कला

हिउँचुलीका हिस्सी हिरामोती

नियात्रा

हिरामोती, मणिमाणिक्य यी दुर्लभ खजाना हेर्न, देख्न सबैलाई निकै उत्सुकता हुन्छ। जीवनमा कहिल्यै नदेखेको चिजबिज हेर्न पाए कस्तो न हुन्थ्यो होला भन्ने चाहना भइरहन्छ। वास्तवमा यही अभीष्टले मानिसलाई हेर्नुको मृगतृष्णा, देख्नुको कौतुहलले सधैं बेचैन बनाउँछ। नयाँ कुराको प्राप्ति, नवीन सिर्जनाको धोकोमा मन एकोहोरिइरहन्छ। अध्ययनको सिलसिला र यात्राको तारतम्यपछिको सफलताले यसमा उपलब्धि मिल्ने रहेछ।

म पनि यही दुर्लभ खजानाको खोजीमा हिँडेको थिएँ। मेरो यात्रामा प्राकृतिक सौन्दर्यप्राप्तिको चाहना थियो। त्यो पनि विश्वप्रसिद्ध पदयात्रा मार्ग सर्वोच्च अग्लो हिमाल सगरमाथा शिविरसम्म पैतालाले टेकेर पुग्ने। आँखाले देखेर, मनले भेटेर अनि हृदयले महसुस गर्ने।

वस्तुतः यिनै थिए मेरा दुर्लभ खजाना हिरामोती, मणिमाणिक्यहरू। यिनैको साक्षात् दर्शन गर्न हरेक दिन विदेशी पर्यटकहरूको लर्को ओहोरदोहोर बाटैभरि कति हो, कति!

सगरमाथा आधार शिविर र कालापत्थर जाने अन्तिम बस्ती नै ५१६० मिटर उचाइको ‘गोरकसेप’  हो। जहाँ आन्तरिक र बाह्य पर्यटकहरूको खचाखच घुइँचो हुन्छ।

साता दिनदेखिको लगातार पैदल यात्राले थाक्नुसम्म थाकेर यही ठाउँ पुग्दा उच्च हिमाली पर्वतमालाहरूले स्वागत गर्छन्। थाकेर हिँड्नुभन्दा हिँडेर थाक्नुको बेग्लै मज्जा मिल्दोरहेछ। हिमाली स्वागतको हार्दिकताले थकाइ मर्छ र हिँड्ने जाँगर स्वतः बढ्ने रहेछ। बेग्लै उल्लासमय उत्साहले फुर्तीफार्ती पारिदिने रहेछ।

सगरमाथा आधार शिविर र कालापत्थर जाने दोबाटो पुगेपछि प्रायः पदयात्रीहरूको दोमन हुँदैन किनभने गोरकसेपबाटै स्थान निर्धारण गरिआएको हुँदा यात्रीलाई बाटोले अलमल गराउँदैन। गन्तव्यको टुङ्गो लागेपछि बाटोले त्यहाँ पुर्‍याइदिन्छ।

वास्तवमा बाटोले गन्तव्य पुर्‍याउँछ। बाटो भएर गन्तव्य बनेको छ। गन्तव्य भएकाले बाटो खनिएको छ। बाटो र गन्तव्य भएकैले हिँड्ने र पुग्ने यात्रीको दोहोरीगत यात्रा यात्रारत छ। बाटो नभए कहाँ गन्तव्य, कहाँ यात्रा, कहाँ यात्री?

