त्यसै सहजै रात कहाँ कटाउन देलान र?

छटपटीमा फेरिने हरेक कोल्टेहरूले

सहजै बिहानी भेट्न कहाँ देलान र?

मायामा शंका हुन्छ,

अनि शंकामा माया

प्रेममा डर हुन्छ अनि त्यही डरभित्र प्रेम।

हिंडेको बाटो फेर्न सक्छौ तिमी

बसेको चौतारी नहेर्न सक्छौ तिमी

बोलेका शब्दहरू बिर्सन सकौली सहजै

सजाएका चिनोहरू टुटाउन सक्छौ तिमी

तर,

मायाले सिंचेको मुटु फेर्न कहाँ सकौली र

बन्द परेलीमा कोरिएको यो तस्वीर केर्न कहाँ सकौली र।

लाग्छ निभेको बत्तीको आशमा बस्ने छ कोही

बाटो काटेर हिंडेको बटुवाको तलाशमा बस्ने छ कोही

यहाँ फर्किने मनहरू प्राय: कमै मात्र हुन्छन्

आफ्नै आँसु बिछ्याएर प्यासमा बस्नेछ कोही।

 -रविबाबु प्रत

प्रकाशित: ६ फाल्गुन २०८० १०:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App