कला

‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ आजदेखि: राष्ट्रपति पौडेलले उद्घाटन गर्ने

फाइल तस्वीर

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकाे आयाेजनमा आजदेखि ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’  हुँदै छ।

‘नगरको शान दिक्तेलको स्वाभीमान, मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला संस्कृतिको सम्मान’ भन्ने मूल नाराका साथ चित्रकला प्रदर्शनी गर्न लागेका हाे।

नेपाल कला परिषद (नेपाल आर्ट काउन्सिल) बबरमहल काठमाडौंमा आज फागुन ५ गतेदेखि १७ गतेसम्म आयोजना गरिने चित्रकला प्रदर्शनी  गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताए।

प्रदर्शनीमा ५० देशका चित्रकारका १७० भन्दा बढी चित्र राखिने भएकाे छ। यसबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायत समग्र खोटाङ जिल्लाका सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्र झल्किने आयोजकको विश्वास छ।

गत असोज १७ देखि २१ गते १९ विदेशी र २४ स्वदेशी गरी ४३ जना चित्रकारको सहभागितामा जिल्लाका विभिन्न क्षेत्रको अवलोकन भ्रमण गराई स्थानीयस्तरका सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि १०९ जीवन्त चित्र कोरिएको थियो।

यसकारण प्रदर्शनीकाे नाउँ मुन्दुम

नगरप्रमुख भट्टराईले आफ्नो क्षेत्र मुन्दुम संस्कृतिको थलो भएकाले प्रदर्शनीको आयोजना गरिएको बताए। ‘किरातीहरूको दार्शनिक दृष्टिकोण, अनुभव, इतिहास तथा प्राज्ञ इतिहास, भाषा, साहित्य, संस्कृति, भूगोल, गीत-संगीत, पर्यावरणीय ज्ञानको मूल स्रोत मुन्दुम नै मानिने भएकाले यो सम्पदा नेपाली समाजसमक्ष पुर्‍याउन प्रदर्शनी गर्न गइरहेका छौं,’ उनले भने।

नगरप्रमुख भट्टराईका अनुसार ‘मुन्दुम’ हजारौं वर्षदेखि पुस्तान्तरण हुँदै आएको समग्र किरात समूदायमा प्रचलित मौखिक ज्ञान मानिन्छ। विशेषगरी किराती धामीहरूको मन्त्र मुन्दुम हो। यसर्थ समग्र किराँतीको आस्था एवं विश्वासको धरोहर मात्र होइन, समग्र पहिचानको स्रोत तथा आधार पनि रही आएको छ।

मुन्दुमका आधारमा किराती समाज सञ्चालन हुन्छ। यसकारण मुन्दुमलाई किरात समुदायको ‘सामाजिक संविधान’ पनि भनिन्छ।

नगरपालिका क्षेत्र माझकिराँतमा पर्ने नगरप्रमुख भट्टराईले बताए। उनले भने, ‘त्यसैले यहाँको कला, साहित्य, संस्कृति आदिमा ‘मुन्दुम’ को प्रभाव छ।’  दिक्तेल क्षेत्रलाई सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुर, भोजपुर लगायत जिल्लामा बसोबास गर्ने हालका किरात राईहरूको प्राचीन साझा बसोबास क्षेत्र मानिन्छ।

प्रकाशित: ५ फाल्गुन २०८० ०८:२७ शनिबार

अक्षर