अतः बाटो भएकैले हिँड्ने यात्रीलाई पनि सुविधा छ। गन्तव्यले पनि पाहुना पाएको छ। पाहुना नआए यस्तो अनकन्टारमा को बस्ने यी सुविधा सम्पन्न होटलमा? कसले खाइदिने? कसले हेरिदिने सौन्दर्यका यी अनेकौं तरेलीहरू? यही सुन्दरताका सम्पदाहरू हेर्नकै निम्ति सात समुन्द्रपारिका पाहुना ओइरिन्छन्।

छिमेकी राष्ट्रका पाहुना पनि हुन्छन्। केही वर्षदेखि आफ्नै देश घुम्न निस्कने नेपालीहरू पनि खुम्बुक्षेत्रको भ्रमणमा आउँछन्। तिनै आउनेमध्ये म पनि एकजना एक्लो नेपाली यहाँ आइपुगेको थिएँ।

तथापि बाटो एक्लो एकलासको थिएन। यात्रा पनि एक्लै एकान्तको मात्र भएन। बाटो चुपचाप एक्लै खुरुखुरु उकालो चढिरहेको, ओरालो झरिरहेको थिएन। बाटैभरि अनेक थरी बटुवाहरूको पाइला लस्करै हिँडिरहेको हुन्थ्यो। कुनै ठाउँमा त बाटोमा पाइला टेक्न पालो पर्खिनुपर्थ्याे।

कुनै ठाउँमा उछिनापाछिन हुन्थ्यो हिँड्नेहरूको। कति ठाउँमा सामान बोकेका घोडा, चौंरी, झम्पेहरूले बाटै ढाकेर हिँड्ने। कतै विदेशी पाहुना पर्यटकहरूको ताँती दर्जन बढी हुन्थ्यो। हिँड्नुसम्म हिँड्ने हिँड्नका काल हुँदारहेछन् विदेशीहरू। कति हिँड्न जानेका सहजै, कति हिँड्न सकेका तुरुन्तै। भारीको बोझ पनि नहुने रहेछ। बाटोको अप्ठ्यारोले पनि कुनै कठिनाइ पार्दोरहेनछ।

हिमाल भेट्नलाई नै हत्ते हो कि? गन्तव्य पुग्नलाई नै हतार हो कि? हाम्रा हिमालप्रति कति ठुलो श्रद्धा र कति धेरै प्रेम? हिमाल भनेपछि भुतुक्कै। हिमाल देख्न पाएपछि हुरुक्कै। कति त सगरमाथा आरोहणकै अभियानमा आउँछन्।

खासमा नेपाल भ्रमण गर्न पाउनु उनीहरूको अहोभाग्य नै हुने रहेछ। त्यसमाथि संसारकै अग्लो चुचुरो सगरमाथाको काखैमा पुग्ने उत्कट चाहना अधिकांशको। यही चाहनाले लोभ्याएर यता निम्त्याएको हिमाली पर्वतमालाको दर्शन गर्न।

हुलका हुल घुमन्तेका यिनै हुलमा सामेल भएर हिँडिरहँदा आफूले नबोले पनि आफूसँग कोही नबोले पनि कुरा सुनिन्थ्यो धेरै। एक्लोपनको आभास दूर भाग्ने र मित्रताले मन रमाउने रहेछ। तर भेटिएका भेटहरू र बातचित गरिएका अनुहारहरू एकछिनकै हिँडाइपछि फेरिँदारहेछन्।

 पछाडि नै छुटिँदा रहेछन् कति हिँड्न नसक्ने ज्यानहरू। कति चाहिँ आफूभन्दा अगाडि नै लम्किसकेका हुँदारहेछन् लमक्क लमक्क। त्यसपछि फेरि चिनारीमा आउँदारहेछन् अरू नै परदेशीहरू। दिनदिनै, छिनछिनै कति भेट, मिलन र कति बिछोडहरू ! भेटिएका भेटहरू पनि नभेटिएजस्तै।

उकालोमा सुस्तरी हिँडिरहेकाहरू। ओरालोमा छिटोछिटो ओर्लिरहेकाहरू। यी सबै हाम्रै सम्पदा–सौन्दर्यको रसास्वादन गर्न आएका परदेशका पाहुनाहरू। दुधजस्तै दुधकोसीको प्रवाहमा पनि रमाएकै छन्। अक्करे भिरको चट्टान देखेर जिल खाएका छन्। झरना, खोलाखहरे, गाउँघर, वनजङ्गल हेरेर झनै रमाएका छन्।

