‘महान् मान्छेले आफू जस्तासँग नै संगत गर्छन्।’ बिनासन्दर्भ बिर्खेले मलाई भेट्नासाथ मेरो प्रशंसामा शब्द खर्चियो।
म भर्खरै पैदलै विद्यालय पुगेको थिएँ। ऊ पनि बाइकमा आइपुगेको थियो। घण्टी लाग्न २०/२५ मिनेट बाँकी थियो।
सन्नाटालाई चिर्दै उसैले थप्यो, ‘तपाईंले गरेको सहयोगले म आभारी छु। आइन्दा हर कठिनाइमा म तपाईंलाई नै सम्झने छु।’
म ...ले पापा हेरेझैं हेरिरहें। यस अघि ऊ मलाई शिक्षा आयोगको भूलले मास्टर भएको ठान्थ्यो। पढाउने गिदी नभएको तर भ्रम छर्ने भाग्य भएको सम्झन्थ्यो।
एकाएक ऊ मसँग नतमस्तक हुनुको कारण खोतल्न म व्यस्त भएँ। त्यस्तो सम्झनालायक कुनै सहयोग गरेको सम्झना भएन। उसँग मन खोल्ने आँट समेत गरिनँ। मौका मिल्नासाथ भए नभएको कुरा झिकेर मेरो आन्द्राभुँडी फरक्क फर्काउन ऊ माहिर थियो।
बरु उसको प्रसन्नतामा मैले पनि प्रफुल्ल भएर ल्याप्चे लगाएको आभास दिएँ। ऊ अझ फुरुक्क पर्यो।
घण्टी लाग्यो र म कक्षामा जाँदा जाँदै प्रधानाध्याप सँग बोलेको सुनें, ‘नवराज सरले फेसबुकमा एक ज्योतिषीसँग परिचय गराइदिनुभयो।’
प्रअले सोधे,‘त्यस्तो उल्लेखनीय केही भयो र?’
बिर्खेले हत्तपत्त भन्यो, ‘म त्यसकै कसरतमा छु। सबैको सहानुभूति बटुल्दै गए यसपालाको बढुवामा एक नम्बरमा मेरो नाम आउने योग छ रे!’
-नन्दलाल आचार्य
प्रकाशित: ८ मंसिर २०८० ०५:२३ शुक्रबार