कला

मोहन मैनालीको ‘मुकाम रणमैदान’ बजारमा

लेखक मोहन मैनालीको पछिल्लो खोजमूलक किताब ‘मुकाम रणमैदान: नेपाल अंग्रेज युद्धको बखान’ बजारमा आएको छ।

१८७१–७२ सालको नेपाल–अंग्रेज युद्धमा नेपाली र अंग्रेज सिपाही तथा कमान्डरहरूले लेखेका चिठीका इतिवृत्तान्तहरूलाई मैनालीले किताबको विषयवस्तु बनाएका छन्। किताबबारे मैनाली भन्छन्, ‘यो किताबका निम्ति नेपाल–अंग्रेज लडाइँ लडी जान्ने, भोगी जान्ने, देखी जान्ने मानिसका बयानमा म भर परेको छु।

कतै सार्वजनिक नभएका, राष्ट्रिय अभिलेखालयका माइक्रोफिल्ममा अनि राता कपडाका पोकामा अनेक कागजपत्रका बिच कतैकतै भेटिने, कतैकतै पढ्न नमिल्ने गरी धुलिएका, नबुझिने भएका अनि अहिलेको भन्दा अलि फरक अक्षर, फरक भाषा र फरक शब्दमा लेखिएका ती चिठीका शब्दशब्दका अर्थ बुझेर मैले त्यो लडाइँबारे अहिलेसम्म बाहिर नआएका कुरा किताबमा समेटेको छु।’

यो किताब लेख्न उनले थाहा नभएका जानकारी खोज्ने पत्रकारको सिप, असाध्यै धेरै मानिसले तयार गरेका असंख्य कागजपत्रको थुप्रोबाट आफूलाई चाहिएका जानकारी खोज्ने खोज पत्रकारको धैर्य र कठोर मेहनत अनि संकलन गरेका तथ्य सिर्जनशील ढंगले प्रस्तुत गर्ने फिचर लेखकको कला उपयोग गरेका छन्।

खोज पत्रकारितामार्फत आफ्नो पहिचान बनाएका मैनालीको पुस्तकबारे प्रकाशक भन्छ, ‘धेरै पढिएको र कथाजस्तै लाग्ने विषयमा नपढिएको र नसुनिएको तथ्यात्मक जानकारी पुस्तकको रूपमा प्राप्त गर्नु पाठकका निम्ति उपलब्धी हो।’ पुस्तक बुकहिलले प्रकाशन गरेको हो। 

प्रकाशित: १६ मंसिर २०८० ०२:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App