ढुङ्गामा ठक्कर खाँदै, उकालोमा मुस्किलले पाइला सार्दै गन्तव्यतिर लम्किन हतारै छ। हिमाल देखेपछि  खुसीले सीमा नाघ्ने रहेछ। हर्षले उत्साह थपिदिने रहेछ। आँखाको तृष्णा मेटाउन पाएपछि कुनै अप्ठ्यारो र कस्तै कठिनाइले पनि केही नगर्दोरहेछ।

बाटामा भेटिने प्रायः साठी उकालो उमेरका पर्यटकहरू। विदेशी वृद्धज्यान मस्तले हिँडिरहेका हुन्थे। अरू त अरू दुवै खुट्टा नभएकाहरू पनि नक्कली खुट्टाको सहायताले सगरमाथा दर्शनमा दौडिरहेका भेटिन्थे। परदेशका पाहुना यात्रीहरूको यति दृश्य देखेपछि घरदेशका हामी किन नहिँड्नु र ! यस्ता दृश्यहरूले पनि हिँड्नलाई हौसला दिने रहेछ। आत्मबल र हिम्मत स्वतः बढ्ने रहेछ। हौसला र हिम्मत बटुलेर साहसी नबने त कसरी कठोर उकालो छिचोल्न सक्नु?

साँच्चै हाम्रो देश हाम्रा लागि केही होइन। तर विदेशीहरूका लागि धेरै थोक रहेछ। लाखौं खर्चेर, हप्तौं समय बिताएर जिन्दगीमा घुमघामको धुमधामले मज्जा लिन नेपाल आउँछन्। एक पटकको घुमाइले मात्र तिनको चित्त बुझ्दैन रहेछ।

एउटै ठाउँमा पनि धेरै पटक घुम्न आइरहने उनीहरूको बानी रहेछ। बाटोमा जम्काभेट हुने प्रायः पर्यटकहरूले एकपटकको एउटा मौसमले प्राकृतिक सुन्दरतामा रमाउन नसकेको बताए।

भरियाका पैतालाले एकाबिहानैदेखि बाटोलाई लात हानेर हिँडिरहेका हुन्थे। घोडा, चौंरी र झम्पेहरूका झन् कडा प्रहार कति सहनु बाटोले। बिचरा बाटोले यात्रीलाई गन्तव्य पु¥याइदिनुपर्छ, लात पनि खानुपर्छ। त्यसमाथि भारी बोक्ने चौपायाहरूको दिसापिसाबको फोहोरमैलासमेत बाटोले आफैंमाथि बोक्नुपर्छ। फलतः ‘छिछि’ र ‘थुथु’ गर्दै कतिले बाटैलाई गाली गर्दै हिँड्छन्।

बाटोले बिहान अबेलासम्म आराम गर्न नपाउने रहेछ। जस्तोसुकै प्रहार चुपचाप सहन विवश विचरा बाटो। कैयौं परदेशी पाहुनाहरूका बलवान् पैतालाले बजारेको चोटको पीडा बाटोलाई नै थाहा छ।

कति ठाउँमा मान्छेले नै बाटो बिगारेका छन्। कतिपय ठाउँमा चौपायाका पाइलाले भत्काएका छन्। भत्किएको बाटो बेलैमा बनाए अझ बढी बिग्रिने थिएन। तर बाटो मर्मत कार्यमा वास्ता कसैले गरेको देखिएन। बाटो अप्ठ्यारो भए बाटैलाई सराप्नेहरू हुन्छन्। बाटो राम्रो भयो भने कसैले पनि तारिफ गर्दैनन्।

