‘बलियो प्रमाण प्रतिपक्षको हातमा छ। तपाईंहरूको हातमा कोरा बोली छ; त्यो पनि आफू र आफन्तको।’ वकिल टक्टकिए।
मैले जिद्दी गर्दै भनें, ‘अन्यायले न्यायको घाँटी दाब्नुभएन साहेब।’
‘तपाईंहरूको खाल्डोमा आँखा चिम्लेर हाम फाल्न सकिन्न। सरासर हार्ने खेल खेल्ने खेलाडी होइन म।’ वकिलले स्पष्ट पार्न खोजे।
मैले पूर्ववत् अडानलाई मलजल लगाइरहेँ। फलतः मुद्दा नलडे पनि अगस्त्य मुनि बन्न तयार भए वकिल। म कुमार बनेर फलाक्दी रहेँ, ‘तँ औकात बाहिरको मन बनाउँदै नबना, केटा।’ ससुरा बाले यसो भन्दा उहाँ जिल्ल पर्नुभयो।
यद्यपि उहाँ जाँगर चलाउन माहिर हुनुहुन्थ्यो। आँटेको काम फत्ते नगरीकन पानी पिउन समेत मान्नुहुन्नथ्यो। उहाँसँग दाम्पत्य जीवन सुरुआत गरेको पाँच वर्ष कटिसकेको थियो। यस बिचमा मनले खाएको काम थाल्दा भातपानी त्यागेको मैले देखेभोगेकी छु। मान्छे हुनु त जनक जस्तो प्रतिबद्ध र जुझारु भन्ने उहाँका दौतरीहरू पर्याप्त भेटेकी छु।
हुन पनि उहाँले थाकेको र हारेको मैले कहिल्यै देखिनँ। हुन्न र छैन भन्ने आवाज सुनिनँ। उहाँमा कसैले उकास्दा नउस्कने र थेचार्दा नथेचारिने बानी थियो। रूपरंग, आनीबानी, बौद्धिकता, व्यावहार सबैका आँखामा प्रिय थिए।
ससुरा बाका कुरा ध्यानले सुन्ने तर हत्तपत्त ओठे जवाफ नफर्काउने कुशलता थियो उहाँमा। नबोलेरै जित्ने बेग्लै तरीका अपनाउनुहुन्थ्यो। आफूभन्दा ठूलासँग ओठे जवाफ फर्काउनुलाई नामर्दको संज्ञा दिनुहुन्थ्यो। आदरणीय मान्छेका कुरा आदरले स्विकार्नुपर्छ; अस्विकार्नु परे आदरकै बाटो अपनाउनुपर्छ भन्ने भिन्न चेत उहाँमा विद्यमान थियो।
ससुरा बा आफ्नो पुत्रको स्वभावदेखि भलिभाँती परिचित हुनुहुन्थ्यो। यस पटक समेत दोहोरो कुरा सुन्न नपाउँदा ससुरा बा सकसमा पर्नुभयो। साँझ गहिरिंदै गयो। जूनकीरीको बत्ती धिमा हुँदै गयो। छेउकै सडक शान्तिको सास फेर्ने तरखरमा लाग्यो। उहाँ छुट्टिएर मकहाँ आउनेबेला पनि भयो।
उहाँलाई खुशी बनाउन ससुरा बाले भन्नुभयो; ‘म पूरातन विचारले प्रेरित मान्छे। म त आफ्नै माटोको सुगन्धमा जीवन देख्न सक्नुपर्छ भन्छु। आफ्नोपनलाई प्राण जतिकै स्नेहले मुसार्नुपर्छ भन्ने ठान्छु। पहिलेका मान्छे र अहिलेका मान्छेको सोचमा आकाशपातालको फरक छ भन्ने म भलिभाँती बुझ्दछु।’
ससुरा बाका कुरा मनमा गुम्स्याएर उहाँले म बसेको दैलो उघार्नुभयो। खुइय्य गर्दै सोफामा ढल्कनुभयो। आँखा चिम्लनुभयो। प्रलयको विकराल पहाड थाप्लामा आइपरेजस्तो मुहार बनाउनुभयो।
बाहिरी आकाश धुम्मिएको थियो। बादलले चन्द्रमालाई छोप्दै उघार्दै गर्दै थियो। सिरसिर गर्दै बतास चिसो बोकेर नाच्दै थियो। घरिघरी बतासको झोक्का कोठाभित्र छिथ्र्यो। उल्टाएका कितावका पानाहरू फ्यार्फुर् पार्थ्याे। आशलाग्दो अवस्था पनि बनाउँथ्यो। नेपथ्यको गड्याङगुडुङले अत्यास जिउँदै छ भन्ने संकेत पनि दिइरहेको थियो।
‘हिमाललाई पनि कुनै सङ्कटले चिथोर्न सक्छ र?’ मैले एक्कासि प्रश्नको घोचो तेर्स्याएँ।
उहाँले तुरुन्तै सहज जवाफ फर्काउनुभयो, ‘भोक लागेको छ भन्दैमा जस्तो पायो त्यस्तै खानेकुरा मुखमा हाल्न सकिन्न। स्वादिलो खाना नै रोजिन्छ।’
‘आफूलाई स्वादिष्ट लाग्ने नभेटे अड्कोपड्को तेलको धुपले काम चलाउनुपर्छ।’ मैले पनि उस्तै जवाफ फर्काएँ।
‘तिमीले साथ दिनाले बुबाले मेरो कुरा खानुभएन।’ मेरा छेउमा उहाँले गुनासाको भारी थुपार्दै थप्नुभयो, ‘म कुँजिएर यही थुप्रिने कि स्वतन्त्रताको कावा खाँदै सपना पूरा गर्ने दिशामा उन्मुख हुने; फैसला तिम्रै हातमा छ।’
उहाँले मलाई न्यायाधीशको ओहदा दिँदा म पुलकित भएँ। उत्ताउलो बनेको मनले सोफाबाट उहाँलाई जुरुक्क उचालूँ र सानो नानीलाई म्वाइँ खाएझैं जताततै म्वाइँ खाऊँ भन्ने लागिरह्यो। उहाँलाई कुनै निर्णय दिनुपूर्व ससुरा बा मेरो अनुहारतिर पुलुक्क हेर्नुहुन्थ्यो। घर छाडेर दुई रात कतै बस्न परे पनि उहाँलाई अनुमति नदिन पाए हुन्थ्यो भन्ठान्नुहुन्थ्यो।
‘तपाईंको छायाले नै मलाई भरपूर सुख दिएको छ। अब कस्तो सुख खोज्न घरत्यागको आकांक्षा बुन्नुहुन्छ?’
मेरो प्रश्नले क्रोधको पारो तातेछ र उहाँ ‘तिमी’बाट ‘तँ’मा झर्दै कुर्लिनुभयो, ‘तेरो यही भेडो विवेक मलाई हर्दम कोक्याउँछ। तेरै इशारामा बाबुआमा निर्णय लिनुहुन्छ। हर्दम नातिनातिना खेलाउन पाइएन भनी गुनासाको बिस्कुन फिंजाइरहनुहुन्छ। मलाई कुवाको भ्यागुतो बनाएर कुवाउने मुख्य पात्र तैं होस्।’
पाँच वर्षसम्म नभोगेको उहाँको सिंह गर्जन सुनेर मेरो सातो उड्यो। आँखाभरि आँसु बनाउँदै नरिसाउन मैले उहाँसँग दयाको भिख मागिरहेँ।
उहाँ भने अझ आगो हुँदै भन्दै हुनुहुन्थ्यो, ‘तँलाई मेरो हैन; मेरो शरीरको माया छ। सधैंभरि मेरै शरीर खाइरहने मन छ। म भने तँबाट मुक्तिको सास फेरेर जीवनमार्ग सुनिश्चित गर्न खोजिरहेको छु।’
म केही भन्न सक्ने अवस्थामै थिइनँ। मुन्टो निहुर्याए पनि कान ठाडा पारेकी थिएँ। मेरो नाजुक अवस्थालाई नियालेर उहाँले आक्रोश मत्थर बनाएको स्वरमा भन्नुभयो, ‘धन भए भविष्यको सुन्दर महल पनि ठडिन्छ। अँगालाभरिको सन्तान जन्मन्छ। धन भए साराले स्यालुट गर्छन्। धन नभए पालेको कुकुरले पनि त्यागिदिन्छ। जमाना धनको छ; धन छ त तेरो मन मसँग छ। धन छैन त कसैको पनि मन कसैसँग रहन्न। समयमा कमाउनुपर्छ। उद्यम हुने काममा लगानी गर्नुपर्छ। अनि पछि गर्जो टार्न सकिन्छ। बाबुआमाको कमाइमा कति दिन उभिन सकिन्छ र? आफैं सोच।’
उहाँको दियोमा तेल सकिँदै गएछ भन्ठानी मैले शिर ठड्याएँ। बोली निकाल्न सकिरहेकी थिइनँ। मेरो बोलीले स्थान पाउँदो हो त म ससुरा बाकै भनाइलाई मलजल दिने थिएँ। देशभक्तिका कथाव्यथा र वीरगाथा सुनाउने थिएँ। ‘मुना र मदन’ को प्रसङ्ग निकाल्दै ‘साग र सिस्नो खाएको बेस आनन्दी मनले’ भन्ने थिएँ । मेरा कुराले कुनै भाउ नपाउने भएपछि म चुपचाप टुलुटुलु हेरिरहेँ ।
उहाँले अर्को चेतावनीको बम विस्फोट गर्नुभयो; ‘बुबाआमालाई मनाएर मलाई विदेश उड्ने अनुमति दिलाउँछेस् भने दिला। नत्र हाम्रो कुनै सन्तान जन्मदैन। तैंले जीवनभर बाँझी बनेर रोईरोईकन जीवन काट्नुपर्ने छ।’
अँध्यारो रात लमतन्न सुतेको थियो। ससुरा बा घुरेको आवाज प्रष्ट सुनिन्थ्यो। सासू आमाको चालचुल थिएन। टाढा कुकुरहरू भुकेर बस्ती अझै जिउँदै छ भन्ने संकेत दिइरहेका थिए। सडकमा उपद्रयाहाहरूको बलियै हुल घरीघरी आउँथ्यो; जान्थ्यो। त्यसबेला जाँडरक्सीले लरबरिएको स्वरमा तल्लो स्तरका शब्द मनग्यै सुनिन्थ्यो।
‘बाआमाको ग्रीन सिंग्नल मिलेको हप्ता दिनमै तँ र बुबाआमाको सदीक्षा पूरा भएको रिपोर्ट हातमा थम्याएर मात्र म उड्ने प्रतिज्ञा गर्छु।’ उहाँले यसो भन्दा प्रचण्ड गर्मीमा चिसो पानी झार्ने झरनामा नुहाएझैं भयो। चाउरिएको मन ढक्क फुल्यो। हँसिलो चेहराका साथ भनें, ‘हस्।’
मेरो बोली हावामा बिलाउन नपाउँदै उहाँ जुरुक्क उठ्नुभयो। मन्द अँध्यारामै नाच्नुभयो। बिनागीत, बिनासंगीत उहाँको नृत्य मनमोहक थियो। थाकेर बस्नुभयो। मेरो अनुहारको आत्मसन्तुष्टि पढेर उहाँ रुन पो थाल्नुभयो। कसैले चाल पाउला भनेर मैले हत्तपत्त उहाँलाई अँगालो हालें। आफ्नो काखलाई सिरानी बनाएर उहाँको टाउको निकैबेर लुकाएँ। हातले सानो नानीलाई थुम्थुम्याएझैं थुम्थुम्याइरहें।
०००
सूर्यको साम्राज्य जताततै फैलिसकेको थियो। मानिसहरू जीवन सङ्घर्षमा सिंगौरी खेल्न थालिसकेका थिए। काठ मिलको घ्यार्घुर्, यातायातका साधनको घाइँघुई, ईंटाभट्टाले निकालेको धुलोधुँवा सबैले शहर कब्जा गरिरहेका थिए।
त्यसैबेला ससुरा बाले उहाँलाई मनाउने कोसिसमा भन्नुभयो, ‘म लिजमा जग्गा मिलाई दिऊँला। तँलाई तालिम लिने प्रबन्ध समेत गरिदिऊँला। तैंले उत्पादन गरेका वस्तुको बजारव्यवस्थापनका लागि आवश्यक परे तीनै तहका सरकार गुहारौंला। देश छाड्ने मन त्याग।’
सासू आमाले थप्नुभयो, ‘कृषिज्ञान इजरायलमै मात्र पाइन्छ भन्ने छैन। आफ्नै घरमा पनि मिल्ने रहेछ त!’
‘कुनै आतङ्कको भय पनि नहुने। नेपाली भएर नेपाली माटोमा नै उभिएर सास फेर्नु र उद्यम गर्नुको मज्जा बेग्लै हुन्छ केटा!’ आफ्नै पाराको ससुरा बाको गथासो थपियो।
उहाँहरू जतिजति रोक्ने कुरा गर्नुहुन्थ्यो; त्यत्तित्यत्ति मेरो दाहिने हात आफ्नै कोख छाम्न पुग्थ्यो। एकान्तमा उहाँको रिसको आगोमा एक्लै जल्नुपर्ने पीडा सम्झेर मन ढुकढुक गर्थ्याे।
सासूससुराले आफ्नो मियो बलियोसाथ पक्रेकाले छलफल निष्कर्षविहिन हुन आँट्यो। मुटुलाई ढुङ्गाले थिचेर म बैठक कोठामा प्रवेश गरेँ। सासूससुरा सतर्क हुनुभयो। म नआएकी भए हुन्थ्योजस्तो गर्नुभयो।
‘उहाँलाई जसरी नि इजरायल जान दिनुस्। उहाँ लर्न एन्ड अर्न अर्थात् सिक्दै कमाउँदै गर्न चाहनुहुन्छ। आफूले उद्यम गर्न आफैंले अनुभव लिनुपर्छ। हजुरहरूको कमाइमा उहाँले आजसम्म रजाइँ गर्नुभयो। उहाँका पखेटा बलिया भए। अब आफैं अरूलाई उडाउन सक्षमता आर्जन गर्न चाहनुहुन्छ। हामी बाधक बनेर उहाँका पखेटा कुँज्याउने काम नगरौँ। मेरो विन्ती छ।’ मैले हात जोडेको जोड्यै फलाकेँ। सासूससुरा शब्दविहिन हुनुभयो।
अन्ततः उहाँले इजरायल उड्ने अवसर भेट्नुभयो।
०००
समय दिनरातमा बदलिएर साजीबासी हुने क्रम चलिरह्यो। उहाँ उडेको दुई महिना बित्नासाथ तीन जना साहूमहाजन आँगनमा देखिए। उनीहरूलाई हात जोडेर ससुरा बाले फर्काइदिनुभयो। औँला ठड्याउँदै र खबरदारी जनाउँदै उनीहरू बाहिरिए। ससुरा बाको पछिल्लो वाक्य मेरो कानमा पस्यो, ‘मात्रै चार महिनामा म एकएक गरेर चुकाइदिने वचन दिन्छु।’
म घरकी नयाँ खालकी बुहारी मान्छे। घरव्यवहारमा कहाँ के हुँदै छ, आन्द्राभुँडी केलाउन सकस पर्ने भइगयो। मेरा कानमा कुनै कुरा पसाइन्नथ्यो। मैले कसैलाई केही भन्न पनि पर्दैनथ्यो। एक किसिमले म मात्र घरेलु सेविका थिएँ तलबभत्ता नपाउने।
०००
‘प्रणिता, सम्झनाचाहिं गर्नु तर सुर्ता बन्दै नगर्नू। मेरो तन यहाँ इजरायलमा छ; मन भने त्यहीँ छ। बाआमाको ख्याल गर्नू। चित्त कुँड्याउने काम भयो कि भनी हर्दम सचेत रहनू।’ उहाँले मोबाइलमा भन्नुभयो।
मैले पनि उहाँको मन बुझाउन भनिदिएँ; ‘यताको चिन्ता रत्तिभर नलिनू। आफ्नो ख्याल गर्नू। लोभले नसाँच्नू। पेटभर खाएर र आङभर लाएर बचेपछि मात्रै नेपाल पठाउनू।’
मेरा कुरा सुनेपछि बुबाआमा के भन्नुहुन्छ भनेर सोध्नुभयो। मलाई बेलिबिस्तार लगाउने बाटो खुल्यो। नभनी नहुने कुरा पनि थियो। भनेर घरबाहिर बसिरहेकालाई तनावको भारी बोकाउनु किमार्थ बुद्धिमानी थिएन। म केही बेर धर्मसङ्कटमा फसेँ।
सधैं सत्य बोलेरै व्यवहार चल्दैन भन्ने सोच्दै भने– ‘त्यस्तो उल्लेखनीय कुरो छैन।’
मैले कुरा चपाएर बोलेको उहाँले भेउ पाइहाल्नुभयो। भन्नुभयो, ‘लुकाउँदैमा सूर्य लुक्तैन। लुकाउनेकै आन्द्राभुँडी देखाउँछ।’
अन्ततोगत्वा मैले असत्को कालो पर्दा च्यात्नै प¥यो। भनिदिएँ, ‘ससुरा बाआमा दुवैको भुईंमा खुट्टा छैन। सानो गुनासोचाहिं जिउँदै रहेको पाएँ।’
मेरा कुरा सुनेर अरू सुन्न प्रश्न राख्नुहुन्छ होला भनेको प्रश्न पनि सुनिनँ। चिन्तित भएको पनि पाइनँ।
आम नारीले चाहेझैं म पनि पति मेरै सम्झनाले पिरोलिरहोस् भन्थें। सो नपाउँदा आफैं पिरोलिन थालें। अनेक आशंकाका महलहरू वरपर ठड्याएर आफ्नै अमनचयन आफैंले अपहरणमा पारें। उहाँमा जिज्ञासा शान्त पार्ने भोक मेटिएको थियो। मसँग भने प्रश्न गर्ने भोक तीव्र भएर जागेको थियो।
त्यस दिनदेखि उहाँले मन खोल्न बिलकुलै छाड्नुभयो। मैले पनि मन दिन बिलकुलै छाडेँ। सट्टामा अनेक आशंकालाई पाहुना बनाएँ। ओछ्यानमै ल्याएर रातभरि सुताएँ। त्यसैसँग लहसिइरहेँ; तडपिइरहेँ; जलिरहेँ।
उहाँको फोन आउँदा उहाँसँग विरलै गफ गर्न कसिन्थेँ। बरू गुरुरु कुदेर सासू आमाकहाँ पुग्थेँ र मोबाइल थम्याउँथें। मोबाइल पक्रँदै सासू आमा भन्नुहुन्थ्यो, ‘अब त तिमी आफू मात्रै छैनौ। नासो कोखमा पालेकी छ्यौ। नौ महिना जतन गर; मेरा हातमा थम्याएपछि मात्र बिसाउन पाउँछ्यौ। त्यसपछि तिमी आफू खुशी दगुर्न, उफ्रन सक्छ्यौ।’
म पनि सासू आमाका मुखबाट यिनै कुरा बरोबर सुन्न चाहन्थेँ। यद्यपि उहाँको कानमा नपरोस् भन्थें। मोबाइल अन भएका कारण मसँग बोल्ने हुँदा सासू आमाले बोलेका हरकुरा उहाँ थाहा पाउनुहुन्थ्यो। आमाछोरा बिच निकैबेर भलाकुसारी हुन्थ्यो। ढुकेर सुनिरहन मिल्दैनथ्यो। म काममा गइहाल्थें।
‘तिमी किन जनकसँग ढुस्किएकी?’
सासू आमाले अनायास गरेको प्रश्नले म हडबडाएँ। केहीबेरमै शान्त भएर भनें, ‘गम्भीर कुरालाई पनि हलुका रूपमा लिनुहुन्छ। घरपरिवारको कुरा झिक्दा हावामा उडाउनुहुन्छ। हावादारी मान्छेलाई मूल्य दिंदा अरू हावादारी बन्नुहुन्छ कि भनी म गरुङ्गो बनेकी।’
‘तिमीले बुझे जस्तो कुरा हैन दुलही। तिमीले दुःखका गन्थन सुनाउँदा दुःखी भए तिमीलाई नै दुःखी हुन प्रोत्साहन मिल्ला भन्ने डर रहेछ त्यसलाई। तिम्रो दुःखले तिमीले बोकेको नानीले दुःख मान्ला भन्ने पीर रहेछ। दुःखी नानी जन्मे आफ्नो बाँकी जीवन दुःखमा डुब्ने त्रास रहेछ। त्यसैले तिमीलाई चिढ्याएर अन्यायमा नगल्ने र नजल्ने सन्तान बनाउन चाहँदो रहेछ।’
सासू आमाले छोराको महाभारत सक्नुभयो। मेरो हात भुँडी छाम्न पुगेछ। थाहै नपाई आँखा रसिला भएछन्।
फोन आउँदा आफैंले उठाएँ। अरू बेला आमालाई उठाएर दिन्थेँ। यत्तिखेर आफैँ भलाकुसारी गर्न तम्सिएँ। उहाँले पहिलाकै जस्तै बाहिरी जगत्का अनेक बेलिविस्तार लगाइरहनुभयो। मप्रति रत्तिभर अनुराग र विराग दुवै नभएको भान देखाइरहनुभयो। घरपरिवार एकादेशको कथा जस्तो अपत्यारिलो कुरा भनी अनास्था देखाइरहनुभयो।
म रत्तिभर आत्तिनँ। मेरो मुहार र बोलीमा वितृष्णाभाव रत्तिभर नदेखेपछि उल्टै उहाँ पग्लनुभयो। कुरा नफेरे पनि आवाज फेरियो। केहीबेरमै उहाँ पनि भावनामा बग्नुभयो। म पनि बगेँ। उहाँ रुनुभयो। मैले पनि साथ दिएँ। निकैबेरको भिडियो वार्तामा रुवाइपछि ड्य्टीमा जानुछ भन्दै उहाँ छुट्टिनुभयो।
त्यस दिन पाएको आनन्दको रस अहिले सम्झँदा पनि अर्कै आनन्द आउँछ।
०००
‘जनक, साहूको किचकिच नाम्चेको उकालो चढिसक्यो। मुख बुझो लगाउनुप¥यो। गोडा दुएक लाख पठापठा...ऽऽऽ ।’
फोनमा ससुरा बाको यस्तो कुरो सुन्दा उहाँ छक्क पर्नुभयो। निधारमा चिटचिट पसिना आयो। खुशी मनले ‘हुन्छ, पठाउँछु’ भन्न पनि सक्नुभएन। मेरो मनमा ढ्याङ्ग्रो बज्न थाल्यो। बाबुआमासँग कुनै रिसराग भयो भने मकहाँ बगाउने उहाँको पुरानै रोग हो।
‘म रछ्यान हुँ र काम नलाग्ने कुरो थुपार्नुहुन्छ?’ यसो भनेर म पनि असन्तोष पोख्थेँ।
उहाँ तुरुन्तै भन्नुहुन्थ्यो, ‘तिमी मेरो जीवनको डम्पिङ साइड हौँ। मैले सारा फोहर तिम्राछेउमा थुपारेँ भने म आनन्द भेट्छु। मैले अरू डम्पिङ साइड बनाएकै छैन। बाबुआमाले खोजेरोजेको तिमीलाई नै मैले वैधानिक डम्पिङ साइड बनाएको छु। मेरा फोहरमैला सुन्ने र सुनिरहने अघोषित डम्पिङ साइड.. ...ऽऽऽ।’
यत्तिखेर भने मैले मन बलियो बनाएँ। कुनै कुरा आएमा उहाँको चित्त भरिने गरी भन्दछु भनेर।
अर्को दिनको वार्तामा उहाँले गुनासो राख्नुभयो, ‘तिमीले आमाबुबाको कान भरिछ्यौ तर मेरो भरिनौ।’
‘तपाईंले मलाई कान नै दिनु भएन। दिनुभएको भए म भन्थें, तपाईं जसरी भए पनि ससुरा बाको काँधको रिन तिरिदिनुस्; अनि मात्र अरू कुरा सोच्नुस्। रिन बोकेर र बोकाएर महल बनाउनु मुर्खता हो।’
मैले समस्या उहाँलाई अवगत गराएँ। समाधानको एकोहोरो उपाय पनि देखाएँ।
वास्तवमा ससुरा बाले उहाँलाई पढाउन र विदेश पठाउन डम्बरे साहूबाट मिटर ब्याजीमा रिन लिनुभएको रहेछ। उसलाई दैनिक एक हजार ब्याज तिर्नुपर्दो रहेछ। सानातिना ऐंचोपैंचो धेरै थियो। यो कुरा थाहा पाएर मेरो सातो उड्यो। मेरो हाँसो त्यही मिटर ब्याजले अपहरण गरेको थियो।
हुन त ससुरा बाआमाले हाम्रै भविष्यका लागि जोखिम मोल्नुभएको हो। रिन आर्जन पनि हाम्रै खुशीका लागि हो। मिटर ब्याजीमा रिन काड्नु पनि विवशता हो। जायजेथा धरौटी राखेर पनि सहज रूपले सर्वसुलभ ब्याजमा रिन नपाए पछि ससुरा बाले साहुकहाँ हात फैलाउनुभएको हो। उहाँहरूको जीवन त रिनमै डुब्दाडुब्दै बित्छ तर हामी दम्पती र पेटमा भएको यसको जीवन त सडकमा खँदारिने भयो।
रिन बोकाउनु ससुरा बाको बाध्यता थियो भने रिन बोक्नु हाम्रो विवशता थियो।
उहाँले जेनतेन पैसा पठाइरहनुभयो। पूरा चुक्ता भएकाहरूले कागज दिए। व्याज चुक्ता भएकाहरू किचकिच गर्न छाडे। डम्बरे साहूको ठूलो रकम भएकाले व्याजले नै थिचिराख्यो।
ससुरा बा भन्न थाल्नुभयो, ‘धेरै जनाको रिन खाएर मर्दा धेरै पोल्दो हो। एकै जनाको मात्रै खाए कम डाहा हुँदो हो।’
मैले नै भनें, ‘घरबासी लमतन्न सुतिरहेको छ। त्यसैलाई बिउँझाएर रिन तिरी आनन्दको सास फेर्नुस्।’
‘पटकपटकको मरणभन्दा एकै पटकको मरण बेस हुन्छ। बेचौँ र डम्बरेबाट मुक्त होऔं।’ सासू आमाले थप्नुभयो।
मैले बेच्न भनेकी थिइन्। त्यसलाई कसैलाई लिजमा दिन वा ब्याज मराउनी दिन मात्रै भनेकी थिएँ। उहाँहरूले बेच्ने नै अडान लिनुभयो। थोरै बेचे रिन तिर्न पुग्ने थियो। लिजमा दिए सबै दिए पनि थोरै रिन बाँकी नै रहन्थ्यो।
विपत्मा बेच्न खोज्दा कम मोलमा लिन खोज्ने धेरै निस्किए।
‘प्रचलित भाउभन्दा आधा दाममा कसरी दिनू?’ ससुरा बाले मनको घाउलाई आवाज दिनुभयो।
उहाँले खेतबारी नबेच्ने अडान लिनुभयो। फलतः डम्बरेको गनगनले उहाँको कान खान थाल्यो। हुँदाहुँदै अमनचयन खोस्न थाल्यो। दाम आए पछि बेच्छु र तिर्छु; प्रचलित मोल नपाए बेच्दिनँ भनुहुन्थ्यो।
०००
सिमसिमे पानी परिरहेको बेला सहयोगीका साथ आएको डम्बरे हाम्रो आँगनमा देखाप¥यो। ससुरा बालाई बोलाएर आँगनमा उभ्यायो। र; भन्न थाल्यो; ‘सावाँ फर्काउने कुरा निकै परको होला। ब्याजले नै आकाश छोइसक्यो।’
ससुरा बासहित मेरो घाँटी सुकिसकेको थियो। सासू आमा भने मान्छे आए कि कुनातिर पसेर चियाउनुहुन्थ्यो। सायद रिन बोकेको अनुहार सबैको सामुमा देखाउन चाहनुहुन्नथ्यो। उहाँको ओझेलको धन्दा बारे उहाँ मात्रै जान्नुहुन्थ्यो।
डम्बरेले दुईटा लैना भैँसी, हल गोरु, पाँच ओटा ठूल्ठूला खसी फुकाएर आँगनमा ल्यायो र भन्यो; ‘आजसम्म दश लाखको मिटरब्याज बार लाख भएछ। तिमीले दिएको दुई लाख, गत महिना जनकेले पठाएको पाँच लाख र यी वस्तुभाउको एकमुस्ट पाँच लाख गरी अर्को महिनासम्म ब्याज असुल भयो। नाकनिक गर्छौ भने अर्को तीन महिनासम्म ब्याज तिर्नुपर्दैन लिएको दश लाख सावाँ फिर्ता गर। भइगयो।’
यसरी डम्बरे अकस्मात् आयो। आफू खुशी गोठ रित्याएर आनन्दको सास लुटेर लग्यो। तिनै वस्तुभाउ हेरेर र काममा जोतिएर ससुरा बा व्यस्त रहनुहुन्थ्यो। त्यो पनि हातबाट फुत्कँदा आँखा भरिए। लोभले भन्दा पनि पशुको मायाले उहाँलाई पिरोल्यो। उहाँ पाल्तु पशुलाई परिवारको सदस्यझैँ माया गर्नुहुन्थ्यो।
साँझमा आमाछोराका बीच लामै कुराकानी भयो।
सासूआमाको ओठमा मुस्कान नाचिरहेको थियो। बाको आँखामा भने आँसु छचल्किरहेको थियो।
‘जहिल्यै भए पनि बेच्नै पथ्र्यो। डम्बरेले लग्यो। रिन त कम भयो। चिन्ता नलिनुस्। मन चंगा बनाउनुस्।’ सासू आमाले सम्झाउनुभयो।
‘माया छ; मारौंला। त्यस डम्बरेले जरोकिलो उखल्यो। जोडे पनि फेरि उखेल्ला; त्यो पनि सहूँला। तर लिएकै छैन भनेर बेइमान ग¥यो भने जुलुम हुन्छ। चुक्ता नगरी कागज दिंदैन; पटकपटक गरी मैले लिएको दश लाख हो । कागज तीस लाखको गराएको छ ।’ ससुरा बाले भन्नुभयो ।
सासूआमा केही बोल्नुभएन । मसँग पनि बिचमा उभिने सामथ्र्य थिएन ।
‘बुढेसकालमा पनि तँ मोबाइल खेलाइरहन्छेस्। चितामा सुत्दा पनि मोबाइल बिर्सेलिस् नि हेक्का राखेस्।’ कुरैकुरामा ससुरा बाले गम्भीर कुरो झिके पनि हामी तीनै जना गल्लल हाँस्यौं। एकैछिन भए पनि पीर अलिक पर सरेर बस्यो।
‘तीन महिनाभित्र जनकले रिन चुक्ता गरिदिन्छु भनेको छ।’ सासू आमाको कुरा सुनेर ससुरा बाले उज्यालो मुहार बनाउँदै सोध्नुभयो, ‘कसरी जुटाउँछ त्यत्रो रकम?’
‘उसैको कम्पनीले तिरिदिन्छ रे। तलबबाट काट्दै जान्छ रे।’ सासू आमाले भन्नुभयो।
परिवारमा दशैं आयो। हर्षको वर्षा भयो। दुःख भाग्यो। आशलाग्दो अवस्था आयो।
०००
दुई महिना नबित्दै उहाँले रिन चुक्ता गरिदिनुभएछ। जनकप्रसादबाट मैले पाउने जम्मै प्रसाद पाएँ भनेर सुरुसुरुमा डम्बरेले खुब खुशी छाद्यो हाम्रो आँगनमा। ससुरा बालाई पनि धाप मार्दै पुरानै कुरा दोह¥यायो, ‘सबैले भन्थे तर म भन्दिनथेँ। आज भन्छु–छोरो हुनु त जनकजस्तो।’
डम्बरेसँगै ससुरा बा पनि खुशी हुनुभयो। उहाँले सुस्तरी भन्नुभयो, ‘साहू आएर क्रोध छादे सह जान्छ; खुशीको होली खेले सह ओइरिन्छ। छोरो इजरायल नगएको भए रिनकै आहालमा डुबेर मरिन्थ्यो होला। धन्न बुहारी ताती र म सेलाएँ।’
‘ए बूढा, अझै के जोखाना हेर्छौ? रिन चुक्ता भएको खुशीमा कि खसी ढाल कि मैकहाँ ढाल्न हिँड।’ डम्बरे ससुरा बालाई तताउँदैथ्यो।
‘गोठमा दुमो पनि नराखी रित्याइदिई हाल्नुभयो तपाईंले। दशैँ त रित्तै गयो। तिहार आ’कै छैन। खसी ढल्न मुस्किल छ।’ मनको धमिलो पानी मैले डम्बरेसामु बगाइहालेंछु।
ऊ केही झस्क्यो र ससुरा बालाई नै साहुलाई जस्तो आदरभाव देखाउँदै लिएर गयो। कतै उहाँलाई झुक्याएर कागजपत्रमा हस्ताक्षर त गराउँदैन; आशंका मनको एक कुनामा बिझाइरह्यो।
ससुरा बा र डम्बरेको बहिर्गमनपछि सासू आमा मोबाइल सम्सुम्याउँदै बाहिरिनुभयो ।
‘तपाईं त मोबाइलसँगै लभ गर्दै जन्मनुभएको थियो कि क्या हो?’ नभनूँ नभनूँ भन्दै थिएँ; घुच्चो मनले भनिहालेछ।
बुहारीको स्तरबाट उक्लेर मैले बोलेका शब्दका लागि आफैं पछुतोमा परेँ। सासूको रिसको फन्दामा परिने भयो भनेर मुटु ढुकढुक भयो। मोबाइल प्रेमका कुरा ससुरा बा समेत बेलाबेलामा झिकेर उहाँलाई भुतुक्क पार्नुहुन्थ्यो। मैले पनि त्यही सिको गरेकी थिएँ।
यद्यपि उहाँको अनुहारमा क्रोधको साटो मुस्कान थियो। मैले कान पक्रेँ। शब्द तौलेर मात्रै बोल्ने प्रण गरेँ।
म चुप लागेको देखेर सासू आमाले भन्नुभयो; ‘तिम्रा कुरा रसिला थिए। कहिल्यै नसुनेको र सुन्ने अपेक्षा पनि नराखेका शब्द जोडेर भन्यौ। भित्री दिलमै हाँसोको फोहरा फुटिरहेछ।’
उत्तरमा मैले मुस्कान मात्रै दिएँ। उहाँले नै भन्नुभयो; ‘झलक्क हेर्दा तिमी बाठी छ्यौ तर परिस्थिति मुठ्ठीमा कैद गर्न नसक्ने लाटी छ्यौ।’
‘म लाटी रे; कोही आँगनमा आए मोबाइल लिएर गुँड पस्ने तपाईं चाहिँ कसरी बाठी?’ मेरो प्रश्न मनमै गुम्सियो। मैले ध्वनिमा रूपान्तरण गर्ने जोखिम मोलिनँ। पहिलेको गल्ती ताजै थियो। अर्को गल्ती थपेर विस्फोट गराउन चाहिनँ।
‘नयाँ मान्छे आए हजुरले कुना पसेर मोबाइल खेलाउनुको कारण?’ नझिकूँला भन्दाभन्दै कुरैकुरामा सोधिहालेँछु।
‘दुमो जोगाउन।’
उहाँको कथनको आशय नबुझेर म भुईं कोट्याउन पुगें। उहाँले नै थप्नुभयो; ‘संसार कपट छ। धूर्त छ। जस्ताको संगत गरिन्छ; त्यस्तै हुनुपर्छ भन्ने छैन। त्यस्तासँग जोगिने विधि जान्नुपर्छ।’
मेरो समझको कुरो थिएन। म अँध्यारो मुहार लगाएर टोहलाउन पुगेँ। उहाँ साँझका घरेलु काममा सल्टाउन थाल्नुभयो। म पनि भातभान्साको जोहोमा व्यस्त भएँ।
सासू आमाको मोबाइलमा रिङ बज्यो।
‘राममाया; मैले बिहान र अहिले दुबै छाक साहूकैमा खाना खाएँ।’
‘कतिखेर फर्कने?’
