कला

साहित्यकारहरू काँचुली र चालिसे सम्मानित

लघुकथा समाज, नेपालले दुई साहित्यकार मञ्जु काँचुली र विजय चालिसेलाई सम्मान गरेको छ।

अग्रज साहित्यिक पत्रकार रोचक घिमिरेको प्रमुख आतिथ्य, लघकथा समाज नेपालका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको विशेष आतिथ्य र लघुकथा समाज नेपालका उपाध्यक्ष तुलसीहरि कोइराला सभाअध्यक्षतामा भएकाे कार्यक्रममा सम्मान अर्पण गरिएको हाे।

कार्यक्रममा प्रमुख अतिथि अग्रज साहित्यिक पत्रकार रोचक घिमिरेले ‘बाटुली खिलध्वज लघुकथा सम्मान–२०८०’ मञ्जु काँचुली र ‘सावित्री केशर कथा सम्मान-२०८०’ कथाकार विजय चालिसेलाई समर्पण गरेका थिए। उक्त सम्मानका साथ सर्जकहरूलाई जनही २१ हजार १ रुपैयाँ नगद राशि प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि घिमिरेले नेपाली साहित्यमा लघुकथा लेखनबारे चर्चा गर्दै मञ्जु काँचुलीकाे पिता भीमनिधि तिवारी र विजय चालिसेका पिता रमेश विकलसितका सुमधुर साहित्यिक सम्झना सुनाएका थिए।

लघुकथा समाजका संस्थापक अध्यक्ष तथा स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले लघुकथा लेखनको उन्नयनमा लागेका स्रष्टाहरूलाई दिइएको पुरस्कार अहिलेसम्म उचित पात्रलाई परेकाले कुनै विवादमा नपरेकाे बताए। उनले समाजले नेपाली साहित्यकाे क्षेत्रमा पुर्‍याएकाे याेगदानबारे पनि चर्चा गरे।

सो अवसरमा सम्मानका संस्थापकहरूका तर्फबाट हरि थापाले बाेलेका थिए। उनले समाजले हाम्राेभन्दा राम्रालाई सम्मान गरेर उल्लेख्य काम गरेकाेमा धन्यवाद दिएका थिए।

सम्मानित व्यक्तित्वहरू मञ्जु काँचुली र विजय चालिसेले पनि बाेलेका थिए। सम्मानित  काँचुलीले लेखकहरू समाज परिवर्तकाे संवाहक भएकाे र कुनै गुट उपगुटमा नलागी एकजुट हुनुपर्ने बताइन्।

कार्यक्रममा आयाेजक संस्थाका महासचिव सुमन सौरभ, श्रीबाबु कार्की, तुलसीहरि कोइराला बाेलेका थिए भने सदस्य रामकुमार पण्डित सञ्चालन र तारा केसीले धन्यवाद ज्ञापन गरेका थिए।

कार्यक्रममा शारदाका सम्पादक विमल भाैकाजी, लघुकथा समाज नेपालका पूर्व उपाध्यक्ष ध्रुव मधिकर्मी, लघुकथा समाज नेपाल, काेशी प्रदेशका अध्यक्ष ममता मृदुल, लघुकथा केन्द्र नेपालका संस्थापक अध्यक्ष लता केसी, लघुकथा साैन्दर्यका संस्थापक श्रीराम राई, लघुकथाकारहरू - छविरमण सिलवाल, राजेश खनाल, दिव्य गिरी, दीपक लाेहनी, दीप मुंग्राती, विनोद नेपाल लगायतको उपस्थित रहेको थियो।

प्रकाशित: १७ मंसिर २०८० ०३:३९ आइतबार

अक्षर