बाटो भएरै बाटोले डोर्‍याउँदै, बाटोलाई पछ्याउँदै बटुवाका पाइला आआफ्ना गन्तव्य पुग्छन्। बाटो नभए कसरी पुग्नु गन्तव्य, कसरी जानु गन्तव्य? गन्तव्य लैजाने काम बाटैले गरेको छ। बाटोले सगरमाथा जाने बाटो देखाएको छ। सर्वोच्च शिखर सगरमाथासम्म यही बाटोले पुर्‍याएको छ। लुक्लाबाट सुरु हुने पैदल यात्राले गन्तव्य पुर्‍याएर लुक्ला नफर्कुन्जेल साथ छोड्दैन।

संसारकै सर्वोच्च शिखर सगरमाथा फेदीसम्म पुग्न मरिहत्ते गर्नेहरूको बाटैभरि भिडामभिडै हुने रहेछ। हुन पनि खुम्बुक्षेत्र जतिसुकै जोखिम, जति चिसो र खानबस्न महँगो तथा लामो पैदल यात्राको भए पनि विश्वकै रोमाञ्चक पदयात्राको सूचीमा पर्ने स्थानमा सधैं पर्दै आइरहेको ठाउँ। पदयात्रीहरूको पहिलो रोजाइमा यही क्षेत्र पर्ने गरेको सायद यसैले होला।

यति कठिन यात्रामा अन्तिम गन्तव्य पुग्नु मात्र यात्राको सम्पूर्ण प्राप्ति र समाप्ति होइन। त्यसबाहेक आफूले देखेका ठाउँहरूको चित्रण गर्न सक्नु पो सक्नु। प्रकृतिको चित्रमय तस्बिर अभिव्यक्त गर्नु मिठासको अर्को पक्ष हो।

स्मृतिमा सदा ताजा रहिरहन्छन् सम्झनाहरू, विस्मृतिको गर्तमा हराएर जाँदैनन् कहिल्यै। आफू हिँडेर फर्केको ठाउँमा अरूलाई पुर्‍याउन सक्नु पो सक्नु हो। परन्तु हामी धेरैजसो पुगेर फर्किएपछि भुसुक्कै बिर्सिन्छौं त्यो ठाउँलाई। मात्र बेलाबखत झल्याकझुलुक धमिला सम्झनाहरूले सम्झाउने चेष्टा गर्छ।

विकट ठाउँ हो हिमाली उचाइको फेदी पुग्नलाई। बाटोले सजिलै पुर्‍याइदिएको छ त्यहाँसम्म। रमाउँदै बाटैभरि यात्रीहरू। हिँडाइको स्वाद लिँदै–लिँदै बिस्तारै। केही सकस, केही हैरान तर धेरै रोमाञ्चक यो यात्रा।

हिमाली सौन्दर्यका अन्तहीन लावालस्कर। तिनले भनेजति तृप्ति दिने। चाहेजति प्राकृतिक मुस्कानले स्वागत गर्ने। यस्तो पृथक् मौलिक सुन्दरता, यति प्रीतिकर प्राकृतिक छटा अन्त कहाँ पाउनु, कहाँ भेट्नु?

मान्छेको पहिचान भनेको धेरै ठुलो कुरा रहेछ। सुन्दरतालाई चिन्न र महसुस गर्न जानेको। प्रकृतिको उपासक। सौन्दर्यको प्रशंसक। भौतिकवादमा भौतारिनेहरूसमेत प्रकृतिवादमा फर्केर रमाइलो गर्न जानेको। देखेर कति देख्नु ! हेरेर कति हेर्नु! हामी सबैले खोजेको त्यही हिमालयका उत्तङ्ग शिखर। हिरामोती, मणिमाणिक्य हिमालमै देख्न पाइने रहेछ। प्राकृतिक छटा आँखामा अटेसमटेस। हाम्रा प्रिय हिउँचुलीका हिस्सी-‘हिरामोती!’

प्रकाशित: १५ मंसिर २०८० २३:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App