‘भाइकैमा सुत्छु अहिले। बिहान सखारै कुखुरापरेवाको दैलो उघार्न आइपुग्छु।’
‘साहुबाट कागज लिनू है!’
‘अरू आएरै कुरा गरौँला।’
सासूससुराको बातचित टुङ्गियो। मेरो मनमा भने अनेक बातचितको बिजारोपण भइरहेको थियो। सासू आमा मोबाइल कसैलाई छुन दिनुहुन्नथ्यो। आफू मात्रै हुँदा मोबाइल पोल्टामै गुम्सिन्थ्यो। फोन गर्न परे वा उठाउन परे निस्कने कुरो आइहाल्यो। अरू बेला साहुमहाजन आउँदा मात्रै पोल्टाबाट निस्कन्थ्यो।
०००
‘प्रणिता, आज मौका छ। म तँलाई मेरो कहानी बताउँछु । कसैलाई नभन् है ?’
सासू आमाका मुखबाट यस्ता कुरा सुन्दा मन चङ्गा भयो । तुरुन्तै मैले मानिहालेँ ।
‘डम्बरे मेरो क्लासमेट हो । मलाई एकोहोरो प्रेम गर्दो रहेछ । उसको बाबुले मलाई भेटेर हकार्यो ।’
उहाँ बोल्न छाड्नुभयो । मैले कर गरिरहेँ ।
‘मेरो परिवारलाई नङ्गटको संज्ञा दियो । तिमरू सडक छापेहरूले मेरो छोरालाई हातमा लिएर मेरो धनमाथि गिद्धे नजर गाड्ने भन्यो ।’
फेरि उहाँ शान्त हुनुभयो । मेरो जोडबलले गर्दा भन्नुभयो; ‘कपटी बाबुको छोरो महाको कपटी रहेछ । मैले प्रेम गर्दिनँ भन्दा उसले धम्की दिँदै भनेको थियो– यस जन्ममा म तँलाई सडक छापको सडक छाप पारेरै छाड्छु ।’
सासू आमाका नानीहरू आँसुमा डुबेका थिए। त्यो देखेर मेरा पनि आँखा रसाए। यस्तैयस्तै कुरा गरेर हामी निद्रादेवीको काखमा लुट्पुटियौँ।
०००
बिहान आँखा मिच्दै दैलो खोल्दा आँगनभरि कुखुरापरेवा चारो टिप्दै थिए । गाईको बाछो यताउति बुर्कुसी मार्दै थियो । खोर थुनिएनछ; बाछो बाँधिएनछ भनेर मनमा ढ्याङ्ग्रो बज्न थाल्यो ।
ससुरा बा पो बाछो पक्रने दाउमा हुनुहुँदो रहेछ। उहाँले नै कुखुरापरेवालाई सदाझैँ मुक्त पार्नुभएको रहेछ।
‘त्यस कपटीले कागज दियो ?’ सासू आमाले बाहिरिँदै सोध्नुभयो।
‘दिने कुरै गरेन। जोरबल गर्दा जनकप्रसादलाई नै दिन्छु भन्यो।’
‘उसो भए डुबाउने ठाउँ राखेरै छाड्यो!’ सासू आमाले चिन्ता दर्शाउनुभयो।
पूरै परिवार मनमा एक खाले तुस दबाएर मुर्दाशान्तिको अवस्थामा फर्कियो।
हाम्रै करबलले गर्दा रिन सिध्याएर रित्तो हात उहाँ घर आइपुग्नुभयो। आएकै भोलिपल्ट इलाका प्रहरीले उहाँलाई प्रहरी हिराशतमा लियो।
पछि बुझ्दै जाँदा ३० लाख खाएको आरोप रहेछ छ उहाँ माथि। मुद्दामा साउँब्याजसहित फिर्ता पाऊँ भनेको रहेछ।
यसरी मैले वकिललाई इतिवृति सुनाएर सकेँ। वकिलले अनुहार उज्यालो बनाएर भने; ‘तपाईंको केस लडेर म नम्बर पाउने रहेछु। लु त, म रेडी भएँ। सासू आमालाई मोबाइलसहित आउन भन्नुुस्।’
वकिलको सासू आमासँग लामै केरकार भयो। पटकपटक खड्गेले गरेका हर्कतको भिडियो अडियो मोबाइलमा रेकर्ड गरिएको रहेछ। वकिलले सबै फाइल सेयर इटबाट आफ्नो ल्यापटपमा सारे।
उठ्ने जमर्को गर्दै वकिलले भने; ‘यत्ति शक्तिशाली प्रमाण हातमा भएर पनि आँसुको दहमा पौडी खेलिरहनुभएछ। अब ढुक्क हुनुस्; मोबाइलमा जोगाएर राखेको दुमोले खड्गे सडक छाप बन्ने पक्का भयो।’
–नन्दलाल आचार्य
प्रकाशित: ८ माघ २०८० ०७:३७ सोमबार