-आमा! मलाई दश हजार चाहियो’ छोरीले पैसा मागी। कलेजको कार्यक्रममा मैले नि भाग लिएकी छु। स्यान्डिल र एउटा गाउन किन्नु छ।
-प्रत्येक पटक नयाँ लुगा स्यान्डिल किनेर कहाँ सकिन्छ र छोरी?
‘ईशु,सृष्टि,आयुश्मा सबैले आआफ्नो लागि ड्रेस तयार गरिसकें। मेरै बाबुआमासँग चाहिं पैसा झार्न कति गाह्रो पर्छ मलाई’ उसले थपी।
-यसले जे आउँछ त्यही किन्नु। पुरानै लुगा स्यान्डिल लगाउँदा नि हुन्छ। अरू घोडा चढ्यो भन्दैमा आफू धुरी चढ्न हुँदैन।
‘घाँटी हेरेर पो हाड निल्नुपर्छ त’ पाँच हजार दिंदै भनें।
बिनाप्रतिवाद उक्त रकम समाएकी थिई उसले। क्याम्पसको कार्यक्रम पनि सकियो। कार्य व्यस्तताले सोध्न पनि भियाएकै थिइन्। उसले सुनाउँदा पनि सुनाइन।
आज फेरि निन्याउरो अनुहार बनाउँदै छोरी नजिक आई।
‘आजचाहिं के फुस्काउनुप¥यो र नाटक गर्दै हुनुहुन्छ? क्याम्पसको कार्यक्रमबारे पनि सुनाउनुभएन। पाँच हजारको के किन्नुभयो? देखाउने कष्ट नि गर्नुभएन।’
‘केही किनिन।’ अनुहार अँध्यारो थियो उसको। कि चढाउनुभो? कच्याककुचुक्क पारेर गोजीमा हाल्ने अनि मोबाइल माक्स झिक्दा झार्ने गरेको उसको बानी सम्झिंदै भनें।
ऊ बोलेकै थिइन। के गरिस् त्यो पैसाले?
‘दुख गरेर कमाएको भए पो महत्त्व थाहा हुन्छ।’ मनमनै सोच्दै थिए।
अर्को पटकलाई सबै सिकाउन भए नि अलिअलि डोज त दिनै पर्ला। केही सवाल दिमागमा तयार हुँदै थिए।
‘आमा, त्यो पैसा त प्रणिताको बुबाको मृगौलाको डायलासिस गर्दा सहयोग गरेकी थिएँ तर के गर्नु! उसको बुबा पनि रहनुभएनछ। भर्खरै थाहा पाएँ।’ उसले बर्र आँसु झारी।
‘त्यति राम्रो सामाजिक काम गर्दा पनि ढाट्नुपर्थ्याे त?’ मैले भनें।
हजुरले पनि अस्ति नै बाबासँग ब्याग र जुत्ता केके किन्नु छ भनेर निर्मला आन्टीको उपचारमा सहयोग गर्नुभएको थियो नि होइन?
-मन्दिरा चापागाईं
प्रकाशित: २७ पुस २०८० ०७:२५ शुक